पर्वातारोहण गाइडहरुका लागि पहिलो पटक लाइसेन्स जारी गर्दै सरकार

लेखाजोखा न्युज
५ पुष २०७७, आईतवार ०९:२८

काठमाडौं । सरकारले पहिलो पटक पर्वातारोहणमा काम गर्ने गाइडहरुका लागि लाइसेन्स जारी गर्ने भएको छ । सरकारले गत साता पर्वतारोहणको क्षेत्रमा काम गर्ने गाइडहरुका लागि पनि लाइनसेन्स जारी गर्ने निर्णय गरेको हो ।

यसअघिसम्म नेपाल माउन्टेन्‍रिङ एसोसियसन तथा पर्वतारोहणसँग सम्बन्धित अन्य सरोकारवालाहरुको समन्वयमा उनीहरुले गाइडको काम गर्दै आएका थिए ।

नेपाल पर्यटन बोर्डकी उपसचिव मिरा आचार्यले भनिन्, “हामी पहिलो पटक पर्वतारोहणका क्षेत्रमा काम गर्ने गाइडहरुका लागि लाइसेन्स जारी गर्ने तयारी थालेका हौं । लाइसेन्स जारी भएपछि मुलुकका विभिन्‍न क्षेत्रको पर्वतारोहणमा काम गर्न अब लाइसेन्सबाहक गाइडहरुले मात्रै पाउने भएका छन् ।”

उनले अबको केही दिनमा लाइसेन्स प्राप्त गर्नका लागि आवश्यक मापदण्ड पनि जारी गरिने जानकारी दिएकी छन् । उनले भनिन्, “लाइसेन्स प्राप्त गर्ने नीति उक्त मापदण्ड जारी भएको केही दिनमै कार्यान्वयन गरिने छ ।”

नेपाल माउन्टेनरिङ एसोसियसनका पूर्वप्रमुख आङ छिरिङ शेर्पाले नेपालमा आठ हजारभन्दा बढी पर्वातारोहणको क्षेत्रमा काम गर्ने गाइडहरु रहेको बताएका छन् ।