नेकपा सचिवालय बैठकमा केक काटियो, ओली-दाहालका प्रस्तावमाथि छलफल

लेखाजोखा न्युज
१६ मंसिर २०७७, मंगलवार १६:३९

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय बैठक सकिएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको बैठकमा पार्टी अध्यक्षद्वय प्रधानमन्त्री केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डका प्रस्तावहरुमाथि छलफल भएको एक सचिवालय सदस्यले जानकारी दिएका छन् ।

दिउसो १ बजेदेखि सुरु भएको बैठक झण्डै ३ घण्टा चलेको थियो । मंगलबारको बैठकमा महासचिव विष्णु पौडेलको जन्मदिनको अवसरमा केक काटिएको थियो । ६२ वर्षमा प्रवेश गरेका पौडेललाई नेताहरुले केक खुवाएर शुभकामना दिएका थिए ।

नेकपाभित्रको पत्रयुद्धको क्रम रोकिएको छैन । यसअघि कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रस्तुत गरेको १९ पृष्ठको राजनीतिक प्रतिवेदनको जवाफ प्रधानमन्त्री केपी शर्मा ओलीले ३८ पृष्ठ लामो राजनीतिक प्रतिवेदनमार्फत दिएका थिए ।

उक्त प्रतिवेदनमा प्रचण्डमाथि गम्भीर आरोप लगाइएको भन्दै प्रचण्डले कडा प्रतिवाद गरेका थिए । सचिवालय बैठक बुधबार फेरि बालुवाटारमा नै बस्‍ने तय भएको सचिवालय सदस्यसमेत रहेका प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिएका छन् ।

Image

तस्बिर स्रोत : सूर्य थापाको ट्विटर ।