उद्योग वाणिज्य महासंघको निर्वाचन जारी

लेखाजोखा न्युज
१३ मंसिर २०७७, शनिबार ०९:१७

काठमाडौं । बिहान साढे ८ बाट सुरु हुने मतदान दिउँसो ४ बजेसम्म चल्ने छ । महासंघको विधानअनुसार नयाँ अध्यक्षमा वर्तमान वरिष्ठ उपाध्यक्ष शेखर गोल्छा स्वत: निर्वाचित हुँदै छन् ।

अबको वरिष्ठ उपाध्यक्षका लागि चन्द्र ढकाल र किशोर प्रधान प्यानलसहति चुनावी प्रतिस्पर्धामा छन् । चैतमै हुनपर्ने निर्वाचन कोरोना महामारीका कारण ढिला गरी अहिले गरिएको हो ।

कोरोना जोखिमकै कारण मतदान पनि तीन स्थानमा राखिएका छन् । एकपटकमा २५ जनाभन्दा बढी लाइनमा बस्‍न नपाउने व्यवस्था गरिएको महासंघकी अध्यक्ष भवानी राणाले जानकारी दिइन् ।

निर्वाचनमा एक वरिष्ठ उपाध्यक्ष, तीन उपाध्यक्ष र ६० कार्यकारिणी सदस्यका लागि १ सय २७ जना भिड्दै छन् । महासंघको निर्वाचनमा ३ किसिमका मतदाता छन्- जिल्ला/नगर, एसोसिएट र वस्तुगत । सबैभन्दा धेरै ५० प्रतिशत मतभार जिल्ला/नगरको हुनेछ । त्यसैगरी एसोसिएटनबाट ३० प्रतिशत र वस्तुगतबाट २० प्रतिशत मतभार रहनेछन् ।

सबै मतदातालाई आफ्ना पक्षमा तान्न शुक्रबार राति सबै उम्मेदवारले विभिन्न होटलमा ‘ककटेल पार्टी’ आयोजना गरेका थिए । चन्द्र ढकालले चन्द्रागिरिस्थित आफ्नै होटलमा केही मतदातालाई लगेका थिए भने किशोर प्रधानले एभरेस्ट होटलमा मतदाताका लागि भाेज आयोजना गरेका थिए ।

त्यसैगरी वस्तुगत उपाध्यक्षका उम्मेदवार उमेशलाल श्रेष्ठले मेरिएट होलमा मतदाताका लागि कार्यक्रम आयोजना गरेका थिए ।