५५ वर्षका भए बलिउड सुपरस्टार शाहरुख खान

लेखाजोखा न्युज
१७ कार्तिक २०७७, सोमबार ११:४१

नयाँ दिल्ली । बलिउडमा ‘किंग अफ रोमान्स’ मानिने सुपरस्टार शाहरुख खानलाई सोमबार ५५ वर्ष पुगेको छ । उनका प्रशंसकका लागि यो दिन कुनै उत्सवभन्दा कम हुँदैन ।

हरेक वर्ष हज्जारौंको संख्यामा प्रशंसकहरु शाहरुखको जन्मदिनमा उनको एक झलक पाउन उनको घर ‘मन्नत’ अगाडि घण्टौं उभिने गर्छन् । शाहरुख पनि प्रशंसकहरुलाई दुःखी नबनाई अभिवादन गर्न बाहिर निस्कने गर्छन् ।

तर, यो वर्ष कोरोना महामारीका कारण शाहरुख आफ्ना प्रशंसकलाई ‘भर्चुअली’ नै भेटघाट गर्ने तयारीमा छन् । टीभीको सुनौलो समयमा अभिनयको दुनियाँमा कदम राखेका शाहरुखले ‘फौजी’ र ‘सर्कस’ बाट करिअरको सुरुवात गरेका थिए ।

३० वर्षको फिल्मी करिअरमा शाहरुखले थुप्रै अविष्मरणीय फिल्ममा अभिनय गरेका छन् । जसले हिन्दी फिल्म उद्योगमा गहिरो छाप छोडेको छ ।

फिल्म मामिलाका जानकार तथा इतिहासकार अमृत गंगरले बीबीसीसँगको विशेष कुराकानीमा अभिनेता शाहरुखलाई भिन्न प्रकारको सुपर स्टार बनाएका केही उत्कृष्ट फिल्मबारे कुराकानी गरेका छन् ।

‘बाजीगर’, ‘डर’ र ‘अञ्जाम’

दिव्या भारती र ऋषि कपुरसँग ‘दिवाना’ फिल्मबाट बलिउडमा कदम राखेका शाहरुख खानले सन् १९९३ मा केही यस्ता फिल्ममा अभिनय गरे जुन त्यतिबेलाका हिरोले गर्दैनथे ।

निर्देशक अब्बास–मस्तानको फिल्म ‘बाजीगर’ मा शाहरुख यस्तो हिरोको भूमिका निभाउँछन् जसले आफ्नो हिरोइन (शिल्पा शेट्टी) लाई मारिदिन्छन् ।

यस्तै, यश चोपडाको ‘डर’ मा शाहरुख खानले एकतर्फी प्रेमीको भूमिका निभाएका थिए । जुन प्रेममा पागल झैं थिए र कुनै पनि हदसम्म जान सक्दथे । ‘आई लभ यू…क…क…क किरण’ डायलगले आज पनि त्यो ‘डर’ कायम गर्दछ ।

अमृत गंगर भन्छन्, “बाजिगरमा शाहरुख खानले एक चलाख किसिमको हिरोलाई लञ्च गरे । त्यसै वर्ष शाहरुख खानले ‘डर’ मा नकारात्मक भूमिका गरे जुन त्यतिबेलाको परम्परागत हिन्दी फिल्म हिरोका लागि एक ट्याबु अर्थात् बर्जित मानिन्थ्यो ।”

तर, शाहरुख खानले ‘लिक’ बाट हटेर नकारात्मक भूमिका जारी राख्दै फिल्म ‘अञ्जाम’ मा पागल प्रेमीको भूमिका निभाए, जो आफ्नी प्रेमिका (माधुरी दीक्षित) को पिछा गर्छन् र उनलाई अपहरण गर्छन् ।

एकातिर बाजिगरका लागि शाहरुख खानले फिल्म फेयरको पहिलो उत्कृष्ट हिरोको अवार्ड पाए भने अर्कोतर्फ अञ्जामको भूमिकाका लागि फिल्म फेयरको उत्कृष्ट भिलेनको अवार्ड पनि पाए ।

अमृत गंगरका अनुसार १९ औं शताब्दिका दुई फ्रेन्च र रुसी उपन्यासको शाहरुख खानको फिल्मी करियरका अभिनेताको रुपमा निकै ठूलो योगदान छ ।

