क्याप्टेन उप्रेतीको म्युजियम परिसर सर्वसाधारणका लागि खुला

लेखाजोखा न्युज
२८ कार्तिक २०७७, शुक्रबार १४:०९

महेन्द्रनगर । क्याप्टेन बेद उप्रेती ट्रष्टले कञ्चनपुर सदरमुकाम महेन्द्रनगरमा ‘स्टेच्यु अफ सिद्धनाथा बाबा’ र संग्राहलय (म्युजियम) परिसर सर्वसाधारणका लागि खुला गरेको छ ।

ट्रष्टका सञ्चालक क्याप्टेन बेद उप्रेतीले प्रेस विज्ञप्ति जारी गरेर ‘स्टेच्यु अफ सिद्धनाथा बाबा’ र म्युजियम परिसर शुक्रबारदेखि सर्वसाधारणका लागि खुला गरिएको जानकारी दिए । उनले म्युजियम सञ्चालन हुन भने केही समय लाग्ने बताएका छन् ।

क्याप्टेन उप्रेतीले सात वर्षदेखि निर्माणाधीन म्युजियम गत बैशाखदेखि सञ्चालनमा ल्याउने लक्ष्य रहे पनि लकडाउनका कारण निर्माण कार्य ठप्प हुँदा समयमै सञ्चालनमा ल्याउन नसकिएको बताएका छन् ।

ट्रष्टले यसअघि कैलालीको धनगढीमा एअर क्राफ्ट म्युजियम र काठमाडौंको सिनामंगलमा एभिएसन म्युजियम सञ्चालनमा ल्याएको थियो । उप्रेतीका अनुसार ट्रष्टको तेस्रो परियोजनाअन्तरगत रहेको महेन्द्रनगरको म्युजियम धनगढी र काठमाडौंको म्युजियमभन्दा फरक छ ।

म्युजियम भित्र रहेको ‘अप्स एन्ड डाउन म्युजियम सेक्सन’ नेपालकै पहिलो म्युजियम हुने बताइएको छ । म्युजियम परिसर बाहिर स्टेच्यू अफ सिद्धनाथाबाबा, स्वीमीङ पुल, नौ धारा, हेलिकोप्टर र सुदूर पश्चिमका पर्यटकीय स्थलहरुका हवाई चित्रहरु रहेका छन् ।

ट्रस्टका अनुसार कोरोना भाइरसको जोखिम यथावत रहँदासम्म महेन्द्रनगर म्युजियमको भित्री भाग बन्द रहे पनि ‘स्टेच्यु अफ सिद्धनाथ बाबा’ र हेलिकोप्टर भित्रको फोटोग्राफी र म्युजियम परिसर बाहिर उच्च सतर्कता अपनाएर फोटो खिच्न तथा सिद्धनाथ बाबा दर्शनका लागि बिहान १० बजेदेखि साँझ ५ बजेसम्म खुला गरिने छ ।

ट्रस्टले ७० वर्षभन्दा माथिका जेष्ठ नागरिकलाई म्युजियम प्रवेश निःशुल्क गरेको छ । अन्यको हकमा प्रवेश शुल्क ५० रुपैयाँ निर्धारण गरिएको छ । म्युजियम पूर्ण रुपमा सञ्चालनमा आइसकेपछि भने विद्यार्थीहरुका लागि एक सय र अन्यका लागि एक सय ५० प्रवेश शुल्क निर्धारण गरिने बताइएको छ ।