देउडा र जूनको जुहारीमा फाट्दै गरेका रातहरु संस्कारको झीरमा उनिएका रंगहरु गाढा छन् अझै अनकन्टार प्रदेशमा ।

दामोदर पुडासैनी ‘किशोर’
२९ कार्तिक २०७७, शनिबार ११:३२

तुइनको मध्य भागमा पुगेपछि प्राण पखेरु उड्ने पक्का भयो । तुइनमा झुण्ड्याइएको फलामको पेरुङ्गोमा राजन रावत, म र हुम्लाका एक पत्रकार बसेका थियौं । त्यो पेरुङ्गोलाई वारि ल्याउन परे वारिको मान्छेले, पारि लान परे पारिको मान्छेले तान्नु पर्ने रहेछ । बस्ने मान्छेले पनि तुइनमा समातेर पेरुङ्गो ठेल्नु पर्ने रहेछ ।

‘लौ डुबेर मरिने भयो सर । चारमध्ये तीन बोल्टु खसिसकेछन् । चौथो पनि आधा खुस्किसकेछ । बाँकी भाग खुस्केपछि पेरुङ्गोसहित ढुंगाझैँ खस्ने भयौं हामी कर्णालीमा’ — कालोनीलो बन्नुभयो राजनजी ।

‘तुइनबाट खस्न लाग्यौं’— तीनै जना चिच्यायौं । वारिपारिका साथीहरुले गर्न सक्ने केही थिएन ।

तीन भाइले हातले ठोकिरह्यौं हुकलाई । छिप्रापट्टिका मित्रहरुले तानिरहनुभयो छिटो–छिटो ।

‘आखिर, ज्यान कर्णालीलाई सुम्पनु पर्ने भो’— सोचेँ । पारुलाई सम्झिएँ । छोराछोरीलाई सम्झिएँ । आमाहरु र दाइभाउज्यूलाई सम्झिएँ । कर्णालीले लगेको खबरमात्र पाउने भए सबैजनाले । जिन्दगीको नियतिमाथि टिठ लाग्यो । मृत्युले कुपुकुपु चपाउन थाल्योजस्तो लाग्यो नजिक आएर । उ त्यही तुइनमा हामीसँगै चढेको रहेछ जस्तो लाग्यो ।

मृत्युलाई भेटेपछि जिन्दगीको अन्तिम क्षण पनि सकिन्छ ।

मृत्युलाई काँधमा बोकेर तुुइन तर्दैछौं हामी ।

बरबरी आँसु झरे दुई मित्रका आँखाबाट । शून्य शून्य बन्न थाल्यो मेरो दिमाग ।

ब्वाङ्ग पेरुङ्गो झरेपछि पो देखियो संसार । तै छिप्रापट्टिको किनारमा पुगेपछि पेरुङ्गो खस्यो । एक सेकेण्ड अघि खसेको भए कर्णालीमा हेलिनुबाहेक उपाय थिएन अरु कुनै ।

मृत्युको सन्निकटले सनसनी फैलायो दिमागमा । मृृत्युले छोडेको पक्का भएपछि जीवनका कण कणमा ढाक्यो झलमल्ल खुशी । मृत्यु अनिश्चियी छ र पो आनन्द छ जीवनमा । मृत्युका मिहिन गीतहरु अनुभूत गरिरहुञ्जेल गति र खुशीको सञ्चार भइरहन्छ जीवनमा ।

जीवनको अघिल्तिर मृत्यु हारेको खुशियालीमा उत्तानो परेर चौरमा पल्टियौं तीनैजना । साथीहरुले धेरै लामो श्वास फेरे ।
खार्पुनाथ र छिप्रा जोड्न पहिले पक्की पुल बनाइएको रहेछ कर्णालीमाथि । जनयुद्ध सञ्चालन गर्ने क्रममा नष्ट पारिएको रहेछ तीन वर्ष अघि । जनयुद्धको नाममा विकट ठाउँको पु्ल उडाएपछि सुविधा के पाउँन् बिचरा जनताहरुले ।

गन्तव्य छिप्रा छ । उद्देश्य अनन्तेपूर्णिमामा लाग्ने मेला हेर्ने छ ।

‘हजुर, जसरी पनि जानुपर्छ अनन्तेपूर्णिमाको मेला हेर्न छिप्रामा । यो हुम्लीहरुको सबैभन्दा ठूलो चाड हो, हुम्लाको संस्कृति बुझ्ने यो राम्रो अवसर पनि हो’— डीएसपी मणिजंग हमाल दम्पत्तीले निम्ता गर्नु भएथ्यो पाँच दिन अघिनै । देश परदेश पुग्नेहरु पनि खुशी साटासाट गर्न फर्कने रहेछन् अनन्तेपूर्णिमामा । त्यही जात्रामा भाग लिन काठमाडौंदेखि पुग्नु भएको रहेछ मणिजीहरु पनि । उहाँहरुको घर छिप्रामै भएकोले त्यो जात्रा हेर्ने राम्रो अवसर थियो मेरो लागि । संस्कृतिमै त लुकेको हुन्छ मान्छेको जीवन दर्शन र जीवनस्तरको दर्पण ।

