राजतन्त्रको पक्षमा हुने आन्दोलन रोक्‍न प्रशासनको यस्तो चेतावनी

लेखाजोखा न्युज
१६ मंसिर २०७७, मंगलवार १७:५१

काठमाडौं । जिल्ला प्रशासन कार्यालय काठमाडौंले मंसिर २० गते राजतन्त्र र हिन्दू राज्यको पक्षमा हुने आन्दोलनलाई रोक्‍ने लक्ष्यका साथ निर्देशन जारी गरेको छ ।

यसअघि प्रधानमन्त्री केपी शर्मा ओलीको बचाउ र विरोधमा भएका आन्दोलनका क्रममा कोभिड-१९ को संक्रमण तीव्र वृद्धि भइरहेको लकडाउनको समयमा पनि कुनै निर्देशन र आदेशहरु जारी भएका थिएनन् । ओलीको पक्ष र विपक्षका आन्दोलन रोक्‍न कुनै पहल नगरेको प्रशासनले अहिले राजतन्त्रको पक्षमा हुने आन्दोलन रोक्न भने निर्देशन जारी गरेको छ ।

संविधानको मौलिक हक अन्तर्गत कुनै पनि नागरिकलाई शान्तिपूर्ण सभा, जुलुसहरु गर्न पाउने अधिकार दिएको छ । प्रशासनले उक्त हकविपरीत सभा नगर्न चेतावनी दिएको हो ।

पछिल्लो समय राजतन्त्र र हिन्दु राज्यको माग गर्दै देशभरका विभिन्‍न स्थानमा आन्दोलन र जुलुसहरु भइरहेका छन् । जिल्ला प्रशासन कार्यालय काठमाडौंले मंगलबार एक विज्ञप्ति जारी गर्दै कुनै पनि सभा, जुलुस, आन्दोलन, प्रर्दशन जस्ता गतिविधि नगर्न चेतावनी दिएको हो ।

काठमाडौंसहित देशका प्रमुख शहरमा २०४७ सालको संविधान पुनःस्थापित गर्नुपर्ने मागसहित प्रर्दशन बढ्दै गएपछि जिल्ला प्रशासन कार्यालय काठमाडौँले कोरोना महामारीको संक्रमण बढ्न सक्ने भन्दै सभा जुलुस गर्न रोक लगाएको हो ।

राजतन्त्रको पक्षमा राष्ट्रवादी शक्तिले सोमबार जाउलाखेलदेखि नयाँ बानेश्वरसम्ममा जुलुस गरेको थियो । आगामी शनिबार पनि राजतन्त्र पक्षधरहरुले राजधानीमा बृहत प्रर्दशनको तयारी गरेपछि प्रशासनले त्यस्ता गतिविधि नगर्न र गरे कारबाही गर्ने चेतावनी दिएको हो ।

प्रशासनले जारी गरेको सूचनामा भनिएको छ, “पछिल्लो समय जिल्लामा विभिन्न माग राखी राजनैतिक तथा अन्य भिडभाडजन्य गतिविधि जस्तै, सभा, जुलुस, प्रर्दशन र अभियान संचालन गरेको भन्ने सूचना प्राप्त हुन आएको र त्यस्ता गतिविधिहरू संक्रमणको स्थितिताई भयावह बनाउने किसिमका भएको साथै स्थानीय प्रशासन ऐन, २०२८ र संक्रामक रोग ऐन, २०२० को विपरित हुने भएकोले त्यस्ता भीडभाडजन्य गतिविधिहरु नगर्न र नगराउन साथै महामारी रोकथाममा सहयोग पुर्‍याउनु हुन सबैमा जिल्ला प्रशासन कार्यालय हार्दिक अनुरोध गर्दछ ।”