२० मंसिर २०७९, मंगलबार

कोरोना महामारी अन्त्यको सुरुवात…

नेपालजस्ता साना र गरिब मुलुकहरुमा खोप आउन अझै केही समय लाग्‍ने भएकोले पूर्णरुपमा स्वास्थ्य मापदण्ड अपनाउन आवश्यक छ

लेखाजोखा न्यूज

२४ मंसिर २०७७, बुधबार ४:२९

काठमाडौं । सन् २०१९ को डिसेम्बर अन्तिमबाट सुरु भएको कोरोना महामारीले एक वर्षको अवधिमा दोस्रो विश्वयुद्धपछिकै सबभन्दा ठूलो क्षति पुर्‍यायो । यो भाइरस चीनको वुहानमा पहिलो पटक देखिए पनि केबाट यसको उत्पत्ति भयो भन्‍ने कुराको यकिन हालसम्म गर्न सकिएको छैन ।

करिब एक वर्षको अवधिमा विश्‍वभर ६ करोड ७२ लाख १० हजार ७७८ जनामा कोरोना भाइरसको संक्रमण भएको छ भने १५ लाख ४० हजारभन्दा बढी संक्रमितको मृत्यु भएको छ । महामारीबाट सबैभन्दा बढी प्रभावित अमेरिका भएको छ भने दोस्रोमा युरोप र तेस्रोमा दक्षिण पूर्वी एसिया प्रभावित भएको विश्व स्वास्थ्य संगठनको तथ्यांकले देखाएको छ ।

हालसम्म एउटै रोगबाट यति धेरै मानिसहरु संक्रमित भएको र मानिसहरुको मृत्यु भएको विश्वमै पहिलो पटक हो । जाडो मौसम सुरु भएसँगै एसियामा कोरोना महामारीको प्रभाव थप बढ्दै जाने विश्व स्वास्थ्य संगठनका अधिकारीहरुले चेतावनी दिएका छन् ।

तर, यहीबीचमा नयाँ आशाको सञ्‍चार भएको छ । सन् २०२० को सुरुवातदेखि नै विश्व अन्धकारमा धकेलिएको थियो भने सन् २०२१ को सुरुवातमै विश्वमा महामारीको अन्धकारलाई हटाउन खोपको वितरण गरिने भएको छ ।

डिसेम्बर २ मा संयुक्त अधिराज्य बेलायले फाइजर बायोएनटेक कम्पनीले बनाएको कोरोना भाइरसविरूद्धको खोपको आम प्रयोगको अनुमति दिएको हो । त्यसको एक सातापछि डिसेम्बर ८ देखि बेलायतमा कोरोनाविरुद्धको खोप लगाउन सुरु गरिएको हो ।

महामारीविरुद्धको पहिलो खोप ९० वर्षीया बेलायती महिला मार्गरेट किनन हुन् । उनलाई युनिर्भसिटी हस्पिटल अफ कोभेन्ट्रीमा मे पार्सनले खोप लगाइ दिएकी हुन् । यो खोपको सुरुवातसँगै महामारीको अन्त्यको पनि सुरुवात भएको विश्लेषण गर्न थालिएको छ ।

बेलायतमा आगामी केही हप्तामा ८ लाख खोप लगाइने जनाइएको छ भने यो महिनाको अन्तिमसम्ममा ४० लाख खोप लगाइसक्ने जनाइएको छ । हाल बेलायतमा ८० वर्षभन्दा बढी र स्वास्थ्य क्षेत्रमा काम गर्नेहरुलाई खोप लगाउन सुरु गरिएको बेलायती सञ्‍चारमाध्यमहरुले जनाएका छन् । यो खोप एक व्यक्तिलाई दुई डोज दिनुपर्ने बताइएको छ ।

पहिलो डोज लगाएको २१ दिनपछि दोस्रो खोप लगाउनुपर्ने चिकित्सकहरुले सुझाएका छन् । बेलायतका स्वास्थ्यमन्त्री म्याट हानककले ८ डिसेम्बरलाई ‘भी’ डे को संज्ञा दिँदै भने, “आज हाम्रो साझा दुश्मन, कोरोना भाइरसविरुद्धको लडाईं सुरु भएको छ ।”

