सुदूरपश्‍चिम प्रदेश सरकारसँग विकासका कुनै योजना नै छैनन् : प्रमुख सचेतक बोहरा

लेखाजोखा न्युज
१६ मंसिर २०७७, मंगलवार १४:५०

धनगढी । नेपाली कांग्रेस सुदूरपश्‍चिम प्रदेशका प्रमुख सचेतकसमेत रहेका प्रदेश सभा सदस्य गोविन्दराज बोहराले सुदूरपश्चिम प्रदेश सरकारसँग विकासका कुनै पनि योजना नभएको बताएका छन् ।

सञ्‍चारकर्मीसँग कुराकानी गर्दै प्रमुख सचेतक एवं कांग्रेस नेता बोहराले सुदूरपश्चिम सरकारले विकासका योजनाको नाममा भ्रष्टाचार र कार्यकर्ता पोस्‍ने काम गरिरहेको अरोप लगाएका छन् ।

“प्रतिपक्षी दलको नाताले नेपाली कांग्रेसले सरकारसँग बारम्बार विकासका योजना बनाऔँ भन्दा सरकार कुम्भकर्णझैँ सुतेको सुत्यै छ,” नेता बोहराले आरोप लगाए ।

उनले भने, “कम्युनिस्ट सरकार कार्यकर्ता पालन पोषण गर्न भ्रष्टाचारका योजना मात्रै बनाइ उपभोक्ता समितिका नाममा कनिका छरेजस्तो गरि बजेटको दुरुपयोग गरिरहेको छ ।”

सुदूरपश्चिम प्रदेश सरकार सुरुदेखि अहिलेसम्म पूरै भ्रष्टाचारमा लिप्त रहेको उनले बताए । प्रदेश सरकारले खरिद गरेको एम्बुलेन्स, गाडी तथा अन्य खरिद गरिएको सामग्रीमा ठूलो आर्थिक अनियमितता भएको बताउँदै नेता बोहराले भने, “भ्रष्टाचारविरुद्धमा नेपाली कांग्रेसले २२ दिनसम्म प्रदेश सभा अवरुद्ध गरि सरकारको ध्यानाकर्षण गराउँदा पनि सरकारको होस खुलेन ।”

जनताले तिरो तिरेको पैसा लाई यसरी जथाभावी मास्‍न मिल्दैन, खान मिल्दैन भन्दाभन्दै पनि सरकार बहुमतको दम्भका कारण उन्मत्त भएको आरोप लगाए ।

सरकारले भ्रष्टाचार गरेका केही प्रमाणहरु नेपाली कांग्रेसले जुटाएको बताउँदै नेता बोहराले अरु प्रमाणहरु जुटाउन लागेको बताए । अब पनि सरकारले सदनबाट नसुने नेपाली कांग्रेस जनतासँगै सडकमा उत्रिने चेतावनी पनि नेता बोहराले दिए ।