बेलायतमा ‘कुमारीत्व परीक्षण’ हुने गरेको खुलासा, ‘कुमारीत्व मर्मत’ का सामग्री बिक्री

लेखाजोखा न्युज
१६ मंसिर २०७७, मंगलवार ०९:५०

लन्डन । बेलायतका क्लिनिकहरूमा महिलाहरूलाई विवादास्पद ‘कुमारीत्व परीक्षण’ सेवा उपलब्ध गराइने बीबीसी न्यूजबीट तथा १०० विमिन ले पत्ता लगाएको छ ।

विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) तथा संयुक्त राष्ट्रसङ्घले व्यक्तिको निजत्व हनन हुने यस्ता परीक्षणलाई मानवअधिकारको उल्लङ्घन भन्दै प्रतिबन्ध लगाउनुपर्ने बताएका छन् ।

आलोचकहरूले यस्ता परीक्षण अवैज्ञानिक भएको र यसबाट कोही कुमारी हो कि होइन भन्ने प्रमाणित गर्न नसकिने बताएका छन् । उनीहरूका अनुसार यो परीक्षण शोषणको हतियार समेत बन्न सक्छ ।

यस्तो परीक्षणमा महिलाको परीक्षण गरेर योनीको झिल्ली दुरुस्त छ कि छैन भनेर हेरिन्छ । बीबीसीले गरेको अनुसन्धानमा कतिपय निजी क्लिनिकहरूले ‘कुमारीत्व मर्मत’ गर्ने विज्ञापन समेत गरेका छन् । तिनलाई सम्पर्क गर्दा १५० देखि ३०० पाउण्डमा यस्ता ‘सेवा’ उपलब्ध हुने बताए ।

गत वर्ष अमेरिकी र्‍याप गायक टीआईले आफ्नी छोरीलाई हरेक वर्ष कुमारी भए-नभएको परीक्षण गराउने गरेको बताएपछि तीव्र आक्रोश उत्पन्‍न भएको थियो । बीबीसीले २१ वटा क्लिनिकहरूको पहिचान गरेर १६ वटासँग सम्पर्क गरेको थियो । तीमध्ये सात वटाले उनीहरूले ‘कुमारीत्व परीक्षण’ गर्ने गरेको पुष्टि गरे भने कैयन् अरूले प्रस्ट कुरा गरेनन् ।

सबैले झिल्ली मर्मत गर्न शल्यक्रिया गर्ने बताए । जसको शुल्क १,५०० देखि ३,००० पाउण्डसम्म पर्ने बताइयो । राष्ट्रिय स्वास्थ्य सेवा एनएचएस इङ्ग्ल्याण्डको आँकडाअनुसार गत पाँच वर्षमा झि्ली मर्मत गर्ने त्यस्ता ६९ शल्यक्रिया भएका छन् ।

बाध्यतापूर्वक गरिने विवाहका पीडितहरूको सहयोगमा संलग्न परोपकारी संस्था कर्मा निर्भानाले सहयोग गरेको एकजना महिलाको कहानी न्यूजबीटले सुनेको छ ।

“मागी विवाह गर्न चाहने मेरा आमाबुवासँग मेरो निकै भावनात्मक शोषणपूर्ण सम्बन्ध थियो,” उनले भनिन् । “एकदिन हाम्रो परिवारका एकजना अग्रजले मलाई मेरा साथीहरूसँग रहेको देखे अनि मेरी आमालाई गएर तीमध्ये एकजना केटा मेरो प्रेमी भएको बताइदिए । अनि समुदायमा थुप्रै हल्ला फिँजियो । ”

त्यसपछि उनका आमाबुबाले उनलाई ‘कुमारीत्व परीक्षण’ गर्नुपर्ने भनेर धम्क्याउन थाले । “मेरा आमाबुबा तथा उहाँहरूले मेरो विवाह गराइदिन खोजेको केटाको परिवारले मलाई कुमारीत्व परीक्षण गरेर म अझै कुमारी रहेको प्रमाणित गर्न भने,” उनले बताइन् ।

“म निकै डराएको थिएँ । मैले के भइरहेको छ भनेर बुझ्न सकिनँ । मलाई लाग्यो मेरो निम्ति भाग्नु एकमात्र विकल्प हो र मैले त्यसै गरेँ । ”

बीबीसीले कुमारीत्व पुनर्स्थापित गर्ने गरि ‘हाइमेन मर्मत’ गर्ने सामग्री अनलाइनमा बिक्रीमा राखिएको पाएको छ । बीबीसीले कुमारीत्व पुनर्स्थापित गर्ने गरि ‘हाइमेन मर्मत’ गर्ने सामग्री अनलाइनमा बिक्रीमा राखिएको पाएको छ

कुमारीत्वको परीक्षण कम्तीमा २० वटा देशहरूमा गर्ने गरिएको डब्लूएचओले जनाएको छ । डब्लूएचओका अनुसार यस्ता परीक्षणले कुनै किशोरी वा महिलाले यौनसम्बन्ध राखिसकेको हो वा होइन भन्ने कुनै पुष्टि हुने प्रमाण दिँदैन । किनभने योनीको झिल्ली ट्याम्पनको प्रयोग वा कसरतजस्ता अन्य विभिन्न कारणले पनि च्यातिन्छ ।

एक स्त्रीरोग विशेषज्ञ डा. अस्फाक खानले बेलायतमा कुमारीत्व परीक्षणलाई गैरकानुनी बनाउनुपर्ने बताएका छन् । “सबभन्दा पहिलो कुरा त झिल्लीमा खराबी हुने बित्तिकै कोही कुमारी होइन भनेर भन्‍न सकिँदैन । यो त विभिन्न कारणले च्यातिन सक्छ । यदि कसैले तपाइँको झिल्ली च्यातिएको छ म बनाइदिन्छु भन्छ भने उसले नक्कली सर्टिफिकेट दिने हो ।”