२० मंसिर २०७९, मंगलबार

नेकपाका अंशियारको झगडाले मुलुक बन्दी बन्यो

लेखाजोखा न्यूज

२२ असार २०७७, सोमबार २:५५

काठमाडौं । इंग्ल्यान्डका सामन्तहरूले राजाको निरंकुश शक्तिमाथि नियन्त्रण कायम गर्न एउटा घोषणापत्र तयार गरे । जसलाई मानव जातिको स्वतन्त्रताको महान् घोषणापत्र वा म्याग्नाकार्टाका रुपमा विश्व विख्यात बनाइयो । सम्राट ट्युडरको निरंकुश शासनकालमा म्याग्नाकार्टा फिक्का हुँदै गइसकेको थियो । जसको असर स्टुअर्ट शासकहरूको कालमा संसद र राजाबीच संघर्षका रुपमा देखापर्‍यो । खासगरी जेम्स प्रथम र चाल्र्स प्रथमले जब निरंकुश र दमनकारी नीतिको अनुशरण गरे, त्यसपछि विश्व विख्यात म्याग्नाकार्टा अलपत्र पर्‍यो । म्याग्नाकार्टा अलपत्र पर्दा राजा र संसदबीचको संघर्ष थप चर्किंदै गयो, जसको नतिजा राजाले बोलाएका ३ वटै संसद सत्रमा राजाका मनपरी कानूनहरू पास हुन सकेन । तेस्रो सत्रमा राजा आफ्नो शक्ति र स्वेच्छाचारितामाथि नियन्त्रणको प्रस्ताव स्वीकार गर्न बाध्य भए । जुन भित्रैबाट स्वीकार गरिएको थिएन ।

लगत्तै चार्ल्स प्रथमले आफ्नो व्यक्तिगत अधिकार असीमित बनाउन संसद विघटन गरिदिए र प्रतिक्रियास्वरुप संसद समर्थकहरूले सशस्त्र संघर्ष गरे । झण्डै ७ वर्ष लामो सशस्त्र संघर्षपछि चाल्र्स प्रथमलाई फाँसीमा झुण्ड्याइयो । कमनवेल्थले शासन गर्‍यो तर क्रमबेलको शासन पद्धति पनि जनहितमा आधारित रहेन । उनी पनि जनताबाटै मारिनुपर्‍यो । यस्ता थुप्रै उतारचढाव पार गर्दै इंग्ल्याण्डको गौरवपूर्ण क्रान्ति अगाडि बढ्यो तर आजसम्म पनि सुधारको त्यस प्रक्रियाले विश्वका आम मानिसलाई शासन सत्ताको समान हिस्सेदार बनाउन सकेको छैन ।

त्यसको चुरो खोज्न तपाईं इंग्ल्याण्डको इतिहासको गर्भमा जानुभयो भने वास्तविकता थाह पाउन कठिन हुने छैन । किनकि म्याग्नाकार्टा सामन्तहरूले राजाको अधिकार कटौतीका लागि ल्याएको त्यस्तो प्रस्ताव थियो, जसमा अधिकारको बाँडफाँट थियो । त्यो पावर सेयरिङ राजा–महाराजा र सम्भ्रान्तहरूबीचको सहअस्तित्व, मर्यादा र अधिकारका साथै सामाजिक प्रतिष्ठाको समेत विषय थियो ।

राजा र सामन्तहरूबीचको शक्ति बाँडफाँटको त्यस विषयमा सर्वसाधारणलाई धेरै चासो थिएन । युरोपका भू–दास र भर्खरै दैनिक ज्यालादारीको सोचमा पुगेका मजदुरको म्याग्नाकार्टामा कुनै स्वामित्व र सरोकार थिएन तर राजाभन्दा सामन्तहरूका एजेण्डाहरू केही जनमुखी थिए । त्यसकारण आम मत राजाभन्दा सामन्तको पक्षमा झुकाववाला थियो तर जब पुँजीवादीहरूले सामन्तविरुद्ध त्यस्तै सुधारका एजेण्डाहरू ल्याएर अधिकार आफ्नो हातमा लिए, त्यसपछि सामन्तहरू झस्किए । सायद उनीहरूले सोचे होलान् कि राजाविरुद्ध हामीले अगाडि बढाएको म्याग्नाकार्टाकै नयाँ कपि पुँजीवादीहरूले हामीमाथि तेर्साए । सारतः म्याग्नाकार्टा सुधारको एजेण्डा हो, त्यो शासकमाथि प्रहार गर्ने ल्याकत राख्ने र शासन सञ्चालनको व्यग्र प्रतिक्षामा रहेको अर्को वर्गले प्रस्तुत गरेको प्रस्ताव हो ।