महान रुसी उपन्यासकार फ्योदोर दोस्तोभस्कीको १९ औं शताब्दिको उपन्यास ‘द इडियट’ मा आधारित टीभी फिल्ममा शाहरुख खान देखिएका थिए । त्यो जमानाका चर्चित निर्देशक मणि कौलले उक्त फिल्म निर्माण गरेका थिए ।

निर्देशक मणि कौल युवा शाहरुख खानको अभिनयको बुझाईसँग यति प्रभावित भए कि उनी शाहरुखसँग एक फिल्म बनाउन चाहन्थे जुन उनको अभिनय क्षमताको एउटा निकै ठूलो पहिचान थियो ।

यस्तै केतन मेहताको फिल्म ‘माया मेमसाब’ पनि १९ औं शताब्दिको फ्रान्सेली उपन्यासकार गुस्ताव फ्लोबेर्टको उपन्यास ‘मदाम बोवेरी’ मा आधारित थियो । जसमा शाहरुख खानले महत्वपूर्ण भूमिका निभाए । यो फिल्ममा उनको अभिनयको निकै प्रशंसा भयो ।

‘दिलवाले दुल्हनियाँ ले जाएङ्गे’ र ‘किङ अफ रोमान्स’ को जन्म

हालै ‘दिलवाले दुल्हनियाँले जाएंगे’ ले आफ्नो रिलिजको २५ वर्ष पूरा गर्यो । यो फिल्मलाई हिन्दी फिल्म उद्योगको सबैभन्दा रोमान्टिक फिल्म मानिन्छ । सन् १९९५ मा रिलिज भएको यो फिल्मले थुप्रै रेकर्ड तोड्यो र रातारात शाहरुख खानलाई सुपरस्टार बनायो ।

‘दिलवाले दुल्हनियाँ ले जाएङ्गे’ मा शाहरुखको अभिनयबारे अमृत गंगर भन्छन्, “शाहरुख खानको अभिनयमा यस्ता थुप्रै खुबी थिए जुन पहिले कहिल्यै देखिएको थिएन । एक किसिमको प्रेम थियो, संवेदनशीलता पनि थियो । जहाँ ओठमा अचम्मको भाव थिए । यस्तै डायलग डेलिभरीको एउटा एक्सपेरिमेन्ट थियो । एक नौजवान र चकचके युवाको आचरण पनि थियो । दिलवाले दुल्हनियाँ ले जाएङ्गेले एक नयाँ किसिमको फिल्मलाई जन्म दियो । जहाँ भारत नयाँ मार्केट इकोनोमी र उपभोक्तावादका लागि खुल्ला भइरहेको थियो, धेरैभन्दा धेरै मध्यम वर्गीय भारतीय परिवार विदेश यात्रा गरिरहेका थिए । जहाँ नयाँ पीढी पश्चिमी संस्कृति अपनाइरहेका थिए र पुरानो पीढी परम्पराको जगेर्नामा थिए, त्यतिबेला शाहरुख खान यी सबै परिवर्तको एक प्रतिकात्मक अनुहारको रुपमा उदाए ।”

‘दिलवाले दुलहनियाँ ले जाएङ्गे’ जाएंगे’ को सफलतापछि शाहरुख केही यस्ता रोमान्टिक फिल्मको हिस्सा बने जसले उनलाई ‘किङ अफ रोमान्स’ बनायो । ती फिल्महरुको सूचिमा यश चोपडाको ‘दिल तो पागल हे’, सुभाष घईको ‘परदेस’ र करण जोहरको ‘कुछ कुछ होता है’ जस्ता फिल्महरु समावेश छन् । जसमा एकपटक पुनः ‘दिलवाले दुलहनियाँ ले जाएङ्गे’ को जोडी शाहरुख खान र काजोल एकसाथ देखिएका थिए । जसलाई दर्शकले निकै मन पराए ।

वरिष्ठ पत्रकार अजय ब्रम्हात्मजका अनुसार यसै बेला ट्वींकल खन्नासँग आएको फिल्म ‘बादशाह’ पछि शाहरुखलाई ‘बादशाह खान’ वा ‘किङ अफ बलिउड’ को नामले बोलाउन थालियो । यद्यपि, ‘बादशाह’ फिल्म फ्लप रह्यो ।

