जात्रामा खजमजिएको आकाश एकै बनेर उठिरहेछन् जिन्दगी र जात्राहरु

दामोदर पुडासैनी ‘किशोर’
६ मंसिर २०७७, शनिबार ०९:२४

बिहानीको उज्यालोमा अडेस लागेर पाँडमाथि बसेका छौं सात जना । घामले चुम्बन गर्नुपूर्व मुस्काउन थालिसकेको छ छिप्रा । आँखाभरि उम्रिएका छन् घरहरुका फुस्रा आकृति र तिनलाई ढाकिरहेको हरित रंग । धूवाँको मुस्लो छोड्दैछन् हरेक छानाहरु । सुतेको रातको ब्युँझाइले बढ्दैछ चहलपहल । धामीनाच र देउडाले वर्षाएको तरंगले माथितिर देखिएको हिउँजत्तिकै उमंगित छ मान्छेको अनुहार । उत्सुकताका परिधिहरु फैलिएका छन् बस्ती, मान्छे, संस्कृति, बन बुट्ट्यान, नाङ्गा पहाड, झरना र हिउँका कुना–कुनामा । पारिपट्टि डाँडाहरुमा कोरिएका सुनसान बाटाहरुमा छिटफुट चलेका देखिन्छन् जीवनका मलिन आकृतिहरु ।

‘ज्ञानबहादुरकी बहुरानी हुँ, खाजाको निम्ता गर्न आया हुँ’— शालीन ढंगमा उभिइन् अघिल्तिर एक महिला । ज्ञानबहादुरजीसँग निकै हिमचिम बढेको थियो अघिल्लो साँझ । सम्बन्धले माया, अनि खानाको क्रम उजागर गर्न खोज्नु भएको रहेछ मित्रले ।

छाना–छाना नाघ्दै निम्ता गर्ने महिलाकै पछिलाग्छ हाम्रो समूह । ‘छानामा मान्छे, भुइँमा बस्तु हिँड्ने हो । मान्छे भएर पनि गाउँको भुइँमा हिँड्छन् त’— स्थानीय बबरजंगले बिहानै भन्नु भएको सम्झन्छु म । घरवरिपरि जमिन र बाटाहरुमा टेक्ने जमिन देखिए पो । दिसानै दिसाले मेलोबाटो छैन । ‘गुहु आयो गाउँ आयो’ भनेको यही हो सर’— मेरो चिन्ता मत्थर पार्न खोज्नुभयो विशालजीले ।

भर्खर काटेर ल्याइएको चिनोको बाला र पराल सुकाइएका भेटिन्छन् छाना–छानामा । केही महिलाहरु त्यसलाई चुटेर सँगाल्दैछन् । गाउँको माथिल्लो घरको छानामा पुगेपछि रोकिनुभयो ज्ञानबहादुरकी बहुरानी । छानामा गोल परेर भुईंमै बसेका रहेछन् ज्ञानबहादुरसहित १०–१२ जना । उनीहरुको माझमा रहेछ झण्डै एक भारी कोदाको हरियो नल । सबैै जनाले म¥याङ–म¥याङ चपाइरहेछन् हरियो नल । हाँसो छ, गफ छ । ग्यामरा उखुभन्दा मीठो मानेर चपाइरहेछन् पर्वमा पुगेका इष्टमित्रहरु ।

‘हजुरहरु पनि बसौं’—अलि फ¥याक गोल बनाए मित्रहरुले । हामी बस्यौं ।

‘उहाँ भाञ्जा, उहाँ फुपाजु, उहाँ भिनाज्यू, उहाँ जेठान, उहाँ यो वडाको अध्यक्ष’— सबैैसँग परिचय गराउनुभयो ज्ञानबहादुुरजीले ।

‘उहाँ सर भने महालेखाको हुनुहुन्छ’—मेरो परिचय गराउनुभयो ।
‘यो महालेखा भनेको माले हो कि एमाले पार्टीको हो ?’— नल खाइरहनु भएका दन्तप्रसाद उपाध्यायको प्रश्नले अचम्ममा परेँ म । छिप्राबाट दुईदिन पैदल हिँडेपछि पुगिने रोडिकोट भन्ने ठाउँबाट आउनु भएको रहेछ उहाँ । राजनीतिक रन्को भने त्यहाँ पुगेको रहेछ ।