कर्णाली नदी तरेपछि अर्कोपट्टि उकालो चढ्नु पर्ने रहेछ छिप्रा जानका लागि । बिहान ९ बजेनै सिमकोटबाट ओरालो झरेका हामीहरु साँझ ५ बजेतिर उकालो चढिरहेछौं । बायाँतिर खार्पुनाथ मन्दिर देखिइरहेछ कर्णाली किनारमा । खार्पुनाथ अघिल्तर उत्तरतिरबाट झरेको दोज्याम खोला मिसिइरहेछ । दोज्याम खोला आफैँ विशाल देखिन्छ । विशाल कर्णालीमा मिलेपछि उहाँहरुको घर छिप्रानै पर्ने भएकोले त्यो जात्रा हेर्ने राम्रो अवसर थियो मेरो लागि । संस्कृतिमै त लुकेको हुन्छ मान्छेको जीवन दर्शन र जीवनस्तरको दर्पण

कर्णाली नदी छोडेर डेढघण्टा उकालो चढेपछि भीरको स्यानो थाप्लोमा भेटियो गाउँलेहरुको भीड । हुम्ला पुगेपछि पहिलोपटक एकै ठाउँमा त्यति ठूलो भीड देखेको थिएँ मैले । डाँडाफैया, बुराउँसे, दार्मा, ठेहे, श्रीनगरदेखिका मान्छेहरु भेला भएका रहेछन् त्यहाँ । भीरमै टाँसिएको रहेछ लोहासुर मन्दिर । मन्दिर वरिपरि लछप्पै थियो रगत । बली दिएका बोकाहरु भने ओसारिसकेका रहेछन् मन्दिरबाट ।

मन्दिर अघिल्तिर ठूलो–ठूलो स्वरमा झगडा चर्किरहेको छ । जात्रालुहरु डाँडा–डाँडाबाट झगडा हेरिरहेछन् । दलित र गैरदलित बीचको झगडा रहेछ त्यो । भाद्र पूर्णिमाको दिनमा पर्ने अनन्तेपूर्णेमा दलितहरुले बाजा बजाउने परम्परा चल्दै आएको रहेछ । अब आइन्दा हामी बाजा बजाउन सक्तैनांै भन्ने दलितहरुले अडिग लिएपछि दिउँसैदेखि मारामार चलेको रहेछ ।

जात्राको सुरुमै झगडामा परियो— संस्कृतिको जुठेनले छातीमा उब्जायो समवेदना ।

नेपालमा जात्रामा प्रायः झगडा सबैै ठाउँमा पर्छ । प्रायः सुरपानी पिएर जात्रामा जाने भएकाले पनि झगडा पर्नु स्वाभाविक हो । लोहासुर मन्दिरबाटै सुरु हुने रहेछ छिप्रा गाउँ । त्यहीँ भेटिनुभयो मणिजंग हमाल र भाउज्यू । मसँगै सिमकोटबाट गएका जंग रोकाया, राजन रावत, कृष्णा रोकाया, विशाल बोहरा, दानसिंह रावलहरु र मणिजीले गाउँलेहरुलाई भेला गराउनुभयो । ‘अरुनै दिन छलफल गरौँला । जात्राको दिन झगडा गरेर टाढा–टाढादेखिका पाहुनाहरुलाई खल्लो नपारौं’ भनेपछि सबैको चित्त बुझ्यो । दमाहा, ट्याम्को, सहनाई, ढोलक, झ्याली घन्कन थाले । धामीहरु नाच्न र काम्न थाले । त्यो जात्रामा धामी नाचले प्रधानता पाउँदो रहेछ । धामीहरुले माथि सेतो भोटो र बख्खु, तल सेतै पोटिकोट जस्तो कपडा पहिरिदारहेछन् । सबैै धामीहरुले सयपत्री फूलको माला पहिरेका छन् । उनीहरुको टुपी तीन–चार हातसम्म लामो हुने रहेछ । त्यसलाई तारले बानेर महादेवको जटाझैं बेर्ने चलन रहेछ । भेषभूषा, हाउभाउ र चर्तिकलाहरुले समाजका अरु सदस्यभन्दा बेग्लै र विशेष देखिदैछन् ।

सामान्य भन्दा फरक नदेखिएपछि कहाँ पर्छ र अरुको नजर ?

साँझ पर्न लागिसकेको छ । पाँच जना धामीलाई ब्यथा देखाउनेहरुको धुइरो चलिरहेछ । भेदेको र बोक्सी लागेको कारणले जहान परिवारको स्वस्थ्य बिग्रिएको, पाल्तुपशु र खेतिपाती राम्रो नभएको गुनासो धामीसमक्ष पोख्नेहरु खचाखच छन् । धामीसँग न्याय माग्दा र ज्यानको स्वस्थताको कामना गर्दा मान्छेहरु प्रायः मुखमा घाँस च्यापेर पशुवत अज्ञानी भएको शैलीमा प्रस्तुत हुँदा रहेछन् । धामीले चामल र फूल छरेर देवता बक्ने रहेछन् र काम्दै सबैै समस्या दूर गराइदिने बचन दिँदारहेछन् । धामीहरु हुम्लाका विभिन्न मन्दिरको प्रतिनिधित्व गरेर त्यहाँ भेला हुने रहेछन् । उनीहरु देवताका साक्षात् रुप हुन भन्ने विश्वास रहेछ हुम्लीहरुमा ।

