काठमाडौं । शीर्ष तहमा देखिएको विवाद समाधानका लागि सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को पछिल्लो सचिवालय बैठकले आगामी मंसिरमा एकताको महाधिवेशन गर्नेबारे सर्वसम्मत निर्णय गरेको खुलासा भएको छ ।
नेकपाको जारी चौथो स्थायी कमिटीको बैठकमा पार्टी र सरकारको समन्वय तथा शक्तिको बाँडफाँटबारे उत्पन्न विवाद समाधानका लागि अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले साउन ३ गते बसेको सचिवालय बैठकमा उक्त प्रस्ताव गर्दा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सहितका नेताहरुले सहमति जनाएको रक्षामन्त्री ईश्वर पोखरेलले खुलासा गरेका हुन् ।
बैठकपछि सचिवालयका केही नेताहरुले सहमतिको ठोस प्रस्ताव नआएको र मंसिरमा महाधिवेशन आयोजना गर्न सम्भव नहुने धारणा आफूहरुले बैठकमा राखेको सार्वजनिक रुपमा प्रतिक्रिया दिएपछि महाधिवेशन प्रस्तावबारे सचिवालयमा थप छलफल हुन सकेको छैन ।
यस्तै ‘अर्ली’ महाधिवेशनको प्रस्ताव स्थायी कमिटी बैठकमा पनि प्रवेश गर्न पाएको छैन । विवाद कायम रहँदा गत असार १० गतेदेखि सुरु भएको स्थायी कमिटीको बैठक मंगलबार बाढी, पहिरो र प्राकृतिक विपत्तिमा परेकाको उद्धार, राहत र पुनस्र्थापनामा परिचालित हुन आह्वान गर्दै साउन १३ गतेसम्मका लागि स्थगित भएको छ ।
सचिवालय सदस्यसमेत रहेका रक्षामन्त्री पोखरेलले साउन ३ गते बसेको सचिवालय बैठकमा मंसिरमा महाधिवेशनबारे निर्णय भएको दाबी गर्दै भने, “त्यसलाई लिखित प्रस्ताव बनाइ स्थायी कमिटीमा पेस गर्न समय लाग्ने भएकाले साउन ४ गतेको स्थायी कमिटीको बैठक सार्न प्रस्ताव हुँदा वरिष्ठ नेता माधवकुमार नेपालले बैठक सार्न नहुने धारणा राख्नुभएको हो । तर, महाधिवेशनबारे विरोध गर्नुभएको होइन ।
उनले पार्टीलाई एकताको मर्म र जनताको भावनाबमोजिम एकताबद्ध बनाएर स्थायित्व र समृद्धिका काममा सबै सक्रियतापूर्वक लाग्नुपर्छ भन्नेमा कुनै विवाद नभएको बताए । प्रधानमन्त्री ओलीले चाँडै महाधिवेशन गरेर पार्टीको नेतृत्व हस्तान्तरण गर्न र आगामी संसदीय निर्वाचनपछि आफू दुबै पदमा नआउने स्पष्ट गरिसकेको पोखरेलले बताए ।
“यसमा अर्का अध्यक्षको सचिवालयको बैठकमा विमति थिएन । तर, बाहिर जे–जे विषय आइरहेका छन् र चाँडो महाधिवेशनबारे लिखित प्रस्ताव सचिवालयमा ल्याउने तदारुकता नहुनुले हामीलाई आश्चर्यमा पारेको छ । बैठकमा केही नेताको असहमति रहेको भनी बाहिर आएको कुरा बिल्कुल सही होइन,” उनले भने ।
नेकपाको गत केन्द्रीय कमिटीको बैठकले एकताको महाधिवेशन आगामी चैत मसान्तमा गर्ने निर्णय गरेको थियो । अहिले भने ‘अर्ली’ महाधिवेशन गर्दा त्यसको तयारी र वैचारिक बहसबारे प्रश्न उठाइएको छ । नेकपाभित्र सहमतिकै प्रयास जारी रहेकाले स्थायी कमिटीको बैठक पटकपटक सर्दै आएको छ ।
सहमतिका लागि पार्टी एकता हुनुअघि २०७५ मा भएको समानता, आवश्यकता र सहमतिका आधारमा पालैपालो नेतृत्व गर्ने भन्ने सहमति र २०७६ मंसिर ४ को स्थायी कमिटीको बैठकमा प्रधानमन्त्री ओलीलाई सरकार र अध्यक्ष प्रचण्डलाई पार्टी अध्यक्षको कार्यकारी काममा सक्रिय रहने गरी भएको कार्यविभाजनको निर्णयको समीक्षासहित नयाँ विन्दु खोजीका क्रममा मंसिरमा महाधिवेशनको प्रस्ताव आएको हो ।
साउन ३ गतेको सचिवालय बैठकपछि पत्रकारलाई जानकारी दिँदै प्रवक्ता नारायणकाजी श्रेष्ठले ‘महाधिवेशन’ शब्द उल्लेख नगरी बैठकमा आएका प्रस्तावलाई लिखित रुपमा ल्याउने कुरा भएको बताएक थिए । सोही दिन अध्यक्षद्वय ओली र प्रचण्ड तथा केही नेता राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न शीतल निवास गएका थिए ।