नेकपाले नेपाली जनतालाई धोका दियो : नेता महर

लेखाजोखा न्युज
१६ मंसिर २०७७, मंगलवार १८:०८

काठमाडौं । नेपाली कांग्रेसका युवा नेता नैनसिंह महरले सत्तारुढ नेपाल कम्युनिस्ट पार्टीले नेपाली जनतालाई गम्भीर धोका दिएको आरोप लगाएका छन् ।

नागरिक संकटमा रहेका बेला नेकपा नेतृत्व र सरकार शक्त्तिकै अभ्यासमा तल्लिन रहेको बताउँदै नेता महरले जनताको दु:खलार्इ हदैसम्मको नजरअन्दाज गरिएको आरोप लगाएका हुन् । कोरोना महामारीले मुलुकको अर्थतन्त्र र नागरिकको ज्यान खतरामा हुँदा पनि सरकार र सत्तारुढ दल भागबण्डामै व्यस्त भएको उनले बताएका छन् ।

नेपाल विद्यार्थी संघका पूर्वअध्यक्ष समेत रहेका महरले केपी शर्मा ओली नेतृत्वको सरकारको अयोग्यताका कारण देशभरका युवाहरु नैराश्यता छाएको बताए । बुटवलमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै नेता महरले सरकारका कुकृत्यले युवाहरु डिप्रेशनमा जाने अवस्था आएको बताए ।

अब युवाहरुलाई नयाँ आशा र नयाँ भरोसा दिलाउनुपर्ने र त्यसको नेतृत्व प्रतिपक्ष कांग्रेसले गर्नुपर्नेमा नेता महरले जोड दिए । उनले पार्टीको आसन्‍न महाधिवेसनमा युवालाई स्थानीय तहदेखि केन्द्रसम्म नै स्थान दिएर कांग्रेसले उदाहरण पेश गर्नुपर्ने समेत बताए ।

उनले भने, “जुन देशमा युवा जागेका छन, विकृति, विसंगति, अन्याय, अत्याचारका विरुद्ध आवाज वुलन्द गर्दै सडकमा उत्रिएका छन त्यो देशमा जस्तोसुकै तानाशाहको सत्ता सखाप भएको छ ।”

नेता महरले सरकार भ्रष्ट्राचारको आहलमा डुबेको बताउँदै युवाहरुले यसविरुद्ध लाग्ने बेला भएको बताए । देशमा लुट मच्चाउने काम भइरहेको उल्लेख गर्दै महरले अब युवाहरु अझै नबोले देश नै खोक्रो हुने दाबी बताए ।