मरन्च्यासे, जीउभरी मैलका कान्ला र पाटाले घेरिएका र सुल्फाको सुरमा सन्कने बानी हुँदो रहेछ देवताहरुको । मान्छेले आफूजस्तै बनाउने त हो नि देवता पनि । देवता पनि त्यही समाजकै रीतिथितिमा ल्याइरहने त हो तरंग । म देवता भनिएकाहरुको जीर्णता देखेर चकित परें । ‘तपाईंमा साँच्चै देवताको अंश छ त ?’— मैले प्रश्न गर्दा प्रश्नको ओइरो लाग्ने आशंका पलायो एक धामीमा । यो छलफल गर्ने विषय होइन भनेर टारे । मसँग छलफल गर्ने इच्छानै देखाएनन् उनीहरुले । धर्माधिकारीहरु तर्कको सामु पर्न कमै चाहन्छन् ।

अलि तल्लापट्टि चौडिलोमा पाँच युवती र ११ युवा देउडा नाचिरहेका रहेछन् । महिला र पुरुषहरु गोल परेर देउडामा जीवनका सुख दुःखहरु, घर परिवार, माइत मावलका होची अर्घेलीहरु, अभावका ऋंखलाहरु, माया–प्रेमका उत्तार–चढावहरु, विदेशिनु पर्नाको पीडा, गोठालो जाँदा र घरखेत गर्दाको अप्ठेरोहरुलाई गीतको माध्यमबाट व्यक्त गरिरहेछन् । देउडा नाच्ने र जात्रामा जाने प्रायः सबैै महिलाहरुले टाउकोमा टोप (निधारमाथि कपालमा लगाउने सुनफूल), घाँटीमा जाल, छातीमा कम्पनी माला पहिरेका छन् । प्रायः सबैैले ऊनी बर्को ओडेका छन् । मखमली चोलो र पेटिकोट जस्तो फरिया (जसलाई ‘दौडा’ वा ‘आङ्गो’ भनिदो रहेछ) पहिरेका महिलाहरुको अनुहारमा खुशीको चमक छ । खुट्टामा प्रायः स्पोर्ट सुज छ । पुरुषहरुले कमिज, सुरुवाल र ज्याकेट लगाएका छन् । कतिपय मान्छेहरु नाम मात्रको कपडा पहिरेर उपस्थित भएका छन् ।

‘केही जात्रालु सम्पन्न जस्तै लाग्छ हगि ?’—मैले स्थानीय शिक्षक समक्ष खसखस राखें ।
‘यो त यिनीहरुको जिन्दगीभरिको एकजोर कपडा हो सर, पटक पटक फेर्न कहाँ सक्तछन् र यिनीहरुले’— भित्र अभाव भएपनि अरुको अघिल्तिर सम्पन्नता देखाउनै पर्ने नेपाली प्रवृत्तिको हावी रहेछ त्यहाँ पनि ।

साँझ घर्किदैं गएपछि जात्रालु धुइरोपनि छिप्रा गाउँमा पस्यो । ३०–३५ घरहरु पुटुक्क उमे्रका कन्ने च्याउ जसरी जोडिएर बसिरहेका रहेछन् छिप्रामा । पीडा र दुःखका कोलाज देखिन्छन् गाउँका सबै घरहरु । नाम मात्रका छन् घर । ठण्डीको साम्राज्य निर्वाध चलिरहेछ चोटा कोठामा । रित्ता चोटा, कोठाहरु गाँस र कपासको आह्वान गरिरहेछन् । घर त बिलौना संझने चौतारो बनेको छ । ब्यथा खोस्रने खोरिया भएको छ । घरमा हुम्ली शैली हुनेनै भयो । तीन खण्डका छन् घरहरु । सबैभन्दा तल्लो खण्डमा गाईवस्तुका लागि गोठ, बीच खण्डमा भात भान्सा र परिवारका सदस्यहरुको ओछ्यान । माथिल्लो खण्ड पाँडमा पाहुना राख्ने दुई तीन कोठाहरु र अघिल्तिर माटो बिछ्याएको समथर छाना । जोडिएका घरहरु भएकोले गाउँलेहरुको लागि छानानै बाटो हुने रहेछ । आँगनभरि भेडा पाल्ने र बलेसीमै मान्छेले दिसा गर्ने चलन सामान्य मानिदो रहेछ ।

कुुटुक्क काट्यो पेट ।

‘यहाँ दिसा गर्ने ट्वाइलेट छैन ?’— जात्रामा निकै चल्ता पुर्जा देखिएका एक युवकसँग सोधेँ ।

उनी एकछिन अक्कबक्क परे । ‘ए पाइखाना हो ? गाउँमा एउटा त छ तर अलि पर छ’— उनले भने ।

‘लौ न जाउँ’— बच्चा जसरी खुरुन्धान गरे मैले । उनी अघि अघि म पछि–पछि । गाउँको माझमा एउटा ट्वाइलेट रहेछ, कुनै गैरसरकारी संस्थाले निर्माण गरिदिएको । ट्वाइलेटमा ढोका रहेनछ । गारोमा टाँसेर प्यान राखिएकोले बसेर दिसा गर्न नमिल्ने । ट्वाइलेट भरिएको रहेछ दाउराको खलियोले । ट्वाइलेट वरिपरि दिसा पिसाव, त्यसमाथि हरिया झिंगाहरुको भुनभुनले १५ कदम वरैबाट सिकसिकोले जीउ चिलाउन थाल्दो रहेछ ।

