सुरेन्द्र पाण्डेमाथिको दुर्व्यवहारले नेकपामा नयाँ तरंग नेपाल–खनालद्वारा नाराबाजीमा उत्रिएका कार्यकर्तामाथि कारबाहीको माग, प्रवक्ताले भने– यसले कसैको पनि हित गर्दैन, चेत होस् 

लेखाजोखा न्युज
६ मंसिर २०७७, शनिबार २०:४७

काठमाडौं । पूर्वअर्थमन्त्री सुरेन्द्र पाण्डेमाथि चितवनमा दुर्व्यवहार भएपछि सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) मा तरंग उत्पन्न भएको छ । प्रतिनिधिसभा सदस्यसमेत रहेका स्थायी कमिटी सदस्य पाण्डेमाथि शनिबार चितवनमा पार्टीकै कार्यकर्ताहरुले दुर्व्यवहार गरेपछि नेकपामा तरंग उत्पन्न भएको हो ।

अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओली पक्षीय कार्यकर्ताहरुले पाण्डे सहभागी कार्यक्रम बिथोल्न नाराबाजी गर्दै दुर्व्यवहार गरेको घटनालाई नेकपाका शीर्ष नेताहरुले ‘सुनियोजित घटना’ को संज्ञा दिएका छन् । नेकपाका वरिष्ठ नेताद्वय माधवकुमार नेपाल, झलनाथ खनाल र प्रवक्ता नारायणकाजी श्रेष्ठले घटनाको भर्त्सना गरेका छन् ।

वरिष्ठ नेताद्वय नेपाल र खनालले छुट्टाछुट्ट प्रेस विज्ञप्ति जारी गरेर दुर्व्यवहारमा उत्रिएका ओली पक्षीय कार्यकर्ताहरुमाथि कारबाहीको माग गरेका छन् ।

“गृह जिल्लाका विकास आयोजनाहरूको अनुगमन तथा पार्टीका कार्यक्रमहरूमा सहभागी हुने क्रममा चितवनमा रहनुभएका हाम्रो पार्टीका स्थायी कमिटी सदस्य, पूर्व अर्थमन्त्री तथा प्रतिनिधिसभा सदस्य कमरेड सुरेन्द्र पाण्डे आज राप्ती नगर पार्टीको बैठकमा सहभागी भइ मन्तव्य राखिरहेका बेला अनधिकृत रूपमा प्रवेश गरेका केही व्यक्तिहरूले सुनियोजित रूपमा गरेको अभद्र व्यवहार तथा नाराबाजीको निन्दा एवम् भत्र्सना गर्दछु,” नेता नेपालले भनेका छन्, “सभ्य, सुसंस्कृत एवम् समुन्नत समाज निर्माण गर्ने उद्देश्य बोकेको कम्युनिष्ट आदर्श अवलम्बन् गर्ने लोकतान्त्रिक कम्युनिष्ट पार्टीका लागि पटक्कै नसुहाउने उक्त कार्य गर्नेर गराउने जो सुकै भए पनि छानबिन गरी कडाभन्दा कडा कारबाही गर्न स्थानीय पार्टी एवम् सम्बन्धित सबैको गम्भीर ध्यानाकर्षण गराउँछु ।”

यस्तै नेता खनालले विकास आयोजनाहरूको अनुगमन गर्न र पार्टीका विभिन्न कार्यक्रममा सहभागी हुन गृहजिल्ला चितवनमा रहेका स्थायी कमिटी सदस्य पाण्डे राप्ती नगरको बैठकमा मन्तव्य राख्दै गर्दा भएको सुनियोजित घटनाले गम्भीर बनाएको बताएका छन् ।

“कार्यक्रममा आफ्ना भनाइहरु राखिरहेको अवस्थामा अनाधिकृत रूपमा प्रवेश गरेका केही अराजक व्यक्तिहरूले गरेको अभद्र व्यवहार तथा नाराबाजी अत्यन्तै निन्दनीय छ । यस्तो गैह्र जिम्मेवारपूर्ण घटनाको घोर निन्दा तथा भत्र्सना गर्दछु,” खनालले भनेका छन्, “कम्युनिस्ट पार्टीको नैतिक मूल्य, आचरण तथा आदर्श विपरीत यस्तो आपत्तिजनक कार्यमा संलग्न व्यक्तिलाई तत्काल कडा भन्दा कडा कारबाही गर्न सम्बन्धित पार्टी कमिटीको ध्यानाकर्षणसमेत गराउँछु ।”

नेकपा सचिवालय सदस्य तथा प्रवक्ता श्रेष्ठले मिनी माइक्रो ब्लगिङ साइट ट्विटरमा ट्विट गर्दै चितवनमा शनिबार भएको दुव्र्यवहारबाट कसैको पनि हित नहुने स्मरण गराएका छन् ।

“आज चितवन जिल्लाको राप्ती नगरपालिकाको पार्टी कार्यक्रममा स्थायी कमिटीका सदस्य एवं सांसद क. सुरेन्द्र पाण्डेमाथि भएको सुनियोजित दुर्व्यवहारको घटना अति निन्दनीय एवं भर्त्सनायोग्य छ । यसप्रकारको व्यवहारलाई प्रोत्साहित गरेर कम्युनिष्ट आन्दोलनको मात्र होइन, कसैको पनि हित गर्दैन । चेत होस् ।”

पार्टीकै कार्यकर्ताहरुले चितवनमा वरिष्ठ नेता नेपाल पक्षीय नेता पाण्डेमाथि गरेको दुव्र्यवहारले शीर्ष नेताहरुका बीचमा चुलिएको विवाद जिल्ला तहमा पनि छताछुल्ल भएको छ । पाण्डेको उपस्थितिमा राप्ती नगरपालिकाको नगर कमिटी बैठकलाई ओली पक्षीय कार्यकर्ताहरुले बिथोल्ने प्रयास गरेका थिए ।

नगर कमिटी बैठक सम्बोधन गर्ने क्रममा नेता पाण्डेले ‘मदन भण्डारी फाउन्डेसन’ मार्फत् पार्टीमा गुटबन्दी भएको अभिव्यक्ति दिएपछि नेकपाकै भ्रातृ संगठन युवा संघ, नेपाल र अनेरास्ववियुका ओली पक्षीय नेताहरुले नाराबाजी गरेका थए ।

उनीहरुले ‘जबज जिन्दावाद’, ‘मदन भण्डारी फाउन्डेसन जिन्दावाद’, ‘केपी ओली जिन्दावाद’ भन्दै नाराबाजी गरेका थिए । ओली पक्षीय कार्यकर्ताहरुले नाराबाजी गरेपछि नगर कमिटी बैठक केहीबेर अवरुद्धसमेत भएको थियो ।