नेकपामा अहिले चलिरहेको बहस पनि त्यस्तै कुनै म्याग्नाकार्टाकै बहस हो । यसमा कम्युनिस्ट घोषणापत्र कम आकर्षित छ । हामीलाई पारिएको छ, पार्टी विधि र पद्धतिमा चल्दा हामी महान् कम्युनिस्ट घोषणापत्र अनुरुप नै समाजवादको बाटो हुँदै साम्यवादसम्म पुग्ने छौं । त्यो विधि र पद्धति के हो र कसका लागि हो ? जवाफ सपाट छ – त्यो भनेको राज्यसत्ता र पार्टी सत्ताको पावर सेयरिङ हो र त्यो आफूलाई यस पार्टीको उच्च मूल्यको शेयरको निर्णायक अंशियार ठान्नेहरूबीच समान लाभांश प्राप्तिको विवाद हो । सुदूर भविष्यको सुन्दर र सुखद त्यस रोमाञ्चकारी साम्यवादको जहाजमा चढ्ने २०० वर्षदेखिको अधुरो सपना त पूरा होला नहोला तर एउटा न्यूनतम समतामूलक समाजको चित्र प्रस्तुत गर्ने संकल्पका साथ लामो यात्राको दौडमा निस्केका हामी कम्युनिस्ट कार्यकर्ताहरू यतिबेला निराश छौं । हामीलाई अग्निपरीक्षामा होमिन आदेश दिनेहरू नाङ्गो आँखाले नजिकैको ज्वालामुखी हेर्न मात्रै पनि तयार छन् ? हामीलाई विना अक्सिजन आदर्शको सागरमा डुब्न आदेश गर्नेहरू कम्तीमा आदर्शको ३ फिट मात्रै गहिरो तलाउमा डुब्न तयार छन् ? यदि हामी भौतिकवादी हौं, यदि हामी द्वन्द्ववादी हौं र यदि हामी विवेक र चेतनाको अग्रपंक्तिबाट मानव जातिको भविष्यबारे विचार विमर्शमा छौं भने रवाफिलो दिनचर्यामा बाँच्न लाभहानीको हिसाब–किताबसहित किन कसैको व्यक्तिगत प्रतिरक्षाका लागि प्रवक्ता बन्दैछौं ?

निःसन्देह हामीलाई पदको लालसा छ, प्रतिष्ठाको भोक छ, धन सञ्चयको लोभ छ र शक्ति आर्जनको तिर्खा छ । त्यसकारण जसले हामीलाई यी वस्तुहरूका लागि वचन दिनसक्छ, हामी त्यसको आजीवन प्रतिरक्षा गर्न तयारी मानसिकताका साथ बसेका छौं । यो कम्युनिस्ट तरिका हो वा होइन ? त्यसको मूल्यांकन गर्ने मान्छे पाउन समेत सजिलो छैन । सञ्चारमाध्यममा कमरेडहरूका वक्तव्यहरू आउँछन्, फलानोलाई हटाउन खोजिए पार्टी विभाजन हुन्छ । फलानाको व्यवस्थापन नभए सरकार ढल्छ । फलानोले फलानोलाई उपयोग गरे । हामी स्तब्ध बन्नुपरेको छ । के यी सबै भनाइहरू हाम्रै समाजवादी कमरेडहरूकै हुन् ? स–प्रमाण सञ्चारमाध्यमले यी भनाइहरू निःसन्देह तपाईंहरूकै सम्बन्धित कमरेडहरूकै हुन् भन्ने कुरा सावित गर्छन् । त्यसपछि हामी कम्युनिस्ट घोषणापत्र, समाजवाद मालेमावादी सिद्धान्त र कमरेडहरूका व्यवहारबारे सन्देह गर्नुपर्ने अवस्थामा आइपुग्छौं । सत्तारुढ पार्टीभित्रै यो एकप्रकारको अत्याचार हो ।

