२ जना अध्यक्षको विवाद हुँदैमा नेकपा फुट्दैन : पर्यटनमन्त्री भट्टराई जनकबहादुर शाही

लेखाजोखा न्युज
१६ मंसिर २०७७, मंगलवार २१:१७

हुम्ला । हुम्ला पुगेका संस्कृति, पर्यटन तथा नागरिक उड्यन मन्त्री योगेश भट्टराईले नेकपामा पछिल्लो समय देखिएको विवादले नेकपा कहिल्यै नफुट्ने दाबी गरेका छन् ।

सिमिकोट विमानस्थलको अनुगमन तथा निरीक्षणका लागि मंगलबार बिहान सिमकोट पुगेका मन्त्री भट्टराईले २ जना अध्यक्षको विवाद हुँदैमा नेकपा पार्टी नफुट्ने कुरा नेकपा हुम्लाका कार्यकर्तासंगको भेटघाटमा बताए ।

ठूलो पार्टी भएकाले पार्टि भित्र सानातिना समस्या आउनु स्वभाविक भएपनि अहिलेको यो समस्याकै कारण पार्टी कुनै पनि हालतमा फुट्दैन बरु पार्टि भित्र आएको अहिलेको समस्या चाँडै टुङ्गिने र अहिले दुई अध्यक्षबीच सचिवालय बैठकमा देखिएको समस्यालाई सचिवालय र केन्द्रीय समितिले हल गर्ने उनले बताए ।

सोही कार्यक्रममा हुम्लाको बस्तुस्थितिका बारेमा प्रमुख जिल्ला अधिकारी चिरन्जीबी गिरीले जानकारी गराएका थिए । उनले हुम्ला जिल्लामा भएका र भोगेका समस्याका बारे जिल्लाबाट संघीय संसदमा प्रतिनिधित्व गर्ने सांसद छक्कबहादुर लामाले मन्त्री भट्टराईलाई जानकारी गराएको बताए ।