कोरोनाविरुद्धको खोप मोर्डेनाले माग्‍यो बृहत प्रयोगका लागि अनुमति खोप परीक्षणका नतिजाहरु अध्ययन गरिँदै, ९४ प्रतिशत प्रभावकारी भएको मोर्डेनाको दाबी

लेखाजोखा न्युज
१५ मंसिर २०७७, सोमबार २०:५३

वाशिङ्टन । नोभेल कोरोना भाइरसविरुद्ध विकास गरिएको खोप मोर्डेनाले संयुक्त राज्य अमेरिका र युरोपियन आपतकालीन नियामक निकायलाई प्रयोगका लागि अनुमति माग गरेको छ ।

कोरोनाविरुद्ध बृहत प्रयोगका लागि मोर्डेनाले अनुमित माग गरेको हो । नियामक निकायले खोपको परीक्षण नतिजाहरुको अध्ययन गरी खोप प्रयोगका लागि सुरक्षित र प्रभावकारी छ कि छैन भन्‍ने कुरा निश्‍चित गरी बृहत प्रयोगको अनुमति दिनेछ ।

हालसम्मको क्लिनिकल परीक्षण अनुसार यो खोप ९४ प्रतिशत प्रभावकारी भएको र मानिसहरुलाई कोभिड-१९ को संक्रमणबाट जोगाउन सकिने बताइएको छ ।

त्यसैगरी कोरोनाविरुद्धको अर्को खोप पिफाइजरले पनि बृहत प्रयोगका लागि अमेरिकी नियामक निकायसँग अनुमति माग गरेको छ । अमेरिकी नियामक निकायले पिफाइजर खोपको परीक्षण तथ्यांकको अध्ययन गरिरहेको छ ।

मोर्डेनले बेलायतबाटै चाँडै अनुमति प्राप्त हुने विश्वास व्यक्त गरेको छ । बेलायतमा ३० हजार मानिसहरुमा यो खोप परीक्षण गरिएको थियो । जसमध्ये १५ हजारमा कोरोनाविरुद्धको खोप लगाइएको थियो भने अन्य १५ हजारलाई हानी नगर्ने खोप लगाइएको थियो ।

त्यसैगरी अस्ट्राजेनिका र अक्सफोर्ड विश्वविद्यालयले विकास गरेको खोप पनि अनुमतिका लागि पत्र पठाइएको छ । सन् २०२१ को सुरुवातसम्ममा तीनमध्ये कुनै एक खोप प्रयोगमा आइसक्ने बताइएको छ ।

बेलायतले डिसेम्बर ९ देखि कोरोनाविरुद्धको खोप पिफाइजर प्रयोगमा ल्याउने बताएको छ । बेलायतले सम्पूर्ण अस्पताललाई तयारी अवस्थामा रहनसमेत आग्रह गरेको छ । – बीबीसी