कोभिड-१९ विरुद्धको एन्टिबडी मानिसको शरीरमा ६ महिनासम्म रहन्छ : अध्ययन

लेखाजोखा न्युज
७ मंसिर २०७७, आईतवार ०६:०२

लन्डन । कोरोना भाइरसविरुद्ध निर्मित एन्टिबडी मानिसको शरीरमा कम्तीमा छ महिना रहने र तिनले दोस्रो पटक संक्रमण हुनबाट जोगाउने प्रमाण भेटिएको एउटा अध्ययनले देखाएको छ ।

अक्स्फर्ड यूनिभर्सिटीद्वारा सञ्चालित अस्पतालहरूमा कार्यरत स्वास्थ्यकर्मीको नियमित कोभिड-१९ परीक्षण र पहिला संक्रमण भएको थियो कि थिएन भनेर हेर्न एन्टिबडी परीक्षण गरिएको थियो । शरीरमा जति धेरै मात्रामा एन्टिबडी हुन्छ पुनः संक्रमण हुने सम्भावना पनि उति नै कम हुन्छ ।

अर्को छुट्टै अध्ययनमा अरू कोरोनाभाइरसका कारण विकसित प्रतिरक्षा क्षमताले पनि कोभिड-१९ हुन नदिएको देखियो । संक्रमणविज्ञ डा. केटी जेफ्रीले कोभिड खोप बन्न लागेको अवस्थामा अक्स्फर्ड यूनिभर्सिटीको निष्कर्षलाई “उत्साहवर्धक समाचार” भनेकी छन् ।

उनका अनुसार एक चोटि भाइरसको संक्रमण भएपछि फेरि कोभिड हुन नदिन “छोटो अवधिकै लागि भए पनि सुरक्षा प्राप्त” हुने अनुसन्धाताहरूले बताएका छन् । अक्स्फर्ड यूनिभर्सिटीको अध्ययनमा स्वास्थ्यसेवाका १२,००० कर्मचारीलाई संलग्न गराइएको थियो । तीमध्ये ११,००० जनामा कोभिड-१९ को एन्टिबडी भेटिएको थिएन ।

भाइरल संक्रमण हुँदा शरीरले एन्टिबडी निर्माण गर्छ । ती तत्त्वहरूले भाइरसलाई अन्य कोषभित्र छिर्न दिँदैनन् । अध्ययन आरम्भ गरिँदा एन्टिबडी नभएकामध्ये ८९ जनामा लक्षणसहितको संक्रमण भयो । स्वाब परीक्षणबाट संक्रमण पुष्टि गरिएको थियो ।

तर कोरोनाभाइरसविरुद्ध एन्टिबडी भएका कुनै व्यक्तिमा पनि अध्ययन अवधिभरि लक्षण देखिनेगरी संक्रमण भएन । परीक्षण गर्दा एन्टिबडी बनेको पुष्टि भए पनि तीन जनामा भने लक्षणविहीन कोभिड-१९ भएको पाइयो । उक्त समूहमा ७६ जनामा एन्टिबडी थिएन ।

तर ती तीन जना पनि बिरामी भएनन् । संक्रमण हुँदा शरीरले आफ्नो प्रतिरक्षाका लागि एन्टिबडी बनाएर कीटाणुलाई आक्रमण गर्छ ।

उक्त अध्ययनका अनुसार “सार्स-कोभ-२ सँग फेरि संसर्ग हुँदा पनि लक्षण नदोहोरिनेगरी” परिणाममा एकरूपता देखियो । यो अनुसन्धानमा कोभिड-१९ गराउने कोरोनाभाइरसको “स्पाईक प्रोटीन” विरुद्ध बन्ने एन्टिबडीको अध्ययन गरिएको थियो ।

कोरोनाभाइरसको सतहमा बनेको काँडाजस्तो देखिने उक्त प्रोटीनलाई लक्ष्य गरेर अहिले खोप निर्माणको काम भइरहेको छ । अनुसन्धानमा सहभागी व्यक्तिहरूलाई ३० सातासम्म परीक्षण गरिएको थियो ।