हाम्रा परम्पराहरू विज्ञान सम्मतनै छन्

भीम उपाध्याय
३ मंसिर २०७७, बुधबार ११:३९

वैज्ञानिकहरूले पत्ता लगाएका नियमहरू सय वर्षपछि पुष्टि हुदै जाने हुन सक्छन् । ऋषिहरूले पत्ता लगाएका नियमहरू हजारौ‌ वर्षपछि पुष्टि हुदै जाने गर्छन्। आधुनिक प्रविधि अझै विकसित हुँदै जाँदा सत्यता पुष्टि हुँदै जान्छन् । भिजनरी भनेकै दूरद्रष्टाहरू हुन् । तिनका कुराहरू सुदूर भविष्यसम्म पनि सत्य प्रमाणित हुँदै जाने महामानवहरू हुन् ।

तत्कालिन समाजमा अधिकाँशले महामानवका कुरा बुझ्न सकेका हुँदैनन् । अधिकॉश ती एक्लाएक्लै अगाडि बढ्ने गर्छन्। अधिकॉश दार्शनिक, वैज्ञानिक, ऋषि, विद्वान, बुद्धिजीवीहरू संगठन बनाएर हिँड्दैनन् । ती बाघ, सिंह जस्तै शीर ठाडो पार्दै छाती फुलाएर एक्लै हिँड्ने गर्छन् । बुद्धिको दुनियॉ एकल दुनियॉ हुन्छ।

हाम्रा सनातन ज्ञान, प्रविधि, परम्परा र संस्कृति तत्कालिन काल र परिस्थितिमा सबै सही नै भएका हुन् । नभए अस्तित्वमा आउने नै थिएनन् । तिनका पछाडिको वैज्ञानिक आधारहरू र त्यसबाट लाभ लिन सकिने उचित विधिहरूको ज्ञान सिप हराउँदै गएर केवल परम्पराका रूपमा अघि बढ्दा अपभ्रंश हुन गइ पछिपछि अन्धविश्वास र अवैज्ञानिक हुन पुगेको हो। प्रत्येक ताल्चाको अलग्गै साचो हुन्छ, नभए त्यो ताल्चा नै भएन । गलत साचो प्रयोग गर्ने अनि ताल्चालाई दोष दिनु परम्पराको दोष हैन, हाम्रो कुबुद्धिको द्योतक हो ।

हिन्दू सनातन प्रणाली भनेको हाम्रो जीवन भौतिक र अभौतिक हुन्छ र भौतिक शरीरले अभौतिक जीवनमा कुनै बाधा नपारोस् र जहिले पनि आनन्दित, उत्सवमय र खुशी रहन सकियोस् भनेर प्रादुर्भाव गरिएको हजारौं वर्षदेखि प्रमाणित परम्परा हुन् । समयकाल परिस्थितिले तिनलाई निरन्तरता दिन सकिएन भन्दैमा गलत हुन सक्दैनन् । जसलाई त्यसबाट लाभ लिने चाहना छ तिनले लगनशील भइ साधना गर्ने गरिरहेकै छन् । तर, परम्परागत ज्ञान प्रविधि विधिबाट लाभ लिन सकिने मानसिक, शारीरिक एवं अधियात्मिक पूर्वशर्त भने पूरा गरिएको हुनुपर्छ। तिनका पनि उचित ‘एम्बियन्स’ , ‘प्रिकण्डिशन प्रोटोकल’ हुन्छन् ।

हजारौ‌ वर्षदेखि चलिआएको र हजारौ‌ वर्ष पछिसम्म चलिरहने परम्परा वैज्ञानिक र मानव लाभकारी नभए टिक्दै टिक्दैनथ्यो। कुनै कुरा हजारौ‌ वर्ष टिकेको छ भने त्यही नै वैज्ञानिक प्रमाण भएन र ? वैज्ञानिकता भौतिक र अभौतिक हुन्छन् । अहिलेको तीव्र विकसित अत्याधुनिक भनिएको भौतिक विज्ञान र प्रविधि पनि योग विज्ञानको दॉजोमा काखे बच्चा मात्र हो, उसले हुर्केर सनातन योग विज्ञान बुझ्न अझै ५०-१०० वर्ष लाग्ने छ। तर, बुझ्नेछ, यसमा कुनै शंका छैन। किनभने अहिले विश्वभरि नै विलुप्त प्राचीन विज्ञानको पनि धूमधामसँग खोज हुँदैछ।

ग्यालेलियो, न्युटन, आईनस्टिन, स्टेफन हकिन्सका कुरा पनि ५०-१०० वर्ष पछि मात्र प्रमाणित हुँदै गएका हुन र हुँदैछन् । ऋषिहरूको कुरा त झन हजार वर्ष पछि प्रमाणित हुँदै रहने छन्, जबसम्म श्रृष्टि चलिरहने छ । हाम्रै भूगोलमा विकसित वैदिक विज्ञानको पुनरूत्थान गर्न सकियो भने अकल्पनीय चमत्कार हुने छ आधुनिक विज्ञान र प्रविधिको क्षेत्रमा । योगविज्ञानले मात्र पनि अहिले चमत्कार गरिरहेको छ। अन्य विज्ञानका कुराहरू पश्चिमा बडेबडे वैज्ञानिकहरूका प्रेरणाका श्रोत बन्दै रहेका छन् ।

माल पाएर चाल नपाउनु मालको दोष हुन्छ र ?