महालेखा राजनीतिक होइन सरकारी हिसावकिताव जाँच गर्ने अडड हो भन्ने बुझाउँदा चार अंगुल पर पुग्यो घाम ।

‘खाऊँ हजुर, खाऊँ’— एक मुठो नल हामी अघिल्तिर पनि तेर्सियो । सँगै गएका मित्रहरु ‘पात फाल्दै नल चपाउँदै’ कार्यक्रममा लागिहाल्नु भयो । ‘कोदाको नल पनि चुस्ने ? खाजा खाने भनेको त यस्तो पो रहेछ’— बिलखबन्दमा परेँ म । ठाउँअनुसारको खाना भन्दै नल चपाएँ मैले पनि । न स्वाद छ, न सत्व छ तै पनि ज्वाईं, भानिज, साला, जेठान सबैैले खाइरहेको कुरालाई आफूले नकार्नु भएन । त्यति ठूलो चाड छ अनन्ते पूर्णिमाको तर, नलनै विशेष परिकार बनिरहेछ । अरु केही खानेकुरा नभएपछि नल पनि उखुको लाँक्रो भन्दा फुर्तिलो बन्दोरहेछ बरा ।

‘नलमै टर्ने भो’कि बिहानी खाना’— भोक र चिन्ता दुई डाँडा बनेर उठ्दैथे दुईतिर । मणिजीको घरमा पुगेपछि त ठ्याक्कै पल्टा खायो सोचाइले । अघिल्तिर हुम्ली चामलको भात मगमग बसाइरहेछ, फर्सी र बन्दाको तरकारी छ, झुमाको दहीमा जडीबुटीको बास चलिरहेछ, खानेलाई घडीचरो पनि व्यवस्था छ । त्यस्तो अक्कड ठाउँमा त्यतिधेरै खानेकुराहरु । खाँदै नखाई हेरिरहुँजस्तो लाग्यो मलाई । मणिजी, भाउज्यू, बुबा, आमाहरु, बहिनी सबैैले स्नेह मिसाएर खाना ख्वाइरहनु भयो । मलाई हुम्लामा छु जस्तोनै लागेन । जितपुरफेदीको घरमा पारिवारिक भोज खाइरहेको अनुभूत गरिरहेछु ।

‘उ त्यो डाँडोमाथि हिल्सामाण्डौं गाउँमा आज मेला लाग्ने हो’— बुबाले देखउनुभयो पश्चिमतिर । गाउँलेहरु उकालो चढ्न थालिसकेका थिए फ¥याक फुरुक गर्दै । मणिजीको घरबाट हामी सबैै उकालो चढ्यौं ।

घाम र हामी सँगसँगै चढिरहेछौं उकालो, फरक यत्ति छ — उकालो चढ्दा उसलाई पसिना आएको छैन । हामी नुहाएझैं भइरहेछौं । बरेलाका झाङहरु पहेल्पुर फिँजिएका छन् हिल्सामाण्डौंतिर । सखरखण्ड, गोलभेंडा, काक्रो, फर्सी, मकै र कोदाका बालाहरुले मान्छेका जाँगर फुलाएको देखिन्छ हिल्सामाण्डौमा । डाँडैडाँडाको बीचमा डाँडो छ हिल्सामाण्डौ । डाँडाको बक्ष ढाकिएको छ घरहरुले । माथि थाप्लोमा देवदारका रुखहरु छन, र छन्, मिहिनपूर्वक कपाल काटेर बनाइएको टाउको जस्ता चौरहरु । उत्तरबाट आएको कर्णाली नदी हिल्सामाण्डौं छुँदै–छुँदै दक्षिण पश्चिमतिर गइरहेछ । निलो पानीमा आकाश ओर्लेर बग्दैछ जस्तो लाग्छ कर्णालीबाट । कर्णाली वारि हिल्सामाण्डौ । पारि खार्पुनाथ पहाडको दक्षिण पश्चिमपट्टि याङ्चुमा ३५ जत्ति र स्याँलामा ३० जत्ति घरहरु पहाडमा पाकेका फर्सीजस्ता लाग्दैछन् । याङ्चु र स्याँला गाउँ माथितिर सुलुत्तिदैं उठेका छन् उचाइहरु । मारगोर लेकमा टुंगिएको छ पहाड । कुहिरो ओर्लदैंछ मारगोरको चुच्चोबाट । नीलिमाको अत्युत्तम नमुना देखिइरहेछ आकाश । सर्वाङ्ग नांगो बनेर हिँडिरहेको घाम र सर्बशुद्ध बनेर बहिरहेको हावाका झोक्काहरुले खुशीका तरंग छरिरहेछन्, मान्छेका शिरदेखि पाउसम्म ।

