प्रचण्ड सचिवालयले भन्यो– सुरेन्द्र पाण्डेमाथिको दुर्व्यवहार ‘अराजकताको पराकाष्ठा’

लेखाजोखा न्युज
६ मंसिर २०७७, शनिबार २१:४३

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को निजी सचिवालयले चितवन घटनाका दोषीमाथि कारबाहीको माग गरेको छ ।

प्रचण्डको सचिवालयले शनिबार राति सामाजिक सञ्जाल फेसबुकमार्फत् चितवनमा स्थायी कमिटी सदस्य तथा प्रतिनिधिसभा सदस्य सुरेन्द्र पाण्डेमाथि भएको दुर्व्यवहारको घटनामा संलग्नमाथि कारबाहीको माग गरेको हो ।

निजी सचिवालय सम्हाल्दै आएकी कार्यकारी अध्यक्ष प्रचण्डकी पुत्री गंगा दाहालले नेता पाण्डेमाथि भएको दुर्व्यवहारको घटनालाई अराजकताको पराकाष्ठाको संज्ञा दिँदै भनेकी छन्, “नेकपाका स्थायी समिति सदस्य कमरेड सुरेन्द्र पाण्डेद्वारा आफ्नो क्षेत्र चितवनको राप्तीमा पार्टी बैठकलाई भद्र शैलीमा सम्बोधन गर्ने क्रममा एक समूहबाट अराजनीतिक गतिविधि गरि दुव्र्यवहारको प्रयास भएको छ, यो गैह्रराजनीतिक कार्यसँग संलग्न व्यक्तिमाथि छानबिन गरि कारबाही होस् ।”

नेता पाण्डेको उपस्थितिमा शनिबार चितवनको राप्ती नगरपालिकाको नगर कमिटी बैठकलाई प्रधनमन्त्रीसमेत रहेका अध्यक्ष केपी शर्मा ओली पक्षीय कार्यकर्ताहरुले बिथोल्ने प्रयास गरेका थिए ।

नगर कमिटी बैठक सम्बोधन गर्ने क्रममा नेता पाण्डेले ‘मदन भण्डारी फाउन्डेसन’ मार्फत् पार्टीमा गुटबन्दी भएको अभिव्यक्ति दिएपछि नेकपाकै भ्रातृ संगठन युवा संघ, नेपाल र अनेरास्ववियुका ओली पक्षीय नेताहरुले नाराबाजी गरेका थए ।

उनीहरुले ‘जबज जिन्दावाद’, ‘मदन भण्डारी फाउन्डेसन जिन्दावाद’, ‘केपी ओली जिन्दावाद’ भन्दै नाराबाजी गरेका थिए । ओली पक्षीय कार्यकर्ताहरुले नाराबाजी गरेपछि नगर कमिटी बैठक केहीबेर अवरुद्धसमेत भएको थियो ।