उत्तर प्रदेशमा विषाक्त मदिरा सेवनबाट ६ जनाको मृत्यु, १५ जना गम्भीर बिरामी

लेखाजोखा न्युज
६ मंसिर २०७७, शनिबार १२:४८

काठमाडौं । भारतको उत्तर प्रदेश राज्यमा पर्ने प्रयागराज जिल्लामा विषाक्त मदिरा सेवनबाट छ जनाको मृत्यु भएको छ । १५ जना गम्भीर रुपमा बिरामी भएका छन् ।

प्रयागराजको फूलपुर तहसिलअन्तर्गतको अमिलिया, कंसार, मलियाकापुरा र मइलहन गाउँमा बिहीबार बेलुकी विषाक्त मदिराले असर देखाउन सुरु गरेको थियो । बिहीबार बेलुकी विषक्त मदिरा पिएका मध्ये एक जनाको स्वास्थ्य बिग्रिएपछि अस्पताल भर्ना गरिएको थियो ।

तर, अबेर राति ती व्यक्तिको मृत्यु भएको थियो । त्यसपछि अन्य व्यक्तिको पनि स्वास्थ्य बिग्रिएपछि अस्पताल भर्ना गरिएको थियो । शुक्रवार दिउँसोसम्म कयौं व्यक्तिहरु बिरामी भएका थिए ।

जसमध्ये अहिलेसम्म छ जनाको मृत्यु भइसकेको बीबीसीले जनाएको छ । एक साता अघि उत्तर प्रदेशको राजधानी लखनउमा पनि विषाक्त मदिरा सेवनबाट छ जनाको मृत्यु भएको थियो ।