नेकपा अर्थात् दुई अध्यक्षको मनोमानीमा चल्ने क्लब

भीम उपाध्याय
१५ मंसिर २०७७, सोमबार ०८:२२

मुलुकका सबै राज्य संयन्त्र अहिले एकदम कमजोर छन् । यस्तो अवस्थामा यहॉ राजनीतिक मल्लयुद्ध भइहाल्यो भने सारा अनुमान र ऑकलनले हावा खानेछ । इतिहास निर्मम हुन्छ, जनता आक्रोशित छन् । यस्तो अवस्थामा कसैको पनि सुरक्षा कसैबाट हुन मुस्किल पर्नेछ । पलायन गर्ने सोच र पूर्वयोजना छ भने मजाले भिड्ने दुस्साहस गर्दा हुन्छ । समझदारलाई ईसारा काफी हुन्छ युद्धमा हारेर जित्ने कि जितेर हार्ने ?

नेकपा दल भनेको दुई अध्यक्षको मनोमानीमा चल्ने क्लब हो । जे काम पनि दुई जना अध्यक्षको सहमतिमा मात्र गर्नुपर्छ तर त्यहॉ मेरो कुरा मात्र सबैले मान्नुपर्छ, दुईजना अध्यक्ष भए पनि म मात्र रियल अध्यक्ष हुँ, अर्को त फाल्तु जोकर हो । दुई जनै सहमत भएन भने पार्टीको कुनै निर्णय वैध हुँदैन भन्ने तर आफू सहमतिमा भने कहिल्यै नआउने, बैठक नै नबसाल्ने, बसे पनि भागीभागी हिँड्ने, सार्ने, स्थगित गर्ने, कुनै पार्टी पद्धति वा लोकतान्त्रिक पद्धति नअपनाउने ।

प्रधानमन्त्रीका अगाडि अरू कार्यकर्ता, दलका नेताहरू, प्रदेश सरकारहरू, राज्यका अंगहरू, जनता सबै मेरा नोकर, चाकर, दास र रैति हुन् भन्दै हिँड्ने स्थितिमा सरकार र दल चलेको ३ वर्ष पुग्नै ऑटेको छ । मुखियाउपर अविश्वासको प्रश्न उठिसकेपछि दलका विभिन्न वैधानिक निकायबाट वा संसदीय दल वा संसदमा बहुमत पुष्ट्याइँ गरेर हेर यी… म बहुमतमा छु है, नजिस्काउ भन्न डराउने, कुनै तरिकाको समस्याको निरूपण नगर्ने, अध्यक्ष भएर आफैँ बैठक बोलाउनुपर्नेमा विभिन्न बहाना बनाएर खोपीमा लुक्न हो र ?

कहिले बिरामी छु त कहिले कोरोना छ भन्ने, म कसैको कुरा सुन्दिन, मान्दिन, कानुन, संविधान, दल, विधान र कमिटीहरू मेरा पैतालीमुनिका धुलो हुन् भन्दै कसैलाई टेर्दिन, मान्दिन, ल के गर्न सक्छस् गर भन्दै हिँड्न पाइन्छ ? यस्तो पनि सरकार र दल संचालन हुन्छ ? यस्तो पनि लोकतन्त्र हुन्छ ? यस्ता कुसंस्कारबाट अर्को राजनीतिक पुस्ताले के सिक्छ ? अनि नेपालमा गणतन्त्र भनेको निर्लज्ज, सर्वाङ्ग, निर्वस्त्र व्यवस्था हो भनेर पुष्टि गर्न खोजिएको हो त ?

हो भने गणतन्त्र यस्तो हो भनेर पुष्टि गरिदिएर बॉदरलाई लिस्नो हालिदिने महान नेताप्रति सबै नेपालीको ऑखा खोलिदिएकोमा सबैले आभार व्यक्त गर्नुपर्छ । नेपालीको दिव्य ऑखा खोलिदिएका ‘महान’ नेताप्रति गदगद हुँदै सबैले धन्यवाद दिँदै इतिहासमा अनुग्रहित हुनुपर्छ, धन्यवाद दिनुपर्छ । गणतन्त्रलाई आर्यघाटको शवदाह गृहभित्र पुर्याएर खरानी बनाएवापत ‘महान’ नेताको नाम इतिहासमा ‘सुनौलो’ अक्षरले अवश्य लेखिनेछ । मिले मिल, नमिले नमिल, त्यसले नेपालको राजनीतिमा तात्विक फरक अब कहिल्यै पार्नेवाला छैन । बागमती र विष्णुमतिमा ढलको बाढी मस्तै बगिसकेको छ । आगे जो होगा देखा जाएगा !

भ्रष्टाचार, गुटबाद, क्षेत्रबाद, जातिबाद, राज्यको स्वेत आतंकहरू राजनीतिक मुद्दा बनेपछि मात्र ती फौजदारी मु्द्दा बन्छन् । फौजदारी मुद्दा बनाएर तह लगाउन सत्तामा गएपछि मात्र सकिन्छ, दलभित्र त राजनीतिक मुद्दा मात्र बन्ने हो । बढीमा अनुशासित दल भए दलभित्र छानबिन आयोग बनाएर लजिकल इन्ड हुन सक्छ । वा, राजनीतिक प्रकृयामार्फत आरोपितलाई पदच्यूत गर्न सक्छन् । पदच्यूत भएपछि कथाको भाग २ सुरू नगरी धरै पाइँदैन । ब्रह्मास्त्रले टार्गेट भेटाएन भने अस्त्र हान्नेलाई नै फर्केर (बुमराङ) शिकार बनाएर ध्वस्त पार्छ । ब्रह्मास्त्र छोडिएको छ ।