शाहरुख खानको रोमान्टिक अवतार ठूलो पर्दामा जारी रह्यो । आदित्य चोपडाको फिल्म ‘मोहब्बतें’ मा उनी अमिताभ बच्चनविरुद्ध प्रेमको लडाइँमा देखिए जुन दर्शकले निकै मन पराए । करण जोहरले सन् २००१ मा तीन पीढीका अभिनेता अमिताभ बच्चन, शाहरुख खान र नयाँ पीढीका अभिनेता ऋतिक रोशनलाई फिल्म ‘कभी खुशी कभी गम’ मा सँगै ल्याएर दर्शकलाई एक ब्लकबस्टर दिए ।

सन् १९९५ मा शाहरुख खान निर्देशक–निर्माता प्रेम लालवानीको फिल्म ‘गुड्डु’ को हिस्सा बने जसबाट कमाएको पैसाले उनले मुम्बईमा आफ्नो पहिलो फ्ल्याट लिए । सन् २००१ मा शाहरुख खानले १३.३२ करोडमा बान्द्राको समुद्र किनारामा भएको ‘भिला भियना’ लिए जसको नाम जन्नत राखे ।

यो घरमा आएपछि उनको सबै ‘मन्नत’(भाकल) पूरा हुन लागे, त्यसैले घरको नाम परिवतर्न गरेर उनले ‘मन्नत’ राखे ।

सन् २०१२ मा शाहरुख खान यश चोपडाको अन्तिम फिल्म ‘जब तक हे जान’ मा देखिए । फिल्म हिट भयो तर यश चोपडा यो संसारबाट बिदा भए । शाहरुख खान–यश चोपडाको अभिनेता–निर्देशकको जोडीमा विराम लाग्यो । शाहरुख खानलाई ‘किङ्ग अफ रोमान्स बनाउनमा यश चोपडाको फिल्मको निकै ठूलो योगदान रह्यो । यी फिल्ममा समावेश थिए ‘दिल तो पागल हे’, ‘वीर जारा’ र ‘जब तक है जान’ ।

‘डन’ र नेगेटिभ हिरोको एन्ट्री

दिलीप कुमारको सन् १९५५ मा बनेको फिल्म ‘देवदास’ को स्मरण ताजा गर्दै सन् २००३ मा शाहरुख खान सञ्जय लीला भन्सालीद्वारा निर्देशित ‘देवदास’ मा ऐश्वर्या राय बच्चन र माधुरी दीक्षितसँग देखिए ।

फिल्मले असाध्यै चर्चा बटुल्यो । शाहरुख खानको रोमान्टिक हिरोको छवी यथावत् रह्यो फिल्म ‘कल हो ना हो’, ‘चलते चलते’, ‘वीर जारा’ मार्फत् ।

सन् २००६ मा शाहरुख खान नयाँ पीढीका लेखक निर्देशक फरहान अख्तरको फिल्म ‘डन’ मा देखिए । यो फिल्म महानायक अमिताभ बच्चनको सन् १९७८ मा बनेको हिट फिल्म ‘डन’ को रिमेक थियो । शाहरुख खानले एकपटक पुनः दर्शकलाई नकारात्मक भूमिका अपनाए र फिल्म हिट भयो । यो फिल्म शाहरुख खानका लागि उनको रोमान्टिक हिरोको छविलाई परिवर्तन गर्ने फिल्म बन्यो जसलाई दर्शकले निकै रुचाए ।

‘माइ नेम इज खान’

निर्देशक करण जहोरले शाहरुख खान र काजोलको जोडी एकपटक पुनः ल्याए ‘माई नेम इज खान’ मा जसमा शाहरुख खान एस्पर्गर्स सिन्ड्रोमसँग जुधिरहेका रिजवान खानको भूमिकामा देखिए । सन् २०१० मा बनेको यो फिल्मलाई अमृत गंगर आज पनि समयसामयिक मान्छन् ।

