बाइडेनको जितको नतिजा उल्ट्याउने ट्रम्पको प्रयास, धाँधली भएको आरोप नतिजालाई औपचारिकता दिन ढिलाइ गर्न रिपब्लिकन पार्टीको आग्रह, इलेक्टोरल बोर्डद्वारा उक्त आग्रह खारेज

लेखाजोखा न्युज
७ मंसिर २०७७, आईतवार ०८:१९

वाशिङ्टन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले प्रतिद्वन्द्वी जो बाइडेनको जितको नतिजा उल्ट्याउने प्रयासमा लागेका छन् । उनले आफ्नो पार्टी रिपब्लिकनलाई सन् २०२० को चुनावी नतिजा उल्ट्याउनका लागि सबै प्रयासहरु गर्न बाध्य पारेका छन् ।

उनले चुनावी परिणाम स्वीकार गरेका छैनन् भने कुनै आधार र प्रमाण प्रस्तुत नगरेरै चुनावमा धाँधली भएको आरोप लगाइरहेका छन् । उनले आफूबाट चुनावी नतिजा खोसिएको आरोपसमेत लगाएका छन् ।

उनले अदालतमा दायर गरेका मुद्दाहरु लगातार खारेज भइरहेका बेला बाइडेनले जितेको मिसिगन राज्यका रिपब्लिकन अधिकारीहरुले चुनावी नतिजालाई औपचारिकता प्रदान गर्ने समय पछि धकेल्न आग्रह गरेका छन् ।

मिसिगनका अधिकारीहरुले राज्यको इलेक्टोरल बोर्डलाई पत्र लेखेर मतलाई औपचारिकता प्रदान गर्ने समय दुई हप्ता पछि सार्न आग्रह गरेका हुन् । उनीहरुले राज्यको सबैभन्दा ठूलो काउन्टी डिट्रोइटमा पुनः मतगणना गर्नु पर्ने माग गरेका छन् । ट्रम्पले चुनावमा धाँधली भएको आरोप लगाउँदै आफूले जितेको दाबी गर्दै आएका छन् ।

राज्यका रिपब्लिकनहरुले उनकै प्रमाण बिहीन आरोपको पछि लागेर मत परिणामलाई औपचारिकता प्रदान गर्ने समय पछि सार्न भनेका हुन् । तर मिसिगनको डिपार्टमेन्ट अफ स्टेटले रिपब्लिकन अधिकारीको आग्रह खारेज गरेको छ । मत परिणामलाई औपचारिकता प्रदान गर्ने समय पछि सार्न कानुनले नदिने डिपार्टमेन्ट अफ स्टेटले जनाएको छ ।

दुई डेमोक्रेट र दुई रिपब्लिकन रहेको चार सदस्यीय मिसिगन इलेक्टोरल बोर्डको बैठक सोमबार बस्ने र उनीहरुले मतपरिणामलाई औपचारिकता प्रदान गर्ने तयारी छ । उनीहरुको निर्णयलाई मिसिगनका सेक्रेटरी अफ स्टेटले प्रमाणिकरण गर्नुपर्छ र त्यसपछि राज्यका गभर्नरले प्रमाणिकरण गर्नु पर्छ ।

ट्रम्प र मिसिगनका स्थानीय रिपब्लिकनहरुले चुनावमा बिस्तारित रुपमा धाँधली भएको आरोप लगाउँदै आएका छन् । स्टेट डिपार्टमेन्टले ती आरोपहरु पूर्ण रुपमा आधारहिन बताएको छ । – बीबीसी