नेपाल–बंगलादेशबीचको मैत्रीपूर्ण खेल गोलरहित बराबरी, छिरिङ, पूजन र सेसेहाङको डेब्यु

लेखाजोखा न्युज
२ मंसिर २०७७, मंगलवार १९:२४

काठमाडौं । नेपालले बंगलादेशसँग दोस्रो मैत्रीपूर्ण फुटबल खेल गोलरहित बराबरी खलेको छ । बंगलादेशको राजधानी ढाकास्थित बंगबन्धु रंगशालामा भएकोे मैत्रीपूर्ण खेल नेपालले गोलरहित बराबरी खेलेको हो ।

कतार विश्वकप छनोटको तयारीस्वरुप मैत्रीपूर्ण खेलका लागि बंगलादेश गएको नेपाली टोली र बंगलादेशी फुटबल टोलीबीचको खेल नेपाली समयअनुसार पौने ५ बजेबाट सुरु भएको थियो । खेलमा गोलका लागि केही अवसर सदुपयोग गर्न नसक्दा नेपाल बराबरीमा रोकिएको हो ।

बंगलादेशविरुद्धको दोस्रो खेलमा नेपालका तर्फबाट छिरिङ गुरुङ, पुजन उपरकोटी र सेसेहाङ आङ्देम्बेले डेब्यु गरेका छन् ।

‘मुजिब वर्ष फिफा अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल’ ऋंखलाअन्तर्गतको पहिलो खेलमा बंगलादेशले नेपाललाई २–० पराजित गरेको थियो । कात्तिक २९ गते सम्पन्न बंगलादेशसँगको पहिलो मैत्रीपूर्ण खेलमा नेपालका लागि विकास खवास, एरिक विष्ट र दर्शन गुरुङ गरी तीन खेलाडीले डेब्यू गर्ने अवसर पाएका थिए ।

डिफेन्डर विकासले सुरुदेखि खेल्न पाए भने एरिक ४०औं मिनेटमा मैदानमा प्रवेश गरेका थिए । विक्रम लामा घाइते भएर मैदान छाड्न बाध्य भएपछि एरिकले खेल्ने अवसर पाएका हुन् ।