‘यस्तोमा त कसरी दिसा गर्नु नि’— मैले बोलें ।

‘भएको यस्तै हो सर, यहाँ भन्दा त पाखामा जानु नि’—उनले भने ।

‘लौ ट्वाइलेट नभै दिसा नगर्ने हो भने डुबिने रहेछ भाउँटोमा’—सोच्दै अलि पर्तिर गएँ र रुखको छेकोमा हल्का भएँ ।

छिप्रा गाउँमा बाहुन, क्षेत्रीहरुको बाहुल्यता रहेछ । पहाडनै पहाडको काखमा रहेकोले अदभूत शान्ति छ । तलतिर उत्तरबाट दक्षिणतिर अनवरत बरिरहेको कर्णालीको सुसाइले फिजाइरहेछ नूपुर ध्वनी ।

गाउँको सबैैभन्दा ठूलो घरको छानामा एकातिर धामीहरु जोखना हेरिरहेछन्, अर्कोतिर देउडा चलिरहेछ । धामीहरु बेरिएको टुपीमाथि एउटा कपडा बेरेका छन्, जसलाई मथेरो भनिदो रहेछ । हात हातमा घण्ट र त्रिशुल छ उनीहरुको । बाजा बजिरहेछ । धामीहरु नाचिरहेछन् । कोही धामीहरु जोखना हेरेर मान्छेको भविष्य बताउँदैछन् ।

एउटी झण्डै ३० वर्षकी महिला क्वाँ–क्वाँ रुन थालिन् । उनका आफन्तहरुले सम्झाउन थाले ‘पीर नगर’ भनेर । उनको लोग्ने कामको सिलसिलामा विगत तीन वर्षदेखि मुम्बईमा गएको रहेछ । धामीले हात हेरे । ‘तिम्रो लोग्नेले दुई वर्ष अघि अर्की पत्नी ल्याइसके अब फर्कन्नन्’ भने । कोकोहालो हालेर रोइन् तिनी । उनका आफन्तले धामीलाई पुकारे । अक्षता पैसा चढाए । युवतीले मुखभरी घाँसको मुठो च्यापिन् । चार हात खुट्टा टेकिन् र बोलिन् —‘म जनावर जत्तिकै अज्ञानी हुँ । मलाई केही थाहा छैन । जसरी हुन्छ मेरी सौतालाई भगाइदेऊ ।’ धामी कामेर चार हात माथि उफ्रिए । उनको टुपी फुकेर आइमाईको जस्तै फिंजारियो । उनले अनेकौं मन्त्र फलाके । अनेकौं तन्त्र गरेझैं गरे । त्यसपछि घोषणा गरे —‘मेरो मन्त्रको प्रभावले यो आइमाईको सौताले आजै लोग्ने छोडेर हिँड्छे, अब कोही पनि यिनको सौता बनेर आउन सक्तैन ।’ परर्र ताली बज्यो । सबैैमा खुशी छायो । धामीको जय—जयकार गरियो । केहीबेरपछि मुम्बईमै बस्ने अर्का युवक गाउँ आइपुगेछन् । उनी त्यही जात्रामा उपस्थित भए । सबैैले ती महिलाको लोग्नेले सौता ल्याएको कुरा सोधखोज गरे । ‘हामी एकै घरमा बस्छौं, उनले कुनै स्वास्नी भित्र्याएका छैनन् । यो बकवास मात्र हो ।’—उनले भने । गाउँलेहरुले उनको भन्दा धामीकै बढी विश्वास गरे । सबैको मुखबाट निस्कियो—‘धन्न देवलदेवीले धामीलाई देखाइहालिछन् र मात्र, नत्र अर्की सौता बेहोर्न पथ्र्यो बिचरीले ।’

नाटकको एक ऋंखला प्रस्तुत गर्ने, कुनै ब्यवधान देखापर्ने स्थितिमा तुरुन्तै अर्को ऋंखला सिर्जना गरेर अघिल्लो ब्यवधान दैवी शक्तिले हटाइदिएको घोषणा गर्ने गज्जबको रीत हुँदो रहेछ धामीहरुको । बिचरा सोझा मनुवाहरु त्यो सब देवता खुशी हुनु र नहुनुको खेल हो भन्ने विश्वासमा बज्रलेप भइरहेछन् । छाना–छानामा उभिएर नाचगान र धामीको चर्तिकला हेर्नेहरुमा हँसिमजाक चलिरहेछ । गाउँका भद्र भलाद्मी भन्नेहरुलाई राडीमाथि राखिएको छ । गाउँलेहरुको अनुहारमा देखिन्छ भित्रैदेखिको निखार खुशी ।

‘तम हो नेपालबाट आया ?’ एउटी बूढी आमैले च्याप्पै हात समातेर सेता अक्षताको टिका र धूपीको प्रसाद लगाइदिनु भयो । मैले आमा सम्झिएँ र ढोगिदिएँ । अझैसम्म काठमाडौंलाई नेपाल भन्ने चलन रहेछ । नेपालबाट एउटा मान्छे आउँदैछन् भन्ने हल्ला चलेको रहेछ । त्यसपछि त मलाई घेर्ने र हेर्नेहरुको धुइरोनै चल्यो । बूढा–बूढी, तरुना–तरुनी, बच्चा–बच्ची सबैका आँखा मैमाथि खनिएका छन् । मानौ कुनै अर्कै ग्रहबाट आएको प्राणी हुँ म ।