फाइजर खोपले संयुक्त राज्य अमेरिका, युरोप र भारतलाई पनि आम प्रयोगको अनुमति माग गरेको छ । यी मुलुकहरुले अनुमति दिनेबित्तिकै खोप लगाउन सुरु गरिने फाइजरले जनाएको छ ।

यसैथरी अक्सफोर्ड/अस्ट्राजेनिका खोप पनि सुरक्षित भएको पाइएको छ । त्यसैगरी अमेरिकामा विकास भइरहेको मोर्डेना खोप पनि सुरक्षति भएको पाइएको छ ।

यसअघि रुसले विकास गरेको ‘स्पुतनिक- भी’ खोप पनि सुरक्षित भएको दाबी गरेको थियो । रुसी राष्ट्रपति भलाद्‌मीर पुटिनले रुसले विकास गरेको खोप सुरक्षित भएको र आपतकालीन प्रयोग सुरु गरिएको बताएका थिए ।

त्यसैगरी चीनले विकास गरिरहेको कोरोनाविरुद्धको ‘सिनोभ्याक’ खोप गत जुनदेखि नै आपतकालीन प्रयोग सुरु गरिएको बताएको थियो । उक्त खोप इन्डोनेसियामा बृहत प्रयोगका लागि पठाउन लागिएको जनाइएको छ । जनवरी पहिलो साता १८ लाख डोज खोप इन्डोनेसिया पुगिसक्ने जनाइएको छ ।

भारतले पनि सन् २०२१ को सुरुवातदेखि खोप बजारमा आइसक्ने जनाएको छ । तर, नेपालजस्ता गरिब राष्ट्रहरुका लागि भने खोप कहिले आइपुग्छ अझै केही निश्‍चित भइसकेको छैन ।

नेपालजस्ता साना र गरिब मुलुकमा पनि भ्याक्सिन उपलब्ध होस् भनेर विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले पहल गरिरहेको छ । कोभ्याक्स नाम दिइएको उक्त अभियानमार्फत् भ्याक्सिनको विकास, उत्पादन र वितरणमा सबैलाई समान पहुँच दिने बताइएको छ।

यो अभियानमा अहिलेसम्म नेपालसहित १८० राष्ट्रले सहभागिता जनाएका छन् । भ्याक्सिनको एलायन्स गाभी, द कोलिएसन फर एपिडेमिक एन्ड प्रिपेयर्डनेस इनोभेसन र डब्लुएचओको यो अभियानले सन् २०२१को अन्त्यसम्म २ अर्ब डोज भ्याक्सिन वितरण गर्ने लक्ष्य राखेको छ ।

अल्पविकसित मुलुकका लागि खोप उपलब्ध गराउन विश्व बैंक, युनिसेफलगायत संस्थाले पनि पहल गरिरहेका छन् । चीनले पनि अल्पविकसित मुलुकमा खोप अभाव हुन नदिने प्रतिबद्धता जनाएको छ ।

स्वास्थ्य मापदण्ड अपनाउन आवश्यक

महामारीविरुद्धको वास्तविक लडाईं सुरु भइसकेको र महामारी अन्त्यको सुरुवात भए पनि अझै महामारी नियन्त्रणका लागि अपनाइने स्वास्थ्य मापदण्डहरु भने अनिवार्य अपनाउनुपर्ने आवश्यक छ ।

स्वास्थ्य विज्ञहरुले महामारीविरुद्धको खोप लगाउन सुरु भए पनि अझै अधिकांश मुलुकमा भने खोप आउन अझै केही महिना लाग्‍ने र नेपालजस्ता साना र गरिब मुलुकहरुमा पनि एक वर्ष पनि लाग्‍ने भएकोले स्वास्थ्य मापदण्ड नै अनिवार्य शर्त भएको बताएका छन् ।

उनीहरुले सामाजिक दूरी कायम गर्ने, मास्क लगाउने, बारम्बार हात धुने र स्यानिटाइजर प्रयोग गर्नेलगायतका स्वास्थ्य मापदण्डहरुको पालना अनिवार्य गर्नुपर्दछ । चिसो मौसम सुरु भएका कारण संक्रमणको जोखिम निकै बढी हुने हुँदा थप सतर्कता अपाउन आवश्यक छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार

© 2022 All Rights Reserved - Lekhajokha News Site By : SobizTrend