नयाँदिल्ली । विश्व स्वास्थ्य संगठनले नोभेल कोरोना भाइरसको संक्रमणबाट जोगनिका लागि तीन लेयर भएको मास्क लगाउन सुझाउँदै आएको छ ।
तर, भारतका केन्द्रीय स्वास्थ्यमन्त्री हर्षवर्द्धनले भल्ब भएको एन-९५ मास्कले कोरोना भाइरसको संक्रमण रोक्न नसक्ने बताएका छन् ।
उनले भारतका सम्पूर्ण राज्य र संघीय भूभागका सरकारलाई एक पत्र लेख्दै कोरोना भाइरसबाट जोगाउन भल्ब भएको एन-९५ मास्क उपयुक्त नभएको जनाएका हुन् ।
उनले विभिन्न राज्यका स्वास्थ्य तथा चिकित्सा शिक्षा सचिव र स्वास्थ्य सेवा निर्देशकहरुलाई पत्र लेख्दै भनेका छन्, “केही सर्वसाधारणदेखि मुख्य भूमिकामा रहेका स्वास्थ्य सेवाका कार्यरतहरुले पनि एन-९५ मास्कको गलत प्रयोग गरिरहेका छन् ।”
विशेषगरी भल्ब भएको एन-९५ मास्क । यसले कोरोनाविरुद्धको लडाइँलाई बचाउनेभन्दा पनि कमजोर पार्ने गर्छ । यस्तो मास्क उपयुक्त छैन ।
उनले घरमै बनाइएको मुख छोप्न मिल्ने तीन पत्र भएको मास्क प्रयोग गर्न पनि सुझाएका छन् । यसअघि गत अप्रिलमा घरबाहिर निस्किँदा अनिवार्य मास्क लगाउनुपर्ने निर्देशिका जारी गरिएको थियो ।
मास्कको प्रयोग नयाँ अभ्यास होइन । तर कोभिड-१९ को महामारीबाट विश्व नै आक्रान्त बनेको अवस्थामा लगभग सबैले मास्कको प्रयोग गर्ने गरेका छन् ।
जनस्वास्थ्यविद् डा. विनोदबिन्दु शर्मा मास्क व्यक्तिगत सुरक्षाको भरपर्दो साधन बनेको बताउँछन् । उनी भन्छन्, “अहिलेको सङ्क्रमणको अवस्थालाई हेर्ने हो भने सुरुका दिनमा मास्क लगाउन त्यति प्रोत्साहित गरेका थिएनौँ, तर अहिले मास्क अत्यावश्यकीय साधन बनेको देखिएको छ । त्यसले थुकका छिटाहरूबाट हुन सक्ने सङ्क्रमणको जोखिमलाइ कम गराउँछ।”
कस्तो मास्क लगाउने?
कस्तो मास्क प्रयोग गर्ने भन्नेमा सर्वसाधारणमा अन्योल पाइन्छ । डा. शर्मा सर्वसाधारणलाई सर्जिकल मास्क प्रयोग गर्न सल्लाह दिन्छन् । उनी बजारका पाइने कपडाबाट बनाइएका मास्क प्रयोग गर्न प्रोत्साहित गर्दैनन् ।
उनले भने, “किनभने त्यसले सास फेर्दा असजिलो भएर अरू कीटाणु त्यहीँ टाँसिने सम्भावना हुन्छ । सास फेर्दा सुक्खा रहने सर्जिकल मास्क उपयुक्त हुन्छ ।”
सर्जिकल मास्क एकदिन मात्र लगाउन व्यवहारिक हुने र एन-९५ लगायतका गुणस्तरीय मास्क सम्भावित सङ्क्रमित र सङ्क्रमितको प्रत्यक्ष सम्पर्कमा आउँदा स्वास्थ्यकर्मीहरूद्वारा लगाइने सुरक्षा पोसाक (पीपीई) कै एउटा हिस्सा भएको बताइन्छ ।