क्यामेरा झिकेर तस्बिर खिच्न के थालेको थिएँ जात्रालु सबैैले घेर्न थाले मलाई ।

‘उ फोटो खिच्न थाल्या छन्’— हल्लाखल्ला हुन थाल्यो ।

क्यामेराको लेन्सबाट छिर्न तँछाडमछाड भयो । खिचिएको तस्बिर स्क्रिनमा देखाइदिएपछि त झन् तस्बिर खिचाउने र हेर्नेको ठेलमेल भयो । कोही दिदी बहिनीहरुले पूजा गरे क्यामेरालाई, फूल अक्षता चढाए, लेन्समा फोहर पर्ला कि भन्ने डरले आत्तिएँ म । दुई धामीहरु पटुर्नै (काम्नै) छोडेर तस्बिर खिचाइमागे ।

‘महाभारतकालमा युद्धका तस्बिरहरु हेर्दै धृतराष्ट्रलाई बताउँदै गरिएको थियो अचेल यहीा आइपुग्यो यो चलन’— एक धामीले गाउँलेहरुलाई बताए ।

‘यो देवतालेनै बनाएका हुन्, धेरै धर्मात्माले मात्र यस्तो भाँडो पाउँछ’— उनी ब्याख्या पो गर्न थाले ।

‘यो देवता होइन मान्छेले बनाएको हो, यो पाउन भगवानको आशिर्वाद होइन पैसा भए पुग्छ’— मैले बताएँ ।

हुम्लालाई ढपक्कै ढाक्यो जूनले । जूनको उज्यालोमा मुस्काइरहेछ छिप्रा गाउँ । पहाडहरुको फेदमा रहेकोले गाउँको वरिपरि बारी छ । बारीभरिका मकै, कोदो र सूर्यमुखीहरुको स्पन्दन चलिरहेछ जूनका किरणहरुमा मिसिएर । अघिल्तिर उभिएका डाँडाहरुले साँघुर्याएका छन् आकाशलाई । बिशाल कर्णालीको उच्छलनले मीठो सपना खोजिरहेछ । जूननै उच्छट्ट मातिएजस्तो लाग्छ कर्णालीमा डुबुल्किन पाउँदा । कर्णाली, हावा र देउडाको समवेत स्वरहरु बिस्तारै फैलिंदै गइरहेछन् अग्ला अग्ला डाँडाका चुचुराहरुसम्म ।

बादलले जूनलाई छेक्छ, जूनले बादललाई छेड्छ । बादलका केस्रा केस्रा टेकेर पनि धर्तीमा ओर्लन्छ जून । केस्रा केस्रा जोडिंदै आकाशमै छोपिदिन्छ जूनलाई बादलले । अँध्यारो र उज्यालोको जुहारी चलिरहेछ । देउडा र जूनको पनि जुहारी चलिरहेछ । उता जून र बादलले संसारको रीत दर्शाइरहेछन् । यता देउडाका गीत र नृत्यहरुमा जिन्दगीका सारा स्वरुपहरु प्रकट भइरहेछ ।

उन्मत्त ठण्डी अलमलिएको छ जून र देउडाको जुहारीमा ।

धामीहरुले धामी विद्याको महत्व बारेमा बोले ।

‘धामी देवताका दूत हुन्’— भने ।

‘धामी रिसाए भने देवता रिसाउँछन् र अनिष्ट हुन्छ संसारमा’— भने ।

‘घर घरमा मान्छे र पाल्तुपशु बिरामी हुनु, घरमा अभाव र अन्यौल बढ्नु, परदेशिएकालाई सञ्चो नहुनु, आँटेको नपुग्नु सबैै ‘देवता लागेर’ हुने हो । देवता खुशी पार्न धामी खुशी पार्नु पर्छ’— भने ।

सोझा जनताहरुले ती सबैै कुरा पत्याए । धामीलाई पूज्ने र ढोग्नेको तँछाडमछाड चल्यो । धामीको पाउ भेट्नु देवतानै भेट्नु हो भन्ने भ्रम बेस्सरी मौलायो, एमोनियम सल्फेट पाएको धानको गाँजजस्तो ।

पल्लोपट्टि पाँडमा हामी पाँच-छ जना बसेका थियौं । मैले देवता होइन प्रकृति ठूलो कुरा हो भन्ने अथ्र्याएँ । पौष्टिक खाना नपुगेर, फोहोर र खराब खानेकुरा खाएर र सरसफाई नपुगेर रोग लाग्छ । बाढी, पहिरो, भूईंचालो, चट्याङ सबै प्राकृतिक कुरा हुन् । हरेक कुराको कारण हुन्छ, दुःखलाई पनि प्रयासले निराकरण गर्न सकिन्छ । धामी पुज्दैमा, बोका कुखुरा काट्दैमा कहाँ हुन्छ र जीवनका समस्याको समाधान भन्ने अथ्र्याएँ । उपस्थित युवाहरुलाई मेरो कुरा ठीकै लाग्यो तर एकैपटक समाजको विश्वास परिवर्तन गर्न गाह्रो हुने राय थियो उनीहरुको । पुरै अन्धकारले ढाकेको हुम्लालाई चेतनाको चाँदनीले धेरै उज्यालोतिर उचालिसकेको भनाइ रह्यो भाइहरुको ।

