२० मंसिर २०७९, मंगलबार

कांग्रेसलाई सडकमा आउन सरकारकै निम्तो !

शालीन प्रतिपक्षको भूमिकालाई सरकारले कमजोरीका रूपमा लियो : देउवा

लेखाजोखा न्यूज

२९ मंसिर २०७७, सोमबार ९:१४

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस सोमबार देशभरका ७७ वटै जिल्लामा सडक प्रदर्शन गर्दैछ । प्रतिपक्ष कमजोर भएका कारण सरकारको स्वेच्छाचारिता बढेको भन्दै आलोचना खेप्दै आएको कांग्रेस सोमबारदेखि सशक्त भएर सडकमा आउन लागेको हो ।

उक्त आलोचनाको जवाफमा कांग्रेसले संसदमा संख्या सानो भएको, सडकमा आएर कम्युनिस्टजस्तो रेलिङ भाँच्‍ने संस्कार नभएको, पटक-पटक सरकारको ध्यानाकर्षण गराएको र पछिल्लो समय कोरोना महामारीको जोखिलाई मध्यनजगर गर्दै सडकमा आउन सक्ने स्थिति नभएको जवाफ दिँदै आएको थियो ।

तर, पार्टीका वरिष्ठ नेता रामचन्द्र पौडेललाई उनकै गृहजिल्ला तनहुँमा मंसिर १७ गते पुल उद्‌घाटन गर्न जाँदा पक्राउ परेपछि कांग्रेसको आक्रोशको पारो नाघेको हो । तत्कालै कांग्रेस पदाधिकारी बैठक बसेर कांग्रेसले मंसिर २९ गते सरकारविरुद्ध देशव्यापी आन्दोलन गर्ने निर्णय गरेको थियो ।

सरकारले कोरोना महामारीमा पनि चरम भ्रष्टाचार गरेको, शक्ति दुरुपयोग गर्दै राजनीतिक नियुक्ति गरेको, कोरोना नियन्त्रणका लागि प्रभावकारी कदम चाल्‍न नसकेको, जनताप्रति जवाफदेही नभएको, कूटनीतिक सम्बन्धलाई पूर्वाग्रहीरुपमा र पद जोगाउनका लागि प्रयोग गरेको, हुँदा खाने वर्गलाई उपेक्षा गरेको, बलात्कार र हत्याजस्ता जघन्य अपराध ढाकछोपमा सरकार नै संलग्‍न देखिएकोलगायतका कुरामा कांग्रेसले असन्तुष्टि जनाउँदै आएको थियो ।

सरकारको गलत प्रवृतिको पारो जसरी उकालो लाग्दै थियो, कांग्रेसको आक्रोशको पारो पनि त्यही गतिमा उकालो चढ्दै थियो । त्यही समयमा पार्टीका वरिष्ठ नेतालाई नै पक्राउ गरेर सरकारले आफू निरंकुशता र सर्वसत्तावादतर्फको बाटोमा हिँडिरहेको प्रमाण पेस गर्‍यो । एकातिर संसदको ढोका बन्द गरिएको छ, अर्कोतिर जनहित विपरीतका कामहरु लगातार भइरहेका छन् । कांग्रेस जनताको पक्षमा बोल्‍नका लागि सडकमा आउन बाध्य भयो अथवा सरकारले नै कांग्रेसलाई सडकको निम्तो दियो ।

सरकार जनताका अपेक्षाहरुबाट धेरै टाढा पुगिसकेका कारण कांग्रेस जनताको पक्षमा उभिनुको विकल्प थिएन । कांग्रेस जनतालाई नै भनेर सरकारविरुद्ध सडका आएको भने करिब तीन वर्षको प्रतिपक्षी कार्यकालमा यो पहिलो पटक हो । कांग्रेस नेताहरुले केपी ओली नेतृत्वको सरकारको अलोकप्रियता जाँच्‍नका लागि पनि कांग्रेसले व्यापक जनसहभागिता देखाएर शक्ति प्रदर्शन गर्न चाहेको बताएका छन् ।

कोरोना महामारी सुरु हुनुअघि पार्टीको जागरण अभियानक्रममा कांग्रेसले प्रदर्शन गरेको थियो । तनहुँमा भएको घटनासँगै राजावादीहरूले परिवर्तन उल्टाउन सडकमा प्रदर्शन गर्न थालेपछि प्रतिपक्षी भूमिकामा रहेको कांग्रेस सडकमा आउन बाध्य भएको हो । प्रधानमन्त्रीले आयोजना गरेको सर्वदलीय बैठकमा नबोली निस्किएका देउवा प्रधानमन्त्रीले बोलाएको संवैधानिक परिषद्‌को बैठकमा समेत उपस्थित भएनन् ।

सत्ता साझेदारको आरोप खेप्दै आएको कांग्रेसले सोमबार गर्ने देशव्यापी आन्दोनले ठूलो अर्थ राख्छ । सरकारसँगको प्रतिपक्षको दूरी पनि अब बढ्छ । कांग्रेसको नेतृत्वमाथि लाग्दै आएको आरोपहरुका लागि सोमबारको आन्दोलन एकमुष्ठ जवाफ समेत हो । यसअघि पनि पार्टी सभापति, प्रवक्ता र मुख्य सचिवमार्फत् सरकारले गरेका बेथितिविरुद्ध कांग्रेसले निकालेका विज्ञप्तिहरुको चाङ लागेको छ ।

असल लोकतान्त्रिक पद्धती भएको र लोकतान्त्रिक चरित्र बोकेको सरकार भएको मुलुकमा प्रतिपक्षले निकाल्ने विज्ञप्ति नै सरकारविरुद्धको विरोधको ठूलो अर्थ हुन्छ । तर, बम हानेर, टायर बालेर र रेलिङ भाँचेर सत्तामा पुगेको सरकारको चरित्र अलोकतान्त्रिक बन्दा कांग्रेस सडकमा आउन बाध्य भएको हो ।

सभापति शेरबहादुर देउवाले आइतबार अपिल जारी गर्दै सोमबारको सांकेतिक प्रदर्शनबाट थप शक्ति हासिल गर्दै आगामी संसद्मा कांग्रेस थप प्रभावकारी ढंगले प्रस्तुत हुने बताएका छन् । सभापति देउवाले शालीन प्रतिपक्षको भूमिकालाई सरकारले कमजोरीका रूपमा लिएको बताएका छन् ।

“प्रतिपक्षका रूपमा नेपाली कांग्रेसले निरन्तर शालीन, संवादमैत्री र जिम्मेवार भूमिका निभाउँदै आयो तर वर्तमान सरकारले एकातर्फ त्यसलाई कमजोरीका रूपमा बुझ्ने धृष्टता गर्‍यो भने अर्कातर्फ भ्रष्टाचार, कुशासन र अधिनायकवादी आकांक्षामा आफूलाई केन्द्रित गर्दै लग्यो,” देउवाले जारी गरेको अपिलमा भनिएको छ, “यस्तो प्रवृत्तिको परिणाममा नेपाली जनतामा सरकारप्रति व्यापक वितृष्णा फैलिएको छ । यो मूलतः अहिलेको अवस्थाप्रतिको वितृष्णा हो ।”

देउवाले विरोध प्रदर्शनलाई भव्य, व्यवस्थित र शान्तिपूर्ण बनाउनुका साथै सहभागीलाई भौतिक दूरी कायम गरी मास्क प्रयोग गर्न पनि अपिल गरेका छन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार

© 2022 All Rights Reserved - Lekhajokha News Site By : SobizTrend