नारायणकाजीलाई सूर्य थापाको जवाफ – गज्जब छ गुटगत अन्तर्दृष्टि !

लेखाजोखा न्युज
७ मंसिर २०७७, आईतवार ०८:३४

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को केन्द्रीय प्रचार तथा प्रकाशन विभागका प्रमुख र उपप्रमुखबीच चितवन घटनालाई लिएर सामाजिक सञ्जालमा जुहारी सुरु भएको छ ।

विभाग प्रमुख तथा पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले चितवनमा स्थायी कमिटी सदस्य सुरेन्द्र पाण्डेमाथि भएको दुव्र्यवहारको निन्दा गरेपछि विभाग उपप्रमुख तथा प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापा जुहारीमा उत्रिएका छन् ।

उनले चितवनमा नेता पाण्डेमाथि भएको दुव्र्यवहारको घटनामा संलग्न पार्टीका कार्यकर्ताको बचाउ गर्दै प्रवक्ता श्रेष्ठले गरेको निन्दाको आलोचना गरेका छन् ।

उनले श्रेष्ठले गरेको ट्विटको ‘स्क्रिन शट’ (तस्बिर) सहितको ट्विट गर्दै आइतबार बिहान लेखेका छन्, “बुटवलमा मुख्यमन्त्री शंकर पोखरेलले चढ्नुभएको गाडीमाथि ढुंगाप्रहार गरिंदा निदाउनुभएको थियो क्यारे ! चितवनमा पार्टी एकता जिन्दावादको नारा लगाउँदा सुनियोजित दुर्व्यवहार देख्नुभएछ– गज्जब छ गुटगत अन्तर्दृष्टि र छनोटपूर्ण वक्तव्यबाजी ! दुबै स्थायी कमिटी सदस्य– तब न नारायणकाजी !”

No description available.

यसअघि शनिबार राति नेकपा सचिवालय सदस्यसमेत रहेका प्रवक्ता श्रेष्ठले मिनी माइक्रो ब्लगिङ साइट ट्विटरमा ट्विट गर्दै चितवनमा नेता पाण्डेमाथि भएको दुर्व्यवहारबाट कसैको पनि हित नहुने स्मरण गराएका थिए ।

“आज चितवन जिल्लाको राप्ती नगरपालिकाको पार्टी कार्यक्रममा स्थायी कमिटीका सदस्य एवं सांसद क. सुरेन्द्र पाण्डेमाथि भएको सुनियोजित दुर्व्यवहारको घटना अति निन्दनीय एवं भर्त्सनायोग्य छ । यसप्रकारको व्यवहारलाई प्रोत्साहित गरेर कम्युनिष्ट आन्दोलनको मात्र होइन, कसैको पनि हित गर्दैन । चेत होस्,” उनले लेखेका थिए ।

शनिबार नेता पाण्डेको उपस्थितिमा राप्ती नगरपालिकाको नगर कमिटी बैठकलाई प्रधानमन्त्री केपी शर्मा ओली पक्षीय कार्यकर्ताहरुले बिथोल्ने प्रयास गरेका थिए ।

नगर कमिटी बैठक सम्बोधन गर्ने क्रममा नेता पाण्डेले ‘मदन भण्डारी फाउन्डेसन’ मार्फत् पार्टीमा गुटबन्दी भएको अभिव्यक्ति दिएपछि नेकपाकै भ्रातृ संगठन युवा संघ, नेपाल र अनेरास्ववियुका ओली पक्षीय नेताहरुले नाराबाजी गरेका थए ।

उनीहरुले ‘जबज जिन्दावाद’, ‘मदन भण्डारी फाउन्डेसन जिन्दावाद’, ‘केपी ओली जिन्दावाद’ भन्दै नाराबाजी गरेका थिए । ओली पक्षीय कार्यकर्ताहरुले नाराबाजी गरेपछि नगर कमिटी बैठक केहीबेर अवरुद्धसमेत भएको थियो ।

कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, वरिष्ठ नेताहरु मावधकुमार नेपाल र झलनाथ खनालले पाण्डेमाथि दुव्र्यवहार गर्ने कार्यकर्तामाथि कारबाहीको माग गरिरहेका छन् भने ओली पक्षीय नेताहरु कार्यकर्ताको बचाउमा उत्रिएका छन् ।