झलनाथको आरोप– नेकपा विवादलाई झन उत्तेजित बनाउने काम भयो

लेखाजोखा न्युज
६ मंसिर २०७७, शनिबार १९:२३

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का वरिष्ठ नेता झलनाथ खनालले उत्कर्षमा पुगेको आन्तरिक विवाद समाधानका लागि उपायहरु खोजी भइरहेका बेला स्थितिलाई झन उत्तेजित बनाउने घटनातर्फ सचेत रहन नेता–कार्यकर्ताहरुलाई आग्रह गरेका छन् ।

चितवनको रत्ननगरमा शनिबार स्थायी कमिटी सदस्य सुरेन्द्र पाण्डेविरुद्ध नाराबाजी गरिएको घटनातर्फ ईंगित गर्दै उनले स्थितिलाई झन उत्तेजित बनाउने घटनातर्फ सचेत रहन नेता–कार्यकर्ताहरुलाई आग्रह गरेका हुन् ।

“पार्टीमा आन्तरिक विवाद उत्कर्षमा पुगेको र त्यसको सही समाधान गर्न उपायहरु खोजी भइरहेको परिस्थितिमा घट्ने यस्ता घटनाहरुले स्थितिलाई झन उत्तेजित बनाउनेतर्फ सचेत रहन सम्पूर्ण नेता र कार्यकर्तालाई विनम्र अनुरोध छ,” खनालद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।

विकास आयोजनाहरूको अनुगमन गर्न र पार्टीका विभिन्न कार्यक्रममा सहभागी हुन गृहजिल्ला चितवनमा रहनुभएका स्थायी कमिटी सदस्य पाण्डेले राप्ती नगरको बैठकमा मन्तव्य राख्दै गर्दा भएको सुनियोजित घटनाले गम्भीर बनाएको उनको भनाइ छ ।

“कार्यक्रममा आफ्ना भनाइहरु राखिरहेको अवस्थामा अनाधिकृत रूपमा प्रवेश गरेका केही अराजक व्यक्तिहरूले गरेको अभद्र व्यवहार तथा नाराबाजी अत्यन्तै निन्दनीय छ । यस्तो गैह्र जिम्मेवारपूर्ण घटनाको घोर निन्दा तथा भत्र्सना गर्दछु,” खनालले भनेका छन्, “कम्युनिस्ट पार्टीको नैतिक मूल्य, आचरण तथा आदर्श विपरीत यस्तो आपत्तिजनक कार्यमा संलग्न व्यक्तिलाई तत्काल कडा भन्दा कडा कारबाही गर्न सम्बन्धित पार्टी कमिटीको ध्यानाकर्षणसमेत गराउँछु ।”

स्थायी कमिटी सदस्य पाण्डेको उपस्थितिमा शनिबार चितवनको राप्ती नगरपालिकाको नगर कमिटी बैठकलाई अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओली पक्षीय कार्यकर्ताहरुले बिथोल्ने प्रयास गरेका थिए ।

नगर कमिटी बैठक सम्बोधन गर्ने क्रममा नेता पाण्डेले ‘मदन भण्डारी फाउन्डेसन’ मार्फत् पार्टीमा गुटबन्दी भएको अभिव्यक्ति दिएपछि नेकपाकै भ्रातृ संगठन युवा संघ, नेपाल र अनेरास्ववियुका ओली पक्षीय नेताहरुले नाराबाजी गरेका थए ।

उनीहरुले ‘जबज जिन्दावाद’, ‘मदन भण्डारी फाउन्डेसन जिन्दावाद’, ‘केपी ओली जिन्दावाद’ भन्दै नाराबाजी गरेका थिए । ओली पक्षीय कार्यकर्ताहरुले नाराबाजी गरेपछि नगर कमिटी बैठक केहीबेर अवरुद्धसमेत भएको थियो ।