दिउँसोको जात्रा सकिएपछि भेला भएका छौं हामी बबरजंग हमालको पाँडमा । हामी अर्थात् मणिजंग हमाल, बबरजंग हमाल र सिमकोटबाट गएका हाम्रो समूह । थाल–थालमा काँक्राका चिराहरु छन्, स्याउका दानाहरु चाङ लागेका छन्, पोलेको मकैका घोगाहरु छन् । लेकका अन्न र फलफूलका स्वादमा हिमाली स्वाद छ । जडिबुटीको जुस भन्दै अलिअलि सुरपानी सुक्र्याउँनु भएपछि अझ रंगिन बन्न थाल्यो साथीहरुको कुराकानी ।

‘अनन्ते पूर्णिमा महोत्सवै सुरु हुन लाग्यो । हजुरहरुलाई लिनआएका हामी’— महोत्सव आयोजक समितिका पाँच भाइहरुले अगुवाई गर्नुभयो हाम्रो ।

गाउँको माझमा हामी पुग्दा गाउँनै झपक्क ढाकिसेकेको रहेछ मान्छेको भीडले । कहाँ कहाँदेखि मात्र पुगे होलान् त्यतिधेरै मान्छे — अचम्भित बने म । काठका सत्तरीहरु जोडेर एउटा मञ्चपनि बनाइएको रहेछ ।

‘यो नेपाली शिर उचाली’—भन्ने गीत गाएर शुरु गरियो कार्यक्रम । जूनको उज्यालोमा छमछमी नाचे स्थानीय कलाकारहरु र उपस्थिति दर्शकहरु पनि । विद्युत र टेलिभिजननै कुन चराको नाम हो थाहा नपाएका गाउँलेहरु त्यस्तो गीत र नाचमा असाध्यै रमाएको देखियो । जगदिश रोकाया भाइले गाएको निम्न अनुसारको देउडा गीतमा त नाच्नेहरु जताततै देखिए ।
कठै भिनाजु
देउडा गीत गाउँन आयौ
कठै भिनाजु
सांस्कृतिक कार्यक्रम ल्यायौ
हजूरको मेलामा
कठै भिनाजु
माया प्रित लाउँ
अनन्ते मेलामा

कलाकारहरु प्रायः स्थानीय भेषभूषामा थिए । पुरुषहरुलेनै महिलाको भेषभूषामा नारीको भूमिका निर्वाह गरिरहेथे नाटकमा । नाटक मञ्चन भयो —‘बाबु तीन पटक मर्ने’ शीर्षकको । एउटा घरमूली घरका समस्याबाट मुक्त हुन नसकेर गरीबीले घेरेपछि एकपटक मर्छ । उ ऋण माग्न जान्छ साहूकहाँ, साहूले अनेक बचन लगाउँछ — दोश्रो पटक मर्छ । साहू ऋण उठाउन आउँछ । उसँग साहूलाई तिर्ने पैसा हुँदैन, अनि, मरेको अभिनय गरेर पिंढीमा पल्टन्छ र तेश्रो पटक मर्छ । साह्रै मार्मिक रुपमा अभिनय गरे कलाकारहरुले । नाटकले शोषणको बिरुद्ध उचालिन उद्घोष ग¥यो । दर्शकहरुले ताली दिइरहे गडगडाहट रुपमा । त्यसपछि नरेश हमालले गाएका –‘न सकिन्छ गरिखान, न सकिन्छ मरिजान’ बोलको गीत; चिसो पानीले, माया मा¥यो है बिर्सने बानीले’ बोलको राजबहादुर जेठारा र सुमित्रा कार्कीको गीत र नृत्य, पाण्डवी हमाल र सुमित्रा कार्कीले ‘टिकुली हो टिकुली’ बोलमा गरेको नृत्यले दर्शकलाई मनोरञ्जनको रसले लछप्पै भिजायो । अन्त्यमा ‘कुइरे’ नामको नाटक देखाइयो । बिकासे बड्डो नामको एउटा पात्र र एउटा विदेशी गोरेबीचको संवादले सबैलाई पेट मिचिमिचि हँसायो । एउटा अनकण्टार गाउँमा विदेशी पुग्दा भाषा आदान प्रदान गर्न गाह्रो हुनाले दुवै पक्षले खेप्न पर्ने हैरानी र अर्थको अनर्थ लाग्नाले आइपरेको समस्याहरुलाई रमाइलोपूर्वक प्रस्तुत गर्यो नाटकले । ‘आइ त वाच पङ्या’ भन्ने विकासे बडडेको थेगो त सबैैको मुखमा झुण्डिरह्यो । अनन्तेपूर्णिमा मेलामा प्रस्तुत गरेका सबै गीत, नृत्य र नाटकहरुबाट हुम्ला अझै आदिम कालबाट उठ्न सकेको छैन भन्ने देखियो । स्थानीय उत्साही कलाकारहरुले सांस्कृतिक कार्यक्रम त प्रस्तुत गरे तर वेषभूषा, मञ्च र उज्यालोको अभावमा उनीहरुले रहर मात्र प्रस्तुत गरेको देखिन्थ्यो । कलाकारहरु कलाको लागि भित्रैदेखि उत्साहित र अभिप्रेरित थिए तर उनीहरुको होस्टेमा हैंसे गरिदिने कोही देखिएन ।

