सूक्ष्म विषयलाई बुनिएको कथासंग्रह निर्णय

सिर्जन अविरल
३० कार्तिक २०७७, आईतवार ११:०६

कथाकार गायत्री अधिकारीको पहिलो साहित्यिक कृति हो, निर्णय । ६० को दशकदेखि साहित्यिक यात्रा सुरु गरेकी क्रियाशील स्रष्टा पनि हुन् कथाकार अधिकारी । यिनका दर्जनभन्दा बढी कथाहरू ६० कै दशकमा विभिन्न राष्ट्रिय र स्थानीय पत्र–पत्रिकामा छापिएको पाइन्छ । यिनी गहिराइमा पुगेर समाजको सूक्ष्म अध्ययन गर्न रुचाउँछिन् । सामाजिक बेथिति, पारिवारिक अन्तरकलह, अनेक खाले कुरीति र कुपरम्परालाई यिनले आफ्ना कथामा प्रमुख विषय बनाएकी छिन् । समाज र हरेक परिवारभित्र विद्यमान् तिनै मसिना विषयलाई कथामा सरल रुपले प्रस्तुत गरेको पाइन्छ ।

बौद्धिक भनिने समाज पनि अझै कसरी पुरातन विचारलाई मलजल गरेर बाँचिरहेको छ भन्ने कुरा यिनका कथामा भेट्न सकिन्छ । विशेष गरेर समाजमा छुटेका र छुटाइएका केही मसिना कुराहरूलाई कथाकार अधिकारीले आफ्नो पहिलो कथासङ्ग्रह ‘निर्णय’ भित्र समेट्न सफल भएकी छिन् । बाहिरबाट हेर्दा सम्भ्रान्त र शिक्षित देखिने परिवार पनि भित्रभित्रै कसरी अन्तरकलहमा फँसेको हुन्छ भन्ने कुरालाई निकै कलात्मक भाषाशैलीले कथा बुन्न सफल भएकी छिन् ।

रंगीन सपना बोकेर कर्मघरमा भित्रिएका नारी पात्रहरूको मर्दै गएको सपना, परिवारभित्रको विभेद, हराउँदै गएको रहर र बन्धनमा परेको स्वतन्त्रतालगायतका विषय यिनका कथामा भेटिन्छन् । त्यति मात्र नभएर पारिवारिक प्रेम र आत्मसम्मानका ठेस लागेपछि परिवारिक सम्बन्ध कसरी क्षतबिक्षत हुन्छ भन्ने कुरा कथामा घतलाग्दो गरी आएको छ ।

यिनले नेपाली समाजको तीतो यथार्थलाई आफ्नो कथाको विषय बनाएकी छिन् । हेर्दा सामान्य लाग्ने कथाको शीर्षकबाट कथाभित्र छिरेपछि पाठकले हत्तपत्त कथा छोड्न सक्दैन । बरू पाठकले सोच्न थाल्छ– समाजमा लुकेको मसिनो विषय जहाँ कथाकारले निकै आँट गरेर बोलेकी छिन् । यिनका कतिपय कथाहरू पढ्दा कथाकारको आँटकै कारणले मात्र लेखिन सम्भव भएको देखिन्छ । ‘निर्णय’ कथासंग्रह यथार्थमा नेपाली समाजको प्रत्येक घरमा छायाँमा परेको विषयहरूको कथा हो ।
खासमा भन्नुपर्दा आफ्ना कथामार्फत समाज लेखेकी छिन् अधिकारीले । नेपाली साहित्यको बजारमा आइरहेका भन्दा केही फरक स्वाद दिन सक्ने कथा पस्किएकी छिन् ‘निर्णय’ कथासंग्र्रहमार्फत् ।

पहिलो कथाको रुपमा ‘सौन्दर्य’ शीर्षकको कथाबाट सुरु भएको निर्णय कथासंग्रहभित्र रोजाइ, पीडाका रङहरू, शंका, अकल्पनीय, सम्बन्ध, सचेत, निर्णय, पाल, मनको खेलवाडलगायत जम्मा २४ कथा समावेश गरिएको छ । ‘निर्णय’ यस कथासंग्रहको शीर्षक कथा हो ।

