फेसबुकलाई टुक्र्याउनका लागि अमेरिकामा मुद्दा दायर, एकधिकारको दुरुपयोग गरेको आरोप

लेखाजोखा न्युज
२५ मंसिर २०७७, बिहीबार १२:४८

वाशिङ्टन । अमेरिकाका संघीय नियामकहरू र ४५ भन्दा धेरै राज्यका अभियोजनकर्ताहरूले फेसबुकले गैरकानुनी कदममार्फत् आफ्ना प्रतिस्पर्धीहरूलाई किन्‍ने र प्रतिस्पर्धालाई कमजोर पार्ने काम गरेको भन्दै फेसबुकविरुद्ध मुद्दा दर्ता गरेका छन्।

यो सामाजिक सञ्जाल कम्पनीविरूद्ध अमेरिकी सरकारले लिएको अहिलेसम्मकै सबैभन्दा उल्लेख्य कानुनी कदममध्ये हो । अधिकारीहरूले अदालतलाई उक्त कम्पनीलाई टुक्र्याउने बिषयमा सोच्‍न भनेका छन्।

अर्बौँमा प्रयोगकर्ता रहेका इन्स्टाग्राम र ह्वाट्सएपमा समेत फेसबुककै लगानी छ । ४८ वटा राज्यले लगाएको उक्त मुद्दाको नेतृत्व गरेकी न्यूयोर्ककी महान्यायाधिवक्ताले उक्त कम्पनीले एक दशकसम्म प्रतिस्पर्धीहरूलाई चुप लगाउन प्रयोगकर्ताहरूको मूल्यमा आफ्नो एकाधिकारको दुरुपयोग गरेको बताएकी छन् ।

अधिकारीहरूले फेसबुकले खासगरी साना र सम्भावित प्रतिस्पर्धी कम्पनीहरूलाई ‘किन्ने वा सिध्याउने’ शैली लिएको आरोप लगाएका छन् । अधिकारीहरूले फेसबुकले सन् २०१२ मा इन्स्टाग्राम र सन् २०१४ मा ह्वाट्सएप किन्ने काम प्रतिस्पर्धा किन्ने काम भएको बताएका छन् ।

तर फेसबुकले ती कम्पनी त्यसबेला निकै साना रहेको बताएको छ । अधिकारीहरूले इन्स्टाग्राम र ह्वाट्सएपबाट लगानी झिक्न लगाएर फेसबुकको आकार सीमित गरिनुपर्ने माग गरेका छन् ।

फेसबुकले अहिले अनुसन्धान गर्न खोजिएका सम्झौता नियामकहरूले वर्षौँअघि स्वीकृत गरिसकेको जनाएको छ । फेसबुककी एकजना बरिष्ठ कानुनी सल्लाहकार जेनिफर न्यूजस्टिडले भनेकी छन्, “सरकारले फेरि उही कुरा दोहोर्‍याउन चाहेको छ । त्यसले अमेरिकी व्यावसायलाई कुनै पनि विक्री अन्तिम होइन भन्ने डरलाग्दो चेतावनी दिएको छ ।”

फेसबुकले इन्स्टाग्राम र ह्वाट्सएपलाई सफल बनाउन करोडौँ खर्च गरेको बताउँदै आफूलाई उसकै शब्दमा जोडदार ढङ्गले प्रतिरक्षा गर्ने जनाएको छ । उक्त मुद्दामा फेसबुकका प्रमुख मार्क जकरबर्गले पठाएका आन्तरिक सन्देशहरूलाई समेत उद्धृत गरिएको छ ।

जसमा सन् २००८ को एउटा इमेलमा उनले ‘प्रतिस्पर्धा गर्नुभन्दा किन्नु राम्रो’ भन्‍ने वाक्यांश उल्लेख गरेका छन् । – बीबीसी