आईपीएल उपाधिका लागि मुम्बईलाई दिल्लीको १५७ रनको लक्ष्य

लेखाजोखा न्युज
२५ कार्तिक २०७७, मंगलवार २१:५६

काठमाडौं । यूएईमा जारी इन्डियन प्रिमियर लिग (आईपीएल) को फाइनल खेलमा दिल्ली क्यापिटल्सले मुम्बई इन्डियन्स सामु एक सय ५७ रनको चुनौती पेस गरेको छ ।

दुबई अन्तराष्ट्रिय क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको दिल्लीले छ विकेको क्षतिमा एक सय ५६ रन बनायो । दिल्लीका लागि कप्तान श्रेयस अय्यरले नटआउट ६५ र ऋषभ पन्तले ५६ रन बनाए ।

शिखर धवनले १५ रन बनाउनुबाहेक अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन जोड्न सकेनन् । मुम्बईका लागि टे«न्ट बोल्डले तीन, नथान कुल्टर नाइटले दुई र जयन्त यादवले एक विकेट लिए ।

आईपीएलकै सर्वाधिक सफल टिम मानिने मुम्बईले सर्वाधिक चार पटक आईपीएल उपाधि जितिसकेको छ । तर, दिल्लीको इतिहास भने मुम्बईको ठीक विपरित रहेको छ । दिल्लीले अहिलेसम्म आईपीएलको उपाधि जित्न सकेको छैन । आईपीएल इतिहासमा पहिलो पटक फाइनल यात्रा तय गरेको दिल्ली मुम्बईलाई हराएर इतिहास रच्दै पहिलो उपाधि जित्न चाहन्छ ।

बलियो मुम्बईविरुद्ध दिल्ली सामु जित निकाल्न भने सहज देखिदैन । तर, दिल्ली अघिल्ला तीन खेलमा व्यहोरेको हारको बदला भने लिन चाहन्छ । लिग चरणको पहिलो खेल मुम्बईले दिल्लीमाथि पाँच र दोस्रो खेल नौ विकेटको जित निकालेको थियो ।

यस्तै पहिलो क्वालिफायरमा दिल्लीलाई ५७ रनले हराएर मुम्बई फाइनलमा पुगेको हो । पहिलो क्वालिफायरमा हार व्यहोरे पनि दिल्लीले दोस्रो क्वालिफायरमा जित निकाल्दै पुनः मुम्बईसँगको भेट पक्का गरेको छ । दिल्लीले दोस्रो क्वालिफायरमा सनराइजर्स हैदराबादलाई १७ रनले हराएको थियो ।