घरका आँगनहरुमा धामीकर्म सुरु भएको छ । अनन्ते पूर्णिमा मेलाको प्रमुख आकर्षण धामी नाच । लोहासुर मन्दिर, मष्टा मन्दिर, हिल्सा मन्दिर, बरई मन्दिर र अरु धेरै मन्दिरको प्रतिनिधित्व गर्दै धामीहरु पुगिसकेका छन् हिल्सामाण्डौमा । १० धामीहरु पटुरिहेछन् । त्यसमध्ये लोहासुर मन्दिरका धामीलाई मुख्य धामी मानिदोरहेछ । ‘तेह्रफिट लामो ल्हठी’ (टुपी) —लोहासुरे धामीको टुपी प्रदर्शन र नापजाँच भएपछि एउटा आश्चर्यले रोमाञ्चित भए जनमानस ।

मनोरञ्जनका साधनहरुका अभाव भएको ठाउँमा मान्छेका हाउभाउ र संस्कारले डो¥याएको नाचगानलेनै बिनोद निम्त्याउँदोरहेछ मान्छेलाई ।

‘यो साल नौ झुमा ठहरै भए । खोले खान पनि कहिल्यै नपुग्ने भयो ।’— एक बूढाले दुःखेसो पोखे धामी सामु ।

‘कमाउन छोरा दिल्लीतिर गएको थियो । कहिल्यै निको नहुने रोग लिएर फर्केछ । फर्केको तीन महिनामा उ कहिल्यै नफर्कनेगरि गयो । त्यसको छ महिनामा बुहारी पनि उसकै बाटो गई । म एक्ली बूढी छु । चार नाति नातिना छन् । न घरमा केही छ । न जग्गा जमिन छ । न कमाउने कोही छ । यो दुःखबाट बच्ने उपाय बताईदेऊ प्रभु, नत्र चार नाति नातिना सहित बिष खाएर मरिदिन्छु म’— हुनसम्मको दुःखको पहाड खोलिन् अर्की आमैले ।

‘एउट झुपडी थियो, पोहोरको पहिरोले पुरिदियो । ओडारमा बस्थ्यौं, त्यो पनि यसपालीको वर्षाले बगाउँदा धन्न ज्यान बचायौँ । दुःखीकै छेउछाऊमा रत्तिंदो रहेछ दुःख पनि । कहिले सिस्नो खाँदै, कहिले खोलाको लेउ पिउँदै ढुंगाका ककारा–ककारामा रात बिताउँदै हिँड्दा जहान र एउटी काखे छोरीले एक महिना अघि आँखा चिम्लिए । पक्का भगवान रिसाए होलान् हामीसँग । राम्ररी मन्छिदेऊ र अब बाँच्ने बाटो देखाउन भगवानलाई भनिदेऊ’— अर्का तन्नम भगतले पुकारा गरे मुखमा घाँस च्याप्दै चार हात खुट्टा टेकेर ।

‘बैंसमा असाध्यै राम्री थिएँ प्रभु । जारी तिर्दैै स्वास्नी बनाउँदै गर्दा आठ ठाउँमा बेचिइसकेँ म । गाउँमा पैसा हुनेले मलाई छेकारो हालेर हातपात गरिहाल्ने । त्यसपछि झगडा, त्यसपछि नयाँ लोग्नेले पुरानोलाई जारी तिर्दै मलाई डो¥याउँदै गरिहाल्ने । न कसैसँग माया साटेर जिन्दगी बिताउँन पाइन्छ, न कुनै घरलाई आफ्नै हो भनेर सिँगार पटार गर्न पाइन्छ । कोरली झुमाभन्दा बढी किनबेचमा अल्झने भो जिन्दगी । अब बैंस रित्तियो । किनमेल ठप्प भो । रातदिन नांगेझार पारेर सिस्नो लगाउँछ लोग्नेले र टोक्छ सिस्नोका काँडाभन्दा तिखा गालीले । अर्को जन्ममा त मकैको सुकेको ढोड जस्तो होस् जीउ र सिठुवा जस्तै होस् अनुहार’— हात जोडेर मन बगाइन् आँखाबाट एउटी पैंतीस चालीसेले ।