कथाका पात्रहरूमा प्रेम, द्वेष, घृणा , प्रतिशोध र आवेग मात्र होइन सामाजिक चिन्तन र आदर्श सोचका पत्र पनि कथामा भेटिन्छन् । खेलवाड शीर्षकको कथाभित्र शारीरिक रुपमा अपाङ्ग तर बौद्धिक युवतीको प्रेमलाई प्रस्तुत गरिएको छ । शारीरिक अपांगता अलग कुरा हो तर उमेरसँगै पलाउने रहर, शारीरिक आकर्षण र कोही आफ्नो होओस् भन्ने अव्यक्त चाहनालाई मनोवैज्ञानिक ढंगले कथामा प्रवेश गराइएको छ ।

त्यस्तै संग्रहभित्र माफ शीर्षकको कथा पनि छोटो र रोचक कथा हो । यो कथामा एउटा कृतघ्न भाइ कसरी दाइको गहिरो प्रेम र जीवनभरिको सहयोग बुझ्न सक्दैन भन्ने देखाइएको छ– ‘…मान्छेको जीवन ऋतुको चक्रजस्तै परिवर्तनशील छ । मुर्खताको पराकाष्ठामा पुगेपछि पनि फर्कन सक्छ । परिवार, समाज, सहयोगजस्ता मान्छेका अपरिहार्य चिजहरूसँग टाढिने हो भने त एक्लै जंगलतिरै बसे भैगो नि । फेरि मूर्ख मान्छेको स्वभावै यस्तै हो, अरूलाई होच्याउनु, ठूला विद्वानलाई पनि मामुली ठान्नु, आफूलाई महान् भनेर कुर्लनु त उसको विशेषता नै हो ।…’

राजनीतिक परिवर्तन भएर पनि पिँधका मान्छेले कहिल्यै महसुस गर्न नपाएको तीतो यथार्थलाई कथाकार अधिकारी अमरे दाइ शीर्षक कथामा प्रस्तुत गरेकी छिन्, ‘ ..कुपोषितका सिन्के हा–(खुट्टाले यसरी बोलिरहे झैँ लाग्छ’ मलाई निचोरेर तिमीहरू मोटायौ’

कानुन शीर्षकको कथामा चेलीबेटी बेचबिखनको गम्भीर विषयलाई उठान गरिएको छ भने दाइजो शीर्षकको कथामा सामाजिक कुप्रथाको खुलेर विरोध गरिएको पाइन्छ ।

यस्ता धेरै सरीताहरू मरिसके दाइजोकै कारण । यहाँ काग कराउँदै गर्छ, पिना सुक्दै गर्छ । तर दाइजो प्रथा बन्द हुँदैन । त्यसपछि म त्यस आँगनमा एकछिन पनि अडिन सकिनँ र आफ्नो बाटो लागेँ । साँझ झमक्क परिसकेको थियो । म भने सरिताको लाससँगै नारी जीवनको आशा, उद्देश्य, रहर, खुसी सबै जलेर खरानी भएको कल्पना गर्दै ओछ्यानमा छटपटाइरहेँ । ’

‘अकल्पनीय’ प्रस्तुत संग्रहभित्रको अर्को एउटा उत्कृष्ट कथा हो । नारी अन्तर्मनको गहिराइमा पुगेर लेखिएको कथा हो– अकल्पनीय ।

पलाउँदै मर्दै गएको रहर, हरेक कुरामा लोग्नेको अनिच्छा, पत्नी र दासिनीमा भेद छुट्टिन नसक्दा भाचिँदै गएको मन र सुक्दै गएको जीवनको फूलबारीलाई बिम्ब र प्रतीकको प्रयोग गरेर निकै मार्मिक रूपमा प्रस्तुत गरिएको छ– ‘…….कसलाई भनुँ, मेरी जन्म दिने आमालाई बेसरी गाली गरेँ मनमनै । ….रुखको छहारीमा पनि किन शीतल लाग्दैन ? रूखको एउटा हाँगा समाउन खोजेँ भाँचियो, मैले रुखलाई मायालु हातले छुन खोजेकै हो तर रुखै सुकेको र कमजोर हो कि केही बुझ्न सकेको छैन । जुन रूखको ओत नै मेरो लागि प्रतिकूल छ, त्यही रुखमा मलजल गरेर मैले कठिन गौँडाहरू काट्नु छ ।’ यो कथामा रुखलाई लोग्नेको प्रतीकको रुपमा उभ्याइएको छ ।

