बालुवाटारमा बसेको सचिवालय बैठकको बीचमै किन बाहिरिए बामदेव ?

लेखाजोखा न्युज
१६ मंसिर २०७७, मंगलवार १७:२१

काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टीको मंगलबार भएको सचिवालय बैठक चलिरहेकै समयमा उपाध्यक्ष वामदेव गौतम बाहिरिएका हुन् ।

निकै चासोका साथ हेरिएको नेकपा सचिवालयको बैठक चलिरहेका बेला पार्टी उपाध्यक्ष गौतम बैठकबाट बाहिरिएपछि विभिन्‍न संशयहरु पैदा भएको छ ।

प्रधानमन्त्री कार्यालय बालुवाटार जारी सचिवालय बैठकमा छलफल चलिरहेका बेला झण्डै तीन घण्टा बैठकमा सहभागी भएपछि उपाध्यक्ष गौतम बालुवाटारबाट बाहिरिएका हुन् । उनी व्यक्तिगत कारण देखाउँदै बैठकबाट बाहिरिएको एक सचिवालय सदस्यले जानकारी दिएका छन् ।

बैठकमा महासचिव विष्णु पौडेलको जन्मदिनको अवसरमा केक काटिएको थियो । पौडेलको जन्मदिनको शुभकामना आदानप्रदान गरेका थिए ।

मंगलबारको बैठकमा अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डले पेस गरेका राजनीतिक प्रस्तावमाथि छलफल भएको छ । नेताहरुले दुबै प्रस्तावमाथि आफ्नो धारणा राख्‍ने क्रम नसकिएका कारण बुधबार पनि बालुवाटारमा सचिवालय बैठक बस्‍ने भएको छ ।

पार्टी कार्यालय धुम्बाराहीमा बस्ने तय भएको बैठकमा प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीले सुरक्षाको कारण देखाउँदै नगएपछि बालुवाटारमा सारिएको थियो ।

मंसिर १८ गते स्थायी कमिटी बैठक बस्‍ने पनि पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिएका छन् ।