मन्त्रिमण्डलमा बराबरीको हिस्सेदारी, मुख्यमन्त्रीहरू सोही अनुपातमा, संवैधानिक निकायमा सबै गुट मुखियाको समुचित भागबण्डा र विभिन्न नियुक्तिमा सोही बमोजिमको परिपाटी । के तपाईंहरू स्पष्ट रुपमा भन्न सक्नुुहुन्छ ? त्यस्ता नियुक्तिमा त्याग र बलिदानबाट आएका कार्यकर्ता एवं तिनका परिवारहरू हुन्छन्, जसले शक्तिको आडमा समाजमा कानूनलाई हातमा लिने कुनै हर्कत र कसरत गर्ने छैनन् । के तपाईंहरू स्पष्ट रुपमा भन्न सक्नुहुन्छ ? विना कुनै मोलतोल, आश्वासन र विना कुनै लाभको वचन योग्य व्यक्तिहरू निर्णायक भूमिकामा रहनेछन् । के तपाईंहरू घोषणा गर्न सक्नुहुन्छ ? त्यस्ता राजकीय लाभका पदमा हाम्रा मामा, भान्जा, सम्धि, सम्धिनी, छोरी, बुहारी, भाइ–छोरा र काका–साना बाहरू लगायत नजिकका नातेदारहरू कहिल्यै पारिने छैनन् भनेर । के तपाईंहरू भन्न सक्नुहुन्छ ? हामीले कानूनमा छेडखानी गर्ने र नीतिहरूका छिद्रबाट छिर्न खोज्ने कुनै मानिसलाई हामीले कहिल्यै संरक्षण गरेका छैनौं ।

निश्चित रुपमा सक्नुहुन्न । समाज यही हो, सबैलाई सबैको नालीबेली थाह छ । भनाइको तात्पर्य कम्युनिस्ट ब्रान्डको घोडा चढेर आफ्ना अहंकारको प्रदर्शन गर्न एवं व्यक्तिवादको बिज छर्न तपाईंहरू अब गुटको सहारा नलिनुस् । विषयको उठान वैचारिक–राजनीतिक ढंगले गर्नुस् । आवश्यकता परे अमृत निकाल्न सकारात्मक मन्थन गर्नुस् तर गुटका नाममा व्यक्तिगत स्वार्थपूर्तिको भर्‍याङ बनाएर कार्यकर्तालाई खल्तीको वस्तु नबनाउनुस्, यही विनम्र निवेदन छ ।

कम्युनिस्ट घोषणापत्र श्रमजीवीको संघर्षद्वारा समानताको मार्ग पहिल्याउने एउटा महान् ऐतिहासिक दस्तावेज हो, न कि म्याग्नाकार्टा जस्तो सत्ताका महत्त्वाकांक्षीबीच अधिकार बाँडफाँटको संघर्षमा सीमित चार्टर । त्यसैले कुरा तपाईंहरूको भागबण्डाको मात्र होइन, यहाँ लाखौं कार्यकर्ता छन्, उनीहरूको भविष्यबारे एजेण्डा प्रस्तुत गर्नुस् र यहाँ करोडौं जनता छन्, उनीहरूको भविष्यबारे एउटा खाका तय गर्नुस् ।

हामी चाहन्छौं अब विषय बदल्नुस्, अन्योलपूर्ण राजनीतिक कार्यक्रममाथि प्रहार गर्नुस् । राजकीय सत्ता र संयन्त्रका कार्यशैलीमाथि प्रहार गर्नुस् । तपाईंहरूले पठाएका नेताको दृष्टिकोण र कार्यशैलीमा एकरुपता भए/नभएको बहस गर्नुस् । त्यहीबाट आलोचना गर्दै एउटा विधि तय गर्नुस् र सरकारमा जानेले पार्टीको मर्म अनुसार यसअघिका जुनीहरूमा काम गरेका थिए वा थिएनन्, अहिले सरकारमा गएकाहरूले काम गर्न सके/सकेनन् समिक्षा गर्नुस् । निष्कर्षपछि सरकारलाई पार्र्टी निर्णयमा बाँध्नुस्, त्यसपछि पनि सरकार स्वेच्छाचारी भएको निचोडमा तपाईंहरू पुग्नुभयो भने अब जानेले के गर्ने भन्ने योजना तय गर्नुस् र पार्टी पंक्तिमा ब्लू प्रिन्ट सार्वजनिक गर्नुस् । अहिले बनाइएका योजना अनुसार सरकारमा जानेहरूले काम नगरेपछि वा गर्न नसकेपछि कस्तो प्रकारको सजाय भोग्ने फिर्ता बोलाउने वा अरु केही गर्ने यी कुराहरू निर्धारण गर्नुस्, यी नै कुराहरूसँग तपाईंहरूको पदीय मर्यादा र सम्मानका अवसरहरू स्वतः आइहाल्छन् यो नै एउटा पारदर्शी तरिका हुनसक्छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार

© 2022 All Rights Reserved - Lekhajokha News Site By : SobizTrend