काठमाडौं । जल तथा मौसम विज्ञान विभागले आगामी २४ घण्टामा देशका केही स्थानहरुमा हल्कादेखि मध्यम वर्षा हुने जनाएको छ । विभागका अनुसार प्रदेश १, प्रदेश २, बागमती प्रदेश, प्रदेश ५ र गण्डकी प्रदेशका एक वा दुई स्थानमा भारी वर्षाको समेत सम्भावना रहेको छ ।
विभागले ती स्थानहरुका नदीमा पानीको बहाव बढ्ने, पहाडी क्षेत्रमा भू–क्षय हुने, पहिरो जाने, सडक तथा हवाई यातायात प्रभावित हुने तथा ढल र पानीको राम्रो निकास नभएको ठाउँमा डुबान समेत हुन सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन आग्रह गरेको छ ।
विभागले हाल देशभर मनसुनी वायुको प्रभाव रहेको जनाएको छ । देशभर सामान्य बदली रही प्रदेश ५ र गण्डकी प्रदेशका थोरै स्थानहरुमा हल्का वर्षा भइरहेको विभागले बुधबार बिहान जारी गरेको बुलेटिनमा उल्लेख छ ।
विभागले बिहीबार दिउँसो देशभर सामान्य बदली भइ केही स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको जनाएको छ । प्रदेश १, प्रदेश २, बागमती प्रदेश, प्रदेश ५ र गण्डकी प्रदेशका एक वा दुई स्थानमा भारी वर्षाको समेत सम्भावना रहेको बुलेटिनमा भनिएको छ ।