टाढा–टाढाबाट कयौंदिन हिंडेर छिप्रा पुग्नेहरुले पनि धामीलाई समस्याहरु बताइरहेछन् । छिप्राकै तीन भाइहरुले भाषा रुपान्तरणमा सघाइरहेछन् मलाई । कयौं छाक भोकै बस्नेहरुले पनि केही न केही चढाइरहेछन् धामीलाई । कसैको समस्या समाधान नहुने भन्दैनन् धामीहरु । यो सबै भगवानको खेल हो, भगवानको टेढो आँखा पर्नाले त्यस्तो भएको भनिरहेछन् धामीहरु । कुखुरा काट्नु पर्ने, धामी बकाउँनु पर्ने, सिमे भूमे मन्छनु पर्ने, लागु भागुलाई मनाउनु पर्ने घोषणा भइरहेछ धामीबाट । उनीहरुको आश्वासनमा लोलाइरहेछन् पीडितहरु । धामीहरु एकनासले कामिरहेछन् । ढोल र झ्याम्टाको तालमा धामी पटुर्दा पुरै गाउँमै कम्पन पैदा भैरहेछ । धामीहरुले हरेक वर्ष आश्वासन छरिरहेछन् तर गाउँलेहरुको ब्यथा झन् झन् बढिरहेछ भन्छन् त्यहाँ उपस्थित मान्छेहरु । ‘देवतालाई गाउँलेहरुले राम्रोसँग मनाउन नसकेर दुःखमाथि दुःख चाङ लाग्दैछ भन्दैछन् धामीहरु ।
‘अन्न पैसा धामीलाई, दुःख जत्ति हामीलाई’ हुनुको रहस्य बुझाउन ढिलो भैसकेको जस्तो लाग्दैछ ती अनकण्टार प्रदेशहरुमा ।

हिल्सामाण्डौ गाउँभन्दा माथिल्लो पहाडको शिरमा रहेछ एउटा सुन्दर समस्थली । तीनतिर नब्बे डिग्रीको भीरनै भीर, माझमा समस्थली । धामीहरु, देउडाका नर्तकीहरु, पसल राख्नेहरु र जात्रालु सबैैको लर्को उँभो लागेको छ त्यही समस्थलीतिर । सक्नेहरुमा नयाँ लुगा फेर्न पाएकोमा खुशी छ, नसक्नेहरु पनि इष्टमित्रसँगको भेटमा हरिया पहाडहरु जत्तिकै खुशिला देखिएका छन् । युवा युवती र बच्चा बच्ची भीडलाई छिचोल्दै खुरुर्र खुरुर्र ओहोर दोहोर गरिरहेछन् । लेख, नल्ल, छिप्रा र माझा गाउँहरुबाट पनि हिल्सामाण्डौतिर उक्लने जमात दरिलो देखिंदैछ ।

‘ए सर, पख्नुस्, पख्नुस् कहाँ त्यो धारोमा पानी खान लाग्नु भएको, त्यो हामीले पानी खाने धारो होइन, हाम्रोलागि त उ माथि छ, यो त दलितहरुको लागि हो’— एक मित्रले हातै समातेर तान्नुभयो मलाई । ‘पानी पनि दलित र गैरदलितको लागि फरक हुन्छ, छोड्नुस् केही हुन्न’— मैले चार अञ्जुली पानी पिएँ त्यो ढुंगे धाराको । साथी आत्तिनुभयो, कतै कसैले देख्यो भने जात्रामा अरुभन्दा छुट्टै बस्नुपर्छ भनेर । पानीको मूल एउटै छ, धारा भने दलित र गैरदलितको लागि छुट्टाछुट्टै किन ?