बामदेवहरूले ०५४ सालमा नयॉ माले दल बनाउँदा पनि २२ बूँदे यस्तै गंभिर आरोप ओली र एमालेका नेताहरूलाई लगाएका थिए ।

तर, अहिले ती आरोपित भ्रष्टाचारी र आरोपकर्ता दुबै मिलेर सत्तासुन्दरी अंगालो मारेर भोग गरिरहेका छन् ।

अहिले नेकपा दलभित्र ओलीमाथिको तमाम आरोपका मुद्दाको छानबिन र तहकिकात आगामी सरकारले अधिकारसम्पन्न उच्चस्तरीय आयोग बनाएर गर्नुपर्ने दायित्वको ठूलो खम्बा सदाका लागि स्वयं नेकपाले नै भविष्यका लागि खडा गरिदिएको छ । बॉच्नुपर्छ, जे जे खोजेको हो देखिने छ यसका राजनीतिक एवं फौजदारी असर कुनै दिन छिट्टै भविष्यमा ।

यसका लागि पाकिस्तान, फिलिपिन्स, बंगलादेश, दक्षिण कोरियालाई हेरे हुन्छ । ती देशमा पूर्व शासकहरू सबका सब कि खोरभित्र छन् कि विदेशमा शरणमा छन् ज्यानको खतरा भयो भन्दै । प्रचण्डसहितका ५ नेताले के लेखे, न ओलीले के जवाफ दिए वा कसले के आरोप लगाए किन लगाए ? ती कुनै पनि दस्तावेज मैले पढेको छैन, न पढ्ने जॉगर छ । काम कुरा एकातिर कुम्लो बोकी ठिमीतिर गर्ने मेरो बानी छैन ।

जति जो उफ्रे पनि सत्तारूढ दलभित्र रूवाबासी सत्ताका लागि छिनाझप्टी र मै खाउँ मै लाउँ सुख सयल मै गरूँ मरून् दुर्बल जनताहरू भन्ने नै हो । अरू किर्ना र परजीबीहरू लाखे नाच पेट पाल्नका लागि नाचेका मात्र हुन्, अचम्म हैन ? तर जनताको रूवाबासी सरकारले कुकुरलाई नदिएको सास्ति हामीलाई दिइरहेको छ भन्ने हो । जनताको नजरमा इतिहासमै यो भन्दा निकम्मा, परपीडक, समयको बर्बादी गर्ने जनताको भावनामा तुषारापात गर्ने पत्तुर सरकार आजसम्म देखिएको थिएन । ०३५ सालदेखि म देशको राजनीतिमा अवलोकनको चासो गर्दै आएको अनुभवले बोलेको हो । मान्छे भनेको वचनको पक्का मात्र हुन्छ, वचनच्यूत चैँ मान्छे हुन सक्दैन । सरकार भनेको पनि जनतालाई दिएको बाचा वचन नै हो । वचन नै गोलखॉडी खाएपछि अब कुनै संभावना बच्ने कुरै छैन ।

जनताको नजरमा अहिले यहॉ सरकार छैन, परपिडक गुट सत्तामा छ । नेताहरू लडुन् कि गॉण कोराकोर गरून् कि टाउको फोराफोर गरून्, जनतालाई मतलब छैन, यो रमिता मात्र हो, तिनीबाट रत्ति आश छैन । राजतन्त्रको गोबर खाने कि गणतन्त्रको गुहु भन्ने विकल्पमा जनतालाई नेताहरूले फसाएका छन् ।

आजकल हवाईजहाज अटो पाइलटिंग हुने गर्छ, पाइलट निदाउँदै गर्छ, जहाज उडिरहन्छ । अवतरण वा टेकअफ गर्दा वा बीचमा कुनै संकट आउँदा मात्र पाक्ष्लटको क्षमता प्रदर्शन हुन्छ । सामान्य अवस्थामा सामान्य पाइलटले मजाले जहाज चलाउन सक्छ ।

मुलुक चलाउने पनि त्यस्तै हो । सामान्य अवस्थामा जसले पनि देश चलाउन सक्छ । तर जब देशमा संकट आइलाग्छ त्यसबेला विलक्षण क्षमता भएका नेताले मात्र पार लगाउन सक्छ । नेतृत्वको परीक्षण हुने नै यस्तै संकटको बेला हुने हो । जहाज क्र्यास भए होस् भन्नका लागि डुकुलण्ठुले पनि नेतृत्व गरे हुन्छ ।

नेपालमा राजनीतिक उतारचढावको निश्चितचक्र हुँदै आएको छ । त्यो चक्र १०,१२ वर्षमा एक फन्को लागेर नयॉ परिवर्तन खोजिरहेको इतिहासले प्रष्ट देखाउँदै आएको छ ।
०२६,०३६,०४६, ०६२/६३ पछि अहिले त्यो चक्रको अवधि ३ वर्ष बढी पार गरिसकेको छ । त्यसैले सायद नयॉ राजनीतिक परिवर्तनको आवाज पनि घन्किरहेको देखिँदै छ । ज्वरो १०५ पुगेको छ, पानीपट्टीले काम नगर्न सक्छ ।
यो राजनीतिक वनबासको १४औँ वर्ष हो ।

नेताहरू स्मार्ट भए सक्षम धाईआमाको काम गरेर राजनीतिक परिवर्तनको कडा प्रशव पीडा कम पार्दै आमा र बच्चा सकुशल रहने गरी प्रशव गराउँछन् । हैन भने कबाडी नेता सिद्ध भए भने राजनीतिक प्रशवमा आमा वा बच्चा वा दुबै सोत्तर हुन बेर लाग्दैन ।

(लेखक नेपाल सरकारका पूर्वसचिव हुन्)