अनन्ते पूूर्णिमा महोत्सबैको औपचारिक कार्यक्रम सकियो मध्य रातमा । अब अनौपचारिक कार्यक्रम शुरु भयो । मान्छेहरु विभाजन भए समूह समूहमा । देउडा नाच सुरु भयो । बाटामा, बारीका पाटामा, छानामा, भीरालो चौरमा — जतासुकै देउडा नाचगान शुरु भयो । समूह बनाउँदानै समूहभित्र नाता पर्न नहुने, आफ्नो बिहेवारी नचल्ने जातको हुन नहुने जस्ता कुराहरुको बिचार पुर्याइनेरहेछ ।

आधा पुरुष र आधा महिला भएर देउडामा सरिक हुने, देउडा नाच्दा नाच्दै माया बस्यो र घरजमनै हुने स्थिति आयो भने पनि फरक नपरोस् भनेर त्यस्तो बिचार गरिएको हो भन्नु भयो राजनजीले । देउडा नाच्दा नाच्दै घरजम भएकाहरु त धेरै हुँदारहेछन् ।

मणि, राजन, विशाल र जंगले मलाई पनि देउडा ननाची सुुखै दिनुभएन । मलाई देउडा नाच्न नआउने । उहाँहरुलेनै सिकाइदिनुभयो देउडाको नियम । दुईतिर एक अर्काको हात हात घुसारेर महिला पुरुष गोलो रुपमा उभिने, एकपटक पुरुष समूहले र अर्को पटक महिला समूहले गीत गाउँने । गीत गाउँदा सबैले एक कदम अगाडि र एक कदम पछाडि गर्दै पुरै गोलो घुमिरहने रहेछन् । सात बहिनीको समूहसँग हामी सात भाइको समूह जोडियो । नेपालेले पनि देउडा नाच्दै छन् भन्ने हल्ला चल्यो । कान्ला कान्लाबाट, भीर पाखाबाट, ढुंगा र रुखबाट हाम्र्रो देउडा हेर्नेको धुइरो चल्यो । मलाई त न देउडा शुरु गर्न आउँथ्यो, न नाचको चालमा चल्न आउँथ्यो । साथीहरुले जसोजसो गरे त्यसै गरिदिएँ । गीतको बोलीमा लोली मिलाइरहें ।

देउडामा बहिनीहरुले भने —‘कुन भाग्यले हाम्रो भेट भयो । हामी त पहाडका चरी हौं, चलाखी, धुत्र्याईं आउँदैन । ढिंडो रोटीले पनि पेट भर्न पुग्दैन ।आङ ढाक्न सेउलासम्म पार्इंदैन । हजुरहरु टाढाबाट आउनुभएको छ । हामीसँग कर्णालीको पानी र अपी हिमालको हिउँ जस्तो शुद्ध माया छ त्यही दिन्छौं । हामी राजधानीभन्दा टाढा छौं ।राज्यले ठगेको छ । हाम्रो गहनामा कसैले ध्यान दिएको छैन । हाम्रो जाँगर र जोशलाई कसैले पत्याएको छैन । अब आफ्नै पौरखले उचाल्छौं आमालाई । आफ्नै बल बुताले सफा गर्छौं समाजको कालो, मैलो र अन्धकारलाई । हजुरहरुको माया बाहेक अरु केही चाहिंदैन ।’

हामीले जवाफ फर्कायौं —‘नभएर होइन नबुझेर गरीबी छ हुम्लामा । अब तिमी हामी मिलेर जडीबुटी खेती गरौंला । प्रकृति र कृतिलाई खुलाएर संसारका मान्छे तानौंला । तिम्रो माया पाएपछि हामी पनि केही न केही गर्न सक्छौं । आखिर यिनै हिमाल जसरी हिमालमै बसेर हाँस्नुपर्छ हामी सबैैले भोलि पनि ।’

गति छेक्नेहरुलाई पल्टा ख्वाउने कुरा भयो देउडामा । मान्छे र समाजका कुहिरो र रातलाई निमिट्यान्न पार्ने कुरा भयो । अब सिर्जनशील बन्नुपर्छ रातहरु । ढसमस्स परेर सबैैलाई अचेत पार्ने रातलाई च्यातचुत पार्ने कुरा भयो । अक्षरहरुको खेती गरेर, मान्छेलाई घोच्ने काँडाहरु भाँचभुँच पारेर र भीर पाखा र हिमालहरुलाई जाँगरले जुरुक्क उठाएर उज्यालोले सेक्ने सल्लाह भयो देउडामा ।

गाउँनै ढाक्नेगरि देउडा गाइरहेछन् । देउडाले गुञ्जिएको छ गाउँ । हेर्नेहरु बिस्कुन चखुवा चराजस्तै समूह समूह चाहारिरहेछन् । देउडा नाच्ने हेर्ने सबै मुग्ध छन् रमरमी बनेर । देउडामा डुबेपछि कसैलाई जाडोले छुन सकेको छैन, कसैलाई भोक, प्यास, थकाई र निद्राले छोएको छैन । रातको तीन बजेसम्म दनदनाउँदो बनिरहेछ देउडा । देउडामा ढोल र झ्याम्टाको तालमा समूहमा नाचिरहेका राई लिम्बुहरुको धाननाचको स्वाद मिसिइरहेछ, लठ्ठी लठ्ठी जुधाउँदै घुमिरहेका थारु नाचको आभास उर्लिरहेछ, टप्पा नाचको छनक पनि मिसिएकोछ, भोजपुरी नाचको झल्को पनि झनझनाइरहेछ ।

