कोरोना ‘चेन ब्रेक’ गर्न काठमाडौंमा तत्काल लकडाउन हुन्छ ? काठमाडौं महानगरका मेयर भन्छन्- मन्त्रिपरिषद्‌ले नै तत्काल लकडाउनको निर्णय गरोस्

लेखाजोखा न्युज
७ मंसिर २०७७, आईतवार ०६:१३

काठमाडौं । कोरोना भाइरसको संक्रमण नेपालमा पनि दिनानुदिन बढ्दै गइरहेको छ । हालसम्म देशभर दुई लाख १८ हजारभन्दा बढीलाई कोरोना संक्रमण भइसकेको छ भने मृत्यु हुनेको संख्या पनि १३ सय नाघिसकेको छ ।

काठमाडौं उपत्यका पछिल्लो समय कोरोना हटस्पट बनेको छ । चाडपर्व सकिएसँगै काठमाडौंमा भिडभाड पनि बढ्दै गएको अवस्था छ । यस्तो अवस्थामा कोरोना संक्रमण फैलिने जोखिम अत्यधिक हुन्छ ।

विज्ञहरुले पनि जाडो मौसम सुरु भएसँगै कोरोना भाइरसको संक्रमण थप बढ्ने बताएका छन् । उनीहरुले बृहत परीक्षण नगरिए स्थिति भयावह हुने चेतावनीसमेत दिएका छन् ।

काठमाडौंबाहिर कोरोना संक्रमणको अवस्था कम हुँदै गए पनि काठमाडौं उपत्यकामा भने संक्रमण निरन्तर उकालो लागिरहेको छ । यस्तो अवस्थामा काठमाडौं उपत्यकामा लकडाउन गर्न विभिन्‍न निकायहरुले सुझाव दिइरहेका छन् ।

सरकारले भने यस विषयमा हालसम्म कुनै प्रतिक्रिया दिएको छैन । काठमाडौं उपत्यकाका मेयरहरुले उपत्यकामा लकडाउन गरेर कोरोनाको ‘चेन ब्रेक’ गर्नुपर्ने सुझाव दिएका हुन् । यसअघि नै सुझाव दिइएको स्मरण गर्दै काठमाडौं महानगरका प्रमुख विद्यासुन्दर शाक्यले मन्त्रिपरिषद्ले नै आवश्यक निर्णय गर्नुपर्ने बताएका हुन् ।

काठमाडौंमा लकडाउन गरेर बृहत परीक्षण गर्नुपर्ने उनको राय छ ।