मान्छे मान्छेको विभेदले मानवता मरिरहेछ हाम्रा गाउँघरहरुमा ।

हिल्सामाण्डौ पहाडलाई छपक्क ढाकेको छन् जात्राहरुले । फाट्टफुट्ट उभिएका देवदारहरुले छहारी दिइरहेछन् जात्रालुहरुलाई । जात्रालुहरुको लागि जात्रा हेर्ने भ्युटावर भएका छन् देवदारहरु । हाँगा हाँगामा सिम्टाझैं टाँसिएर जात्रा हेर्नेहरुको कहाँ कमी छ र त्यहाँ । ठाउँ ठाउँमा धामीको कम्पन छ, ठाउँ ठाउँमा देउडाको लर्कन छ । आध्यात्मिक र भौतिक दुवैको सङ्गम ब्युझेको छ हिल्सामाण्डौमा । साना साना पसलहरु राखिएका छन् राडी पाखिमा । पसलहरुमा चुरोट, सलाई, बिंडी, नरिवल, मिस्री, चिनी, मसिना चकलेट र छोहराहरु राखिएका छन् । अञ्जुली भरि चिनी किनेर फाँको हाल्दै हिंडेका देखिन्छन् जात्रालुहरु । बोतलमा राता, पहेंला, खैरा रङ्गका खोयाविर्के बेच्नेहरु पनि छन् भिडको बीच बीचमा । आफैँले हात हातमा बोकेर जात्रा धाउनेहरु पनि कम छैनन् । हल्लन् झुल्लन् झल्ला बन्नेहरु त हरेक भीडमा बग्रेल्ती छन् । कोही कान्लाबाट तलतिर मुख पारेर बिचेत छन् । कोही लडखडाउँदा लडखडाउँदै भीडमै भस्किन्छन् । कोही नाच्दा नाच्दै गुल्टिन्छन् । असीभन्दा बढी प्रतिशत जात्रालुहरु हुरीको हाँगो भएको देख्दा अनन्तेपूर्णेको जात्रा अनन्त रोमाञ्चक लागिरहेछ ।

‘हजुर, हामी पनि खाजा खाऊँ’— जात्रामा पुगेको दुईघण्टा पछि हमाल भाउज्यूले तान्नु भएपछि देउडामा रमाइरहेको मेरो मनले भोक लागेको चाल पायो । समूह–समूहमा खाने, पिउने, नाच्ने गरिरहेथे जात्रालुहरुले । हाम्रो २०–२५ जनाको समूह पनि याङ्चु गाउँतिर फर्केर बस्यो । भाउज्यूले ढेस्सु (बाक्लो रोटी), उसिनेको आलु, करुको सातु र स्याउ लैजानु भएको रहेछ । मलाई त करुको सातु असाध्यै मन प¥यो । सबैै मिलेर लगेको सबैै खाना खायौं । त्यो चिशो हावापानी, त्यो उकालो र त्यो दौडादौडमा त्यति खाना पाउनु अमृत पाउनु सरह थियो । कतिपय मान्छेहरु कयौंदिन अघिदेखि भोकै हिँडेर जात्रा पुगेको र भोकै फर्कने बताउँँदैथिए ।

‘भोको पेटले कहाँ छुट्याउन सक्छ र फूलको रंग र सुवास ?’— म कोपरिएँ ती भोका जात्रालुहरुको साहस देखेर । उनीहरु पेटमा हावा भरेर जीवनगीत गाउँदै पहाडहरुलाई थर्काइरहेछन् ।
जारी छ जात्रा।
पानी वर्षिइरहेछ ।
कुहिरो झरिरहेछ ।
पानीले भिज्नु र कुहिरोमा छेकिनुसँग हारेको छैन कोही पनि ।
भिज्नु, छेकिनु, लड्नु, उठ्नु—रीत हो जिन्दगीको, भन्ने नबुझ्ने कोही छैन त्यहाँ ।
देउडाबाटनै जिन्दगी खोज्न लागिपरेको छ हाम्रो पनि समूह ।
देउडाबाटनै जिन्दगीको रंग खोज्न तम्सने देउडाली समूह छन् त्यहाँ ३५ भन्दा बढी संख्यामा ।

