बाइडेनले घोषणा गरे सम्पूर्ण महिलासहितको ह्वाइट हाउस प्रेस टिम

लेखाजोखा न्युज
१५ मंसिर २०७७, सोमबार ०८:५९

वाशिङ्टन । अमेरिकाको राष्ट्रपतिमा निर्वाचित भएका जो बाइडेनले ह्वाइट हाउसको सञ्चार तथा प्रेस हेर्न शीर्ष टिम घोषणा गरेका छन् । उक्त टिममा सबै महिला रहेका छन् ।

प्रेस टिमको नेतृत्व केट बेडिङ्गफिल्डले गर्ने भएकी छन् । उनी बाइडेनको चुनावी अभियानकी कार्यकारी सञ्‍चार निर्देशक हुन् । बेडिङ्गफिल्डलाई ह्वाइट हाउस सञ्‍चार निर्देशकमा नियुक्त गर्ने घोषणा गरेका बाइडेनले आफ्नो प्रशासनमा ह्वाइट हाउस प्रवक्ताको रुपमा जेन साकी रहने जानकारी दिएका छन् ।

उनी बाराक ओबामा प्रशासनमा ह्वाइट हाउस सञ्‍चार निर्देशक थिइन् । बाइडेनले लगातार आफ्नो प्रशासन विविधताले युक्त हुने र त्यसमा सबैको प्रतिनिधित्व हुने बताउँदै आएका छन् । उनले आफ्नो प्रशासनले देशको प्रतिनिधित्व गर्ने दाबी लगातार गर्दै आएका छन् ।

राष्ट्रपतिमा निर्वाचित बाइडेनले वक्तव्यमा भनेका छन्, “सम्पूर्ण महिलासहितको पहिलो ह्वाइट हाउस कम्युनिकेशन टिम घोषणा गर्न पाउँदा गर्व लागेको छ । यी योग्य र अनुभवी सञ्चारविज्ञहरुले काममा विविधता ल्याउने र यो देशलाई पुनः राम्रो तथा उत्कृष्ट मार्गमा ल्याउने प्रतिवद्धता जनाएका छन् ।”

उपराष्ट्रपतिमा निर्वाचित कमला ह्यारिसका दुई शीर्ष प्रेस सल्लाहकारमा सिमोन सान्डर्स र एश्ली एटिएन रहने छन् । यी पदका लागि माथिल्लो सदन सिनेटको अनुमोदन आवश्यक पर्दैन ।

गत साता बाइडनेले आफ्ना केही उच्च मन्त्रीहरुसहित ६ जनाको नाम घोषणा गरेका थिए । बाइडेनले आउँदो जनवरी २० मा अमेरिकाको ४६ औँ राष्ट्रपतिका रुपमा शपथ लिने छन् । – बीबीसी