श्रम बजार व्यवस्थित गर्न उद्योग वाणिज्य महासंघ र साझेदार संस्थाबीच सम्झौता

लेखाजोखा न्युज
४ मंसिर २०७७, बिहीबार १६:५२

काठमाडौं । नेपालको श्रम बजारलाई व्यवस्थित बनाउने उद्देश्यसहितको परियोजना कार्यान्वयन गर्ने विषयमा नेपाल उद्योग वाणिज्य महासंघ र ब्रिटिस काउन्सिलबीच भएको सम्झौता कार्यान्वयनका लागि साझेदार संस्थाहरुबीच सम्झौता पत्रमा हस्ताक्षर भएको छ ।

चार साझेदार संस्थाहरु नेपाल निर्माण व्यवसायी महासंघ, नेपाल उद्योग परिसंघ, नेपाल साना तथा घरेलु उद्योग महासंघ र होटल संघ नेपालका प्रतिनिधिहरुबीच सम्झौता पत्रमा हस्ताक्षर भएको हो ।

राजधानीमा आयोजित कार्यक्रममा उद्योग वाणिज्य महासंघका अध्यक्ष भवानी राणा, निर्माण व्यवसायी महासंघका वरिष्ठ उपाध्यक्ष निकोलस पाण्डे, उद्योग परिसंघका उपाध्यक्ष विष्णु अग्रवाल, साना तथा घरेलु उद्योग महासंघका महासचिव डम्बर रेग्मी र होटल संघ नेपालका अध्यक्ष सिर्जना राणाले सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् ।

नेपाली श्रम बजारको अध्ययन, अनुसन्धान र तथ्यांक संकलनका लागि परियोजना प्रभावकारी हुने विश्वास गरिएको छ । निर्माण व्यवसायी महासंघका तर्फबाट कार्यक्रममा वरिष्ठ उपाध्यक्ष पाण्डे र कार्यालय प्रमुख प्रेमसिंह ऐरको सहभागिता थियो ।

कार्यक्रमलाई प्रभावकारी रुपमा कार्यन्वयन गर्न सबै संस्थाबाट दुई–दुई जना प्रतिनिधि रहने गरी प्रोजेक्ट–कोअर्डिनेसन कमिटी गठन गरिएको छ । कार्यक्रम उद्योग वाणिज्य महासंघका अध्यक्ष राणाको अध्यक्षतामा आयोजना गरिएको थियो ।