मंसिर २० गते हुने ‘राष्ट्रिय नागरिक आन्दोलन’मा अमेरिका र अस्ट्रेलिया निवासी नेपालीहरुको समर्थन

लेखाजोखा न्युज
१६ मंसिर २०७७, मंगलवार १५:०७

काठमाडौं । मंसिर २० गते ‘नेपालका लागी नेपाली’ संस्थाले काठमाडौंको माइतीघर मण्डलामा राष्ट्रिय नागरिक आन्दोलनको घोषणा गरेको छ ।

उक्त आन्दोलनमा अस्ट्रेलिया र अमेरिकामा बस्‍ने नेपालीहरुले मुलुकको परिस्थिति प्रति चिन्ता व्यक्त गर्दै उक्त नागरिक आन्दोलनमा आफूहरुको एक्यबद्बता रहेको बताएका छन् ।

अस्ट्रेलियामा नेपालका लागि नेपाली अभियानका केन्द्रीय सदस्य प्रभातराज पाण्डेले एक विज्ञप्ति जारी गर्दै भनेका छन्, “केही समय यता नेपालमा राजसंस्था पुर्नस्थापनाको माग गर्दै ठूलो जनप्रदर्शनहरु भइरहेका छन् । यसका लागि मंसिर २० गते हुन गइरहको ‘नेपालका लागि नेपाली’ अभियानले माइतीघरमा आयोजना गर्न लागेको राष्ट्रिय आन्दोलनको समर्थनमा अस्ट्रेलिया निवासी नेपालीहरुको समर्थन छ ।”

अमेरिका निवासी नेपालीहरुले जारी गरेको प्रेस वक्तव्यमा भनिएको छ, “मुलुक यतिबेला भ्रष्टचार, बेथिति, लुटतन्त्र, र नागरिक विरोधी क्रियाकलापहरुको दर्दनाक परिस्थितिबाट आक्रान्त छ । नेपालमा लोकतन्त्र (नागरिकतन्त्र) माथि भइरहेको आक्रमण, संघीयता, गणतन्त्र, धर्म निरपेक्षता र जातीय आधारमा गरिएको समावेशीताको नाममा सृजित भ्रष्टचार, बेथिति, लुटतन्त्र, राष्ट्रियता माथि भएको प्रहार एवं राजनीतिलाई ब्यापारीकरण गरि सर्वत्र मुलुकलाई दोहन गरिएको परिस्थिति प्रति चिन्ता व्यक्त गर्दैछौं ।”

केही दिनयता राजतन्त्र पुनर्स्थापनाको माग गर्दै देशभर आन्दोलनहरु भइरहेका छन् ।