देउडाका हरेक केस्रा केस्रामा विश्वकै धेरै नाचगानको इन्द्रेणी सुहाउँदो रहेछ । देउडा नाच्दा कहिले महिलाले कहिले पुरुषले अगुवाई ग¥यौ, त्यहाँ ट्याङ्गो नाचको रस भेटें मैले । कहिले सुनसान पहाडहरुसँग काँध जोडेर जीवनगीत गायौं, त्यहाँ वाल्त्ज नाचको रङ्ग भेटियो । कहिले नितम्बका चालहरु बिस्तारै हल्लाउँदै लयदार ढङ्गले सुन्दर पाइलाको स्पन्दन छोड्यौं, त्यसबेला रुम्बा नाचमा हराएँ म । कहिले शरीरको शक्ति र सुन्दरतालाई सन्तुलन ल्याउँदै प्रेमका सुरिला भाकाहरु फैलायौं, साम्बामा डुबिरहेको क्षणमा डुबें म । देउडा एक्लैमा के के नाच थिएनन् ? बेली, भाङ्ग्रा, जुम्बा र बी बोइङ, ब्रेक डान्सको रङ्गहरु पनि सुन्दर लहरहरुमा मिसिइरहेथे ।

देउडाले ब्युँताइरहेछ जीवनलाई, उचालिरहेछ जीवनका मर्महरुलाई र सिकाइरहेछ जिन्दगीका अप्ठेरा पहाडहरुमा सुन्दर मुस्कान छर्न ।

देउडा नाच्दा नाच्दै जूनको उज्यालोमा मैले एउटा कविता रचें र सुनाएँ । साथीहरुको समर्थनले जून जस्तै बन्यो अनुहार ।

‘पहाडहरुले
देउडा गाउँदै ब्युँझिरहेको बेला
जूनले पनि पहाड बनेर
टुलुटुलु हेर्यो मान्छेको अनुहार

एकाबिहानै
धूँवा ओकल्दै ब्युँझिए वस्तीहरु
सिलिँमिलिँ चल्न थाले
पहाडका पटुकीहरु
देउडाको थकाई नमर्दै
कर्णालीसँग सुसाउँदै
अनवरत उचालियो
मान्छेको पदचाप

पहाडका पहाडहरु
देउडा नाच्न थालेपछि
पहाड आफै
गजधम्म उभिएर
नाच्न थाल्दो रहेछ जूनसँग
र, देउडामा साटिएको
मायाको स्पर्श च्यापेर
मायाको बखानमा नथाक्ने प्रण गर्दै
न हतार न फूर्सदको समयमा
बगिरहँदो रहेछ कर्णाली

गीत खोतल्न
किन चाहियो र घाम
आफैं गीत बनेर उभियो जून रातमा

माया भयो भने
ढुङ्गाहरु आफैं बगाउँछन् शीलाजित

यसबेला तिमी छैनौ
म, छु
तैपनि अनेकौं डाँडाकाँडा नाघेर
गुञ्जिरहेछ हाम्रो गीत
नदी, पहाड र आकाशका
बिलकुल नयाँ आकृतिहरुमा


छिप्रामा चम्केको देउडा नाच हेर्दा इष्र्यियो जून । द्रविभूत बन्दै ओर्लियो उ पनि छिप्रामा । ‘गाढैसरि आयो नि छडा , साही जाऊँ घरैमा’— तीनवटी बहिनीले ताने मलाई माथितिर । मान्छेहरु ओत लाग्न हुत्तिए । देउडा भङ्ग भयो । देबलदेवी, सत्यदेवी र बिन्दूदेबी रहेछ ती बहिनीहरुको नाम । बहिनीहरु घर फर्कन आँटे । देउडा खेल्दा अलिअलि माया साटिइसकेछ । नमिठो उदायो बिदाइ । ‘उनीहरु नफर्के हुन्थ्यो घर’— मनले भन्यो ।

‘कति टाढा छ घर ?’— मैले सोधें ।

‘एक छकाल लाग्छ ।’ — उनीहरु बोले ।

स्नेह पोखियो एक बहिनीको । पेटमा पाप छैन कसैको । बिहान भेट्ने बाचाकासाथ छुट्टियौं हामी ।

आँखाको बिष मार्न मणिजीको पाँडमा पुग्दा गाउँ भरिका पाँच कुखुरा बासे लहरै । घडीले बिहान ३ बजेको चित्र बनाइसकेको रहेछ ।

नाच, गान र बजान केही नहुने हो भने जीवनजत्तिको निरस अरु के पो हुन्थ्यो र ?

देउडा र जूनको जुहारीमा प्रकट भयो — हुम्लाले बन्धनबाट उन्मुक्त खोजेको कुरा ।

रामरमिताको रंगभित्र पस्न सक्तारहेनछन् रोग, भोक र शोकका रेखाहरु ।

छिप्रा, हुम्ला
२०६५ भाद्र २९ गते