राष्ट्रिय क्रिकेट टिमका पूर्व कप्तान पारस खड्का कोरोना संक्रमित

लेखाजोखा न्युज
२६ मंसिर २०७७, शुक्रबार २०:०४

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्व कप्तान पारस खड्कालाई कोरोना संक्रमण भएको छ । उनले शुक्रबार बिहान गरिएको परीक्षणमा आफूलाई कोरोना संक्रमण भएको पुष्टि गरेका छन् ।

ट्विटरमा पारसले आफूलाई कोरोना संक्रमण भएको जानकारी दिँदै आफू होम आइसोलेनमा रहेको बताएका छन् । दुई दिनदेखि आफूमा सामान्य लक्षण देखिएकाले सुरक्षित बसेको र बिहीबार बेलुकादेखि स्वाद र गन्ध नआउने लक्षण देखिएपछि शुक्रबार कोरोना परीक्षण गराउँदा नतिजा पोजेटिभ आएको उनले ट्विटरमा उल्लेख गरेका छन् ।

कोरोना संक्रमणपछि होम आइसोलेसनमा बस्नु परेपछि पारस शनिबारदेखि चितवनमा हुने गौतम बुद्ध कप क्रिकेटमा सहभागिता जनाउन नपाउने भएका छन्। उनी नारायणी टिमका कप्तान थिए ।

यसअघि नेपाली राष्ट्रिय टिमका कप्तान ज्ञानेन्द्र मल्ल र उपकप्तान दीपेन्द्रसिंह ऐरी, रोहितकुमार पौडेल, बसन्त रेग्मी र सन्दीप लामिछानेलाई कोरोना संक्रमण भएको थियो । उनीहरू अहिले संक्रमणमुक्त भइसकेका छन् ।