संग्रहभित्रको अर्को कथा हो– पीडाका रङहरू । कलिलो र अपरिपक्व उमेरमा विवाह गरेर जीवनभर पछुताएका नारीहरूको पीडालाई कथाको मुख्य विषय बनाइएको छ । अशिक्षाका कारण आजीवन अरुकै शरणमा बाँच्नुपर्ने नियति र बालविवाहको कारण नारकीय बन्दै गएको समयलाई कथामा सरल तर रोचक तरिकाले प्रस्तुत गरिएको छ ।

अरुकै भरमा बाँच्नुपर्ने जिन्दगी कसरी पखेटा काटिएको चराजस्तै हुन्छ भन्ने कुरा प्रस्तुत कथामा देखाइएको छ– ‘के भन्ने खै, पखेटा काटेको चराजस्तै भएँ । पढाइ पूरा गर्ने इच्छा हुँदाहुँदै पनि बुवा–आमाले कर गरेर बिहा गर्दिनु भो । आफ्नो इच्छाअनुसार चल्न नपाइँदोरहेछ, हामी धेरैजसो केटी मान्छेहरू आफ्नो विचारमा अडिग रहन नसक्ने निरीह रहेछौँ । त्यसको परिणाम पनि निरीह बनेर जिन्दगी जाने हो कि भन्ने लागिरहेछ ।’

सबै कथाभित्र सरल भाषाशैलीको प्रयोग गरिएको कारण हरेक कथा पढ्दा सलल बगेको अनुभूति हुन्छ । ग्रामीण जीवका अनेक दुःख, अभाव, अशिक्षा र त्यसको कारण मानिसको चिन्तनमा देखिएको असरलाई कथाभित्र कहीँ न कहीँ देखाउने प्रयास गरिएको छ । संग्रहभित्र रहेको छोटो तर निकै धारिलो कथा हो– शंका । शंकाले धरापमा धकेलेको जीवन शंका निवारण भएपछि कसरी रंगीन र स्वर्णीम बन्न पुग्छ भन्ने कुरा देखाइएको छ । विवाह पूर्वको प्रेमले विवाह पश्चातको नयाँ जीवनमा प्रवेश पायो भने सिङ्गो जीवन तहसनहस हुन सक्छ भन्ने कुरा यस कथामा देखाइएको छ ।

गुरूप्रसाद मैनालीकै बाटोलाई अनुसरण गरेकी कथाकार अधिकारीको विशेषता हो, ग्रामीण समाज र वर्तमान समयलाई आफ्ना कथामा उतार्नु । दुई सय तीन पेजभित्र समेटिएका यिनका सबै कथाहरू छोटा र सरल छन् । गाउँको कथालाई गाउँकै भाषाको प्रयोग गरेर गाउँकै चित्र उतार्ने कथाकार पनि हुन् यिनी । समाजमा मसिना समस्यामा अल्झिएका र त्यही समस्याले जीवन जटिल बन्दै गएको भूइँमान्छेहरूको कथा पनि हो– निर्णय ।

गाउँमै हुर्केकी र वर्षौंसम्म गाउँलाई भोगेर जीवनको मध्यान्तरमा सहर पसेकी कथाकार हुन् अधिकारी । यसकारण पनि यिनले गाउँ र सहर दुबैलाई छामेर कथा लेख्न भ्याएकी छिन् । गाउँको सजीव चित्रणसँगै यिनका कथामा सहरको छाप प्रशस्त भेट्न सकिन्छ ।