देउडा मिसिएको छ प्रेमिल हावामा । देउडा दौडदैछ धूपीका मुहुनाहरुमा; झुमा, झोपाका रौंहरुमा र मान्छेका छातीजस्ता दरिला पहाडका ऋंखलाहरुमा । देउडाको लयले तरंगित पारिरहेछ समयलाई । खोजिरहेछ समयको इन्दे्रणी जिन्दगीको क्षितिजसम्म पुगेर । मन्मथीको मन्दाकिनी फैलिरहेछ अनन्त आकाशका रेशाहरुमा । त्यसलाईपनि माथ गर्दै उठिरहेछन् जीवनका सुललित गाथाहरु र जीवनलाई डो¥याउने चम्किला गोरेटाहरु । हाम्रो समूहले देउडा नाच्दा र गाउँदा दर्शकहरुको समर्थन र सहभागितापनि जब्बर बन्यो बाउसे गरेको खेतका कण कणमा घुसेका पानीका बूँद-बूँद जस्तो ।

केटा— पाक्याका अम्बाका फल
कोही सबैै खाउली क्या ?
मन पडेको पोइ भेटाया
काही पोइल जाउली क्या ?

केटी— एउटा बाटो काट्या बाटो
अर्को बाटो नदै
यसै पोइल काहाँ जाँदा हुँ
मेरा पोइली छँदै

केटा— पोलिएका मेला माथि
चरिंदै’छ घोर
ताँको हाम्रो भेट गराउँने
राम्रै आइज होर

केटी— यो माया एकसरो होइन
माया दोहरै’छ
अनन्तेको निहुँ पारेर
बाहुली दोहरै छ
कर्णाली कर्णालीतिर
भेरी भेरीतिर
म एक्लै डाँडाकी मिर्ग
क्वै नाही मेरी तिर

केटा— कँपनी भन्यौ त पन
चल्ने मोहरै छ
यो माया त्यो पनि माया
माया दोहरै छ

केटी— आँप, अंगुर, स्याउ निस्पाती
बागवानी फाराम
निकै छ कि दर खोला
ज्यू छ कि आराम

काखे बच्चा च्याप्नेहरुको जाँगर झरिलो देखिन्छ देउडाकोलागि । ‘अर्को वर्ष के कसो हो यसपाली त भ्याइहालियो नि जात्रामा भाग लिन’ भन्दैछन् बूढाबूढीहरु । युवा युवतीहरु मायाको छड्के तीर हान्दैछन् । मायाको खोजवीन र सल्लाह साउतीमा तल्लिन छन् । स्थानीय बिम्बहरुबाट खोजिंदैछ जिन्दगीका परिभाषाहरुलाई । हाम्रै छेउमा नाचिरहेछन् ३५–४० जना दिदी–बहिनीको समूह । उनीहरु घाँसपात र बस्तुभाउ भन्दा भन्दै जिन्दगी गएको गुनासो गर्दैछन् । ‘पढ्यो भने संसार बुझिन्छ रे जीवनमा उज्यालो भेटिन्छ रे त्यो त आफूलाई कुन चराको नाम भो’— भन्दैछन् । बच्चा उमेरमै बच्चा पाउने मेसिन भइयो । लोग्ने, सासू–ससूरा र इष्टमित्रको चित्त बुझाउनेभन्दा भन्दै आफ्नो जिन्दगी सिद्धिन आँट्यो । आफूले देवताझैं पूजिरहेको इजा (आमा) ले जारी पायो भने बाख्राझैं बेचिदिन्छ हामीलाई र रक्सी धोकेर सिद्धयाउँछ’— महिलाहरुको जीवन कहानी खोल्दैछन् देउडामा दिदी बहिनीहरु । अब झ¥याम झुरुम फुटाउँनु प¥यो यो आकाशलाई, पुरै नयाँ रंगले रंगाउनु प¥यो यो धर्तीलाई । हाम्रो भन्दा जंगलमा चर्ने चरीको जिन्दगी उम्दा छ, गोठमा बस्ने झुमा र झोपाको जीवन बरु स्वतन्त्र छ ।

उकुस मुकुस फुट्न खोजिरहेछ दिदी बहिनीहरुको देउडाहरुबाट ।

‘लौ मार्यो ! लौ कुट्यो’— एक निमेषमै हल्लाखल्लामा परिणत भयो नाचगान । ‘ठोक् ठोक्’— आवाज आगोजस्तो फैलिइरहेछ । मान्छेहरु लुँडिइरहेछन् हाम्रो दायाँपट्टिको पाटनमा । ढुङ्गा वर्षन थाले, माटो हुच्चिन थाले दर्शकहरुले पनि । बच्चाहरु रोइरहेछन्, तरुना तरुनीहरु चिच्याइरहेछन्, बूढाबूढीहरु डिल खोज्न घस्रिरहेछन् ।

