‘विकास र समृद्धि’ रामशरण देउजा

लेखाजोखा न्युज
२९ कार्तिक २०७७, शनिबार ०८:२७

आज असार २३ गते । २१ गते बल्लतल्ल पुलको फाइनल बिल भुक्तानी पाइयो, २५ गते माननीय मन्त्रीज्यूबाट उद्घाटन हुँदैछ । थप ४–५ दिन अझै यतैको बसाइँ हुने भयो । तिरो तारन, केही हिसाब–किताब, समानहरुको थान्कोपान्को पनि बाँकी छ । फेरि यति दुःख–कष्ट गरेर २० औं लाख घाटै सहेर सम्पन्न गरेको पुल । केही दिनभित्रै उद्घाटन पनि त हुँदैछ, केही धन्यवादका शब्दहरु पनि सुन्न पाइएला । दुई वर्ष बसिएको ठाउँ अरु ४–५ दिन कै कुरा त रह्यो । फेरि मन्त्रीज्यू पनि हल्का चिनजान कै आफूले चुनावमा सहयोग गरेकै मान्छे । उद्घाटन सकेरै जाने निधो गर्यो उसले ।

आज असर २५ गते माननीय मन्त्रीज्यू चढेको हेलिकोप्टर आइपुग्यो । तामझामका साथ रिबन काटेर उद्घाट सम्पन्न भयो । भव्य समारोहमा मन्त्रीज्यूले सम्बोधन गर्नु भयो, “म र मेरो पार्टीको सोचका कारण, बजेटको ब्यवस्था गर्न सकेका कारण आज यो पुल निर्माण कार्य सम्पन्न भएको छ । यो पुल गुणस्तरीय र उपयुक्त पनि छ । यसबाट यहाँका जनतालाई केही सुबिस्ता पनि मिलेको छ । अब यो ठाउँको विकासलाई कसैले रोक्न सक्दैन । प्रतिपक्षको असहयोग रहँदारहँदै पनि हामीले आज यो कार्य सम्भव बनाएका छौं । हाम्रै प्रयासमा समय मै निर्माण सम्पन्न भएको छ ।”

उपस्थिति सबैले जोरदारले ताली पिट्दै मन्त्रीज्यू को मन्तव्यमा स्वीकारोक्ति जनाउँदै थिए । उ बबुरो पनि त्यही हुलको एकाछेउ पट्टि उभिएर तालीको रस्वादन गरिरहेको थियो । यति राम्रो भाषण ठोक्ने मन्त्रीज्यूबाट पक्कै धन्यवादका शब्दहरु पनि खर्चिनु हुने आशामा, तर त्यो योग्य काहाँ रहेछ र उ । ठूलो सेतो सिंगमरमरमा सुनौलो अक्षरले लेखिएको शिलापत्रमा ठूला अक्षरले मन्त्रीज्यूको नाम टाढैबाट प्रष्ट पढ्न सकिने नै थियो । अरु केही मसिना अक्षरहरु पनि थिए र घोप्टिएर पढ्न खोज्दै थियो उ । कहीँ यता पो छ कि धन्यवाद भन्दै तर हेलिकोप्टर उड्दाको आवाजले पो झसँग भयो ।

मन्त्रीज्यूसँग पक्कै भेट होला भन्ने आशा थियो उसलाई । पुल शिलान्यासमा आउँदा मन्त्रीज्यूले यो पुल निर्माण गर्ने निर्माण व्यवसायी को हो भनि खोजी गरेर भेटेको भएको कुरा उसले बिर्सिएको थिएन । साथै त्यतिबेला उहाँले आगामी चुनावका लागि केही सहयोग गर्नुहोला चुनाव पछि म मन्त्री हुनेछु, म मन्त्री भएँभने तपाईंहरुलाई नै सहज हुने त हो भन्दै २० लाख मन्त्रीज्यूकै पीएको हातमा हालिदिएको सम्झिदै थियो । बिचरा कार्यक्रम सम्पन्न भएर मन्त्रीज्यू त फर्की सक्नु भएको रहेछ । दिक्क मान्दै कोठातिर फर्कियो उ ।

आज असार २७ गते हिजो रातिदेखि परेको अविरल वर्षाका कारण देशभर जनधनको ठूलो क्षति पुगेको समाचार सँगै आफैंले बनाएको, आफ्नै अगाडि उद्घाटन भएको, तरेर घरतिर जानुपर्ने पुल पनि बगाएको सुन्यो उसले । स्थिति अवलोकन गर्न पुल भएको ठाउँ तर्फ निस्क्यो । स्थिति भयावह थियो । केही देखिएको थिएन । तर, अन्दाज गर्दा पुलको डेकमाथि झण्डै दुई मिटरको उचाईबाट पानी बगिरहेको थियो । झल्याँस्स दुई वर्ष अघिको कुरा सम्झियो उसले ।

यति धेरै ‘क्याच्मेन्ट एरिया’ भएको खोला अनि अन्यत्र त्यति धेरै फराकिलो ठाउँ भएकाले पानी थुन्ने ड्याम्प बनाए जस्तो यो ठाउँ पुल बनाउन उपयुक्त स्थान नभएको भनि कार्यालयलाई जानकारी गराएको कुरा । तर, कार्यालयको बाध्यता त्यही पारि मन्त्रीज्यू माननीय हुँदै खरिद गर्नु भएको पाँच–सात सय रोपनी जमिनको अघि कस्को के लाग्थ्यो र ती व्यर्थका कुरा । उसको नौ नाडी गल्यो, ओठ तालु सबै सुकेर आयो । के गर्ने, के नगर्ने निर्णय गर्न सक्दा–नसक्दै झण्डै बेहोसी अवस्थामा कार्यालयमा पुगिसकेको छ उ ।

अघि समाचारमा सुने झैँ मन्त्रीज्यू तत्काल हेलिकोप्टर चढेर निरीक्षणका लागि आइपुग्नु भएको रहेछ । उहाँ पनि अहिले यही कार्यालयमै हुनुहँुदो रहेछ । उहाँ प्रमुख तिर सोझिदै भन्नुहुँदै रहेछ, “यो पुल निर्माणमा कमजोरी भएका कारण बगेको छ । हाम्रो वर्षौंको मेहनत पानीमा बगेको छ । पारि गाउँ पर्यटनको नयाँ गन्तव्यको रुपमा विकास गर्न खर्च गरेको ५० औं करोड रुपैयाँ हाम्रो बर्बाद भयो । यो निर्माण गर्ने ठेकेदारको धरौटी रोक्का गर्ने, ग्यारेन्टी–स्यारेन्टी के–के दाबी गर्न मिल्छ दाबी गरि तत्काल पुनः निर्माण गर्न लगाउनु । गुणस्तरीय काम नगर्ने यस्तालाई तह लगाउनु पर्छ । विकास र समृद्धिको नाउँमा लुट मच्चाउने ? यही हो भ्रष्टाचार भनेको । विकास र समृद्धिको अभियानमा भ्रष्टाचार गर्नेलाई छोडनु हुँदैन ।”

दुई दिन अघिको उसको अपेक्षा अहिले पाएको यो पगरी उ डङ्ग्रङ् छानाबाट भुईमा झरे जस्तै भएर त्यहीँ लडेछ, कहिले नउठ्ने गरि ।

नोट : यो कथा सत्य घटनामा अधारित होइन । कसैसँग मेल खाएमा संयोगमात्र हुनेछ ।