कथासंग्रहको शीर्षक कथा ‘निर्णय’ले पछिल्लो समय बढ्दै गएको लिभिङ टुगेदरको संस्कारलाई देखाएको छ । घरको चार दिवारभित्र बाँधिएकी युवतीले बाहिरी संसारमा पुगेपछि आफूलाई हेर्ने दृष्टिकोण कसरी अलग हुन्छ ? केही नबुझ्दा र जीवनको अर्थ बुझेपछि हिँड्ने बाटो पनि कसरी फरक हुन पुग्छ ? खुसी खोज्ने आफैभित्र हो न कि अरू रमाएको भीडमा । त्यस्तै एउटै निर्णयले कसरी जीवन बदलिन्छ भन्ने कुरा प्रस्तुत कथामा देखाइएको छ । वर्तमान समयमा लिभिङ टुगेदरको संस्कारलाई सामान्य रुपमा लिए पनि परदेश पुगेर नवविवाहित पत्नी समेत बिर्सने पुरूषप्रति कथाकारले विद्रोहको आवाज उठाएकी छिन्– ‘…..पवनले थाहै नदिई यत्रो घात गर्न सक्छ भने मैले उसको विरूद्धमा केही गर्न हुन्न भनेर त कतै लेखिएको छैन । यो कुसंस्कारले जकडिएको समाजले महिलालाई दबाएर राख्ने गर्दा आफ्ना इच्छा, चाहना र खुसीलाई अँगाल्ने बाटो अपनाउन नसकेको त हो …..।’

अन्तत : ‘निर्णय’ कथासंग्रहभित्रका कथा तुलनात्मक रुपमा छोटा र सरल देखिन्छन् । समाजका हरेक विषयलाई छामेर कथा लेख्न खप्पिस देखिन्छिन् कथाकार अधिकारी । प्रत्यक्ष आफैले भोगेको भान हुने गरी कथा लेख्न सक्नु कथाकारको सफलता हो । चाहे प्रेमको विषय होस् या त पारिवारिक कलहको सन्दर्भ, सामाजिक विभेदको पर्खाल होस् या त कुप्रथाको रूपमा रहेको दाइजो संस्कार हरेक विषयलाई कथामा उत्तिकै महत्व दिएको पाइन्छ ।

प्रेमको अभावमा लय टुट्दै गएका मनहरू, अहमको पर्खाल चढेर आफ्नै जमिनबाट भासिँदै गएको मान्छे र स्वार्थमा गाँसिएको पारिवारिक सम्बन्ध कति भयानक हुन्छ भन्ने कुरालाई पनि कथाकारले रोचक रुपमा प्रस्तुत गरेकी छिन् । कति कथा पढ्दै जाँदा पाठकले स्वयम् आफ्नै पीडालाई कथामा भेटेको अनुभूति हुन्छ ।

छोटा मिठा र सरल कथाका बीचमा अंग्र्रेजी आगन्तुक शब्दको ज्यादा प्रयोग पो गरियो कि भने पनि देखिन्छ । कतिपय ठाउँमा कथाभित्र भन्नुपर्ने कुरालाई तत्काल नभन्दा त्यो विषय हराएको हो कि भन्ने पनि लाग्छ । र, कतिपय ठाउँमा कलाले ढाकछोप गरेर भन्नुपर्ने विषय सिधै र हतारमा पो भनियो कि भन्ने पनि भान हुन्छ गम्भीर पाठकलाई । यी केही कुरालाई हेर्ने हो भने युरेका पब्लिकेशनले बजारमा ल्याएको ‘निर्णय’ कथासंग्रह सरल भाषामा आजको समाज बोलेको कथाहरूको गुजुल्टो हो । आजको समाजका सूक्ष्म कुराहरूलाई बुझ्न यो सबैले एक पटक पढ्नुपर्ने पुस्तक पनि हो । कथाकारबाट यथाशीघ्र अर्को अझ गहन कथासंग्रह या उपन्यासको अपेक्षा गर्दै प्रस्तुत निर्णय कथासंग्रहको सफलताको हार्दिक शुभकामना पनि ।