क्षणको क्षणमै जात्राको रामरउस रणभूमिमा परिणत भयो । अघिसम्म फैलिरहेको रमाइलोको रङ्ग असुरक्षा र अन्यौलमा परिणत भयो ।

जात्रामा यस्तो हुनु स्वाभाविक हो । जीवनमा यस्तो हुनु स्वाभाविक हो । लडाई, झगडा, खुशी, पीडा सबैै नभए कहाँ रमाउँछ र जिन्दगीले क्षण क्षणमा ।

जिन्दगी र जात्रा उस्तै उस्तै मानिरहेछु मैले ।

जात्रामा पनि खुशी खोज्ने हो चाहना हो तर, खुशी मात्र भेटिन्छ भन्ने केही छैन । क्षण क्षणमा जून च्याप्छु खोकिलामा भनेपनि कहाँ पुरा हुन्छन् र जिन्दगीका सबैै लक्ष्य ।

जिन्दगीको खजमजिएको कोलाज टड्कारो देखिन्छ जात्रामा ।

मणि, जंग, राजन, विशाल र हाम्रा अरु साथीहरु तीन हातमाथि उफ्रेर कराएपछि अलि मत्थर बन्यो कोलाहल । कोलाहललाई नाश गर्न निकाल्नुपर्ने रहेछ कोलाहलनै । मणिजीले आफ्नो प्रहरी जीवनको भीड नियन्त्रण कला प्रयोग गर्नुभयो । डिएसपि मणिजङ्ग हमाल भन्ने बुझेपछि कुनापसे जात्राको रमाइलो च्यात्नेहरु । छ जना लडेका छन् कमिलाको गोलोजस्तोमा । टाउकोदेखि पैतालासम्म रगतले छोपिएको छ । कसैको घुँडामा, कसैको गालामा, कसैको पिठ्युँमा, कसैको पेटमा, प्वालनै प्वाल देखिइरहेछन् । दुईजनाले अलि अलि पानी पिए, चार त इन्तु न चिन्तु देखिँदैछन् ।

माझ गाउँको एउटाकी स्वास्नीलाई नल्ला गाउँको अर्काले छामछाम छुम पारिदिंदा घटना घटेको रहेछ त्यहाँसम्म ।

‘गड्याङ ड्याङ ड्याङ ढ्याङ्ङ’— बेसरी मेघ गर्जियो । पानी वर्षिन थाल्यो लहरा छुटेर । मान्छेहरु देवदार मुन्तिर गुडुल्किए । के छेक्थ्यो र देवदारले पनि । झगडा साम्य बनाउन प्रकृतिले चालेकी हुनुपर्छ त्यो कदम —मनमनै सोचें मैले ।

जात्रा त्यो रात पनि चल्नेरहेछ । साथीहरु नफर्कने हुनु भयो त्यो दिन जात्राबाट । काम सक्नुपर्ने हतारो छ भन्ने महसूस गराएँ साथीहरुलाई । कृष्ण रोकाया बन्नुभयो मेरो फर्कने साथी ।

हिल्सामाण्डौबाट हामी ओर्लंदा पश्चिम पहाडबाट ओर्लिसकेको थियो कमजोर घाम ।

‘कसरी पार गर्ने होला कर्णालीको त्यो जीर्ण तुइनबाट’— एउटा अब्यक्त डरले छोडेन कर्णाली पार नगरेसम्म ।

खार्पुनाथबाट उकालो चढ्दा बाटाभरि भेटियो सिमकोटतिरबाट झरेको कुहिरोको जुलुस र जुलुसमै मिसिएका असंख्य चौँरी गाईहरु ।

अनुहार ढाकेर उभिरहेकी सूर्यमुखीलाई स्याउका दाना दानाबाट ओर्लेर जिस्क्याइरहेको रहेछ तरुनो जूनले । उ लजायो सिमकोटमा हाम्रो पदचाप सुनेर ।

ठण्डीको अपराजित फौजले मोर्चाबन्दी गर्दैछ बस्ती–बस्तीमा ।

हाँगाका कलिला फूलहरुमा उमार्न खोज्दैछु म प्रेयसी स्पर्शका सपनाहरु ।

-सिमकोट, हुम्ला
२०६५ भाद्र ३० गते ।