काठमाडौं । सरकारले कार्यव्यवस्था परामर्श समितिको बैठकमा एक दिनलाई समय मागेका कारण धन्न बिहीबारलाई डाकिएको प्रतिनिधि सभा बैठक स्थगित नै हुन पुग्यो । नभए, अर्थमन्त्री जनार्दन शर्माको अनुहारमा ‘कालो पोति’ने निश्चय थियो ।
कतिसम्मका बेइमान, अटेरी, घमण्डी र अनुत्तरदायी अर्थमन्त्री । संसद छल्न अनेक बहाना । कहिले विरामी ? कहिले घुमफिर । त्यो पनि रद्राक्षको माला लगाएर मठ मन्दिर दर्शन !

पशुपतिमा झुक्किएर कतै मुखमा एक थोपा जल परेका खण्डमा शिव सख खाए बराबरको पाप लाग्छ भन्ने मान्यता छ । तर, हाम्रा अर्थमन्त्रीलाई कुनै मतलव छैन । पाए जे पनि गरिदिने । बेइज्जती अर्थमन्त्री !
र, बहाना बनाउन यिनलाई कसले सिकाउनु ? जुन दिन–अघिल्लो आइतबार संसदमा अमेरिकी अनुदानको परियोजना एमसीसी संसदमा टेबल गर्नु पर्ने थियो त्यो दिन उनी विरामीको बहाना बनाएर उपस्थित भएनन् । त्यसबेला सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले संसदमा एमसीसीको प्रस्ताव टेबल गरे ।
तर, पछि थाहा भयो–विरामीको बहाना गरेका दिन अर्थमन्त्री शर्मा बेलुकैसम्म मन्त्रालयमै थिए र उनले आफु विरामी भएको जानकारी मन्त्रालयमा समेत दिएका थिएनन्, भनेर । यस्तै, संसद सचिवालयले बिहीबार बस्ने भनेको प्रतिनिधि सभा बैठकमा अर्थमन्त्री जनार्दन शर्माले नै एमसीसी सम्झौतामाथि छलफल गरियोस् भन्ने प्रस्ताव पेश गर्ने भनी कार्यसूची जारी गरेको थियो । भवितव्यले बैठक नै स्थगित भयो । यद्यपि, त्यसबेला अर्थमन्त्री शर्मा भने पर्वतको घुमफिरमा देखिए । त्यहाँ कैद भएका उनका तस्वीरले उनले गर्न खोजेको कुरा प्रष्ट पारिहाले । र, जसले पनि भन्छ–‘संसद छल्न घुमफिर ।’
एमसीसीसँग सम्बन्धित नेपाल सरकारको अमुक निकाय हो, अर्थ मन्त्रालय । एमसीसी सम्झौतामा नेपाल सरकारप्रति उत्तरदायी स्वायत्त विकास समिति ‘एमसीए–नेपाल’को तालुक मन्त्रालय समेत अर्थ मन्त्रालय नै । यो प्रस्ताव पारित गर्ने कुरा मात्र नभई यसको व्याख्या र सरकारको तर्फबाट पैरवी गर्नुपर्ने जिम्मेवार निकाय अर्थमन्त्रालय नै हो ।
तर, अर्थ मन्त्रालयलाई मन्त्रीले यस मामिलामा बेकामे बनाइदिए । उनी त एमसीसी सम्झौता अनुमोदनको प्रस्ताव पेश गर्नबाट कसरी पन्छिन सकिन्छ भन्दै सक्दो बहाना गरिरहेका छन् । संसदीय चुनावको कुरा आएकै छैन, उनी अहिल्यैदेखि भोटको राजनीति गर्न हिँडिसके ।
फागुन ८ गते बिरामीको बहाना गरेका शर्मा बिहीबार बैठक छल्न पर्वत घुम्न गए । उनी काठमाडौं कहिले फिर्ने अझै टुंगो छैन । शर्माले विभिन्न ठाउँ अवलोकन गरेको तथा रेष्टुरेन्टमा खाजा खाइरहेको फोटो भिडियो छ्याप–छ्याप भइसकेको छ । अहिलेको प्रविधियुक्त युगमा यसरी लुक्न खोजेर सुख पाइन्छ, होला त ?
उनको पार्टी माओवादी केन्द्र र उनका पार्टी अध्यक्षले जसरी दोहोरो गेम खेलिरहेकै छन् । तर, उनी त नेपाल सरकारको एउटा महत्वपूर्ण मन्त्रालयको जिम्मेवारीमा छन्, भन्ने कुराको सामान्य चित्त किन नराखेका ? आफ्नो निजी स्वार्थका लागि मन्त्रालयलाई गलत उपयोग गरेको कुरा एकातिर छँदै छन् अनिवार्य शासकीय जिम्मेवारीबाट भाग्ने परम्पराको सुरुवात समेत उनैले गरेका छन् ।
उनले एमसीसीको प्रस्ताव पेश गर्नासाथ उनको घाँटीमा तल्वार झुण्डिने पक्कै होइन । त्यसको जिम्मेवारी सरकारले नै लिन्छ भने परिणाम सरकारको नेतृत्व गर्नेले भोग्छ । उनलाई आफ्नो डिउटी निभाउन किन यस्तो अफ्ठेरो ?