उनी भन्छन्, “यो फिल्ममा शाहरुख खानले मुस्लिम पात्र रिजवान खानमार्फत् अभिनयको कौशल देखाएका छन् । यो एउटा मेलोड्रामा थियो जुन विभिन्न देश, महाद्वीप र धर्मलाई दर्साउँदै मानवतावादी सन्देशका साथै सहनशीलता र एकताको सन्देश दिन्छ । जहाँ पूरा विश्व कोरोनाद्वारा प्रभावित छ र अमेरिकामा राष्ट्रपति भइरहेको छ, यो फिल्म आजको समयमा पनि प्रासंगिक छ ।”

‘रइस’ शाहरुख खान र परिवर्तित छवि

फिल्म इन्डष्ट्रिका तीन ठूला खान शाहरुख, सलमान र आमिर सन् २०१५ मा ५० वर्षका भए । यो हिन्दी फिल्म इन्डष्ट्रिको पहिलो पीढी थियो जो ५० वर्षको उमेरमा पनि हिरोको भूमिका निभाइरहेका थिए । उनीहरु हिरोइनसँग रोमान्स गरिरहेका थिए र दर्शकले उनीहरुको बढ्दो उमेरलाई कुनै वास्ता नै गरेनन् ।

शाहरुख र काजोल एकसाथ पुनः सन् २०१५ मा रोहित शेट्टीको लभ एक्सन फिल्म ‘दिलवाले’ मा देखिए तर फिल्मले त्यो जादु देखाउन सकेन जुन शाहरुख–काजोलका पहिला रिलिज भएका फिल्मले देखाएका थिए ।

नयाँ पीढीका निर्देशक मनिष शर्माको सन् २०१६ मा आएको फिल्म ‘फ्यान’ मा शाहरुख आफ्नै फ्यान गौरव चांदनाको भूमिकामा देखिए । शाहरुखको यो परिवर्तन रुप दशर्कलाई निकै मनपर्यो ।

सन् २०१७ मा शाहरुख खान राहुल ढोलकियाद्वारा निर्देशित फिल्म ‘रईस’ मा देखिए । यो पात्र उनको छविभन्दा निकै भिन्न थियो । फिल्ममा शाहरुख खान अभिनेता नवाजुद्दीन सिद्दीकीसँगै देखिए जसलाई दर्शकले निकै मन पराए । फिल्मको डायलग पनि निकै चर्चित रह्यो ।

शाहरुख खान सन् २०१७ मा निर्देशक इम्तियाज अलीको फिल्म ‘ह्यारी मेट सेजल’ र सन् २०१८ मा आनन्द रायको फिल्म ‘जिरो’ मा देखिए । दुबै फिल्म दर्शकलाई मन परेन ।

अमृत गंगर भन्छन्, “शाहरुखले आफ्नो करियरमा बहुमुखी प्रतिभा देखाउँदै विभिन्न पात्र र शैलीलाई पार गरेर आफूले आफैंलाई एक उत्कृष्ट अभिनेता प्रमाणित गरे र सुपरस्टार बने । यसको चमक आज पनि यथावत् छ ।”

शाहरुखको विवादसँगको साइनो

३० वर्षे फिल्मी करिअरमा शाहरुख खानले कयौं विवादको सामना गर्नुपरेको छ । मुम्बईमा वानखेडे स्टेडियममा सेक्युरिटी गार्डलाई दुव्र्यवहार गरेको आरोपमा उनलाई पाँच वर्षका लागि स्टेडियम प्रवेशमा प्रतिबन्ध लगाइएको थियो ।

फिल्म इन्डस्ट्रीमा एक समय सलमान खान र शाहरुख खानका बीचमा झगडाको कुरा पनि सुनिन्थ्यो । शाहरुख खानको आमिर खानका साथ लामो समयसम्म मन मुटावको कुरा पनि सार्वजनिक भएको थियो ।

निर्देशक और कोरियोग्राफर फराह खानका निर्देशक पति शिरीष कुन्दरको एक पार्टीमा शाहरुख खानले थप्पड हानेको घटना पनि चर्चामा आएको थियो । र अमेरिकाको एयरपोर्टमा दुई पटक उनलाई रोकिएको थियो ।

२०१५ मा शाहरुख खानले देशमा बढ्दो असहिष्णुतामा बयान दिएपछि विवाद सिर्जना भयो । जसका कारण उनले कयौं प्रतिक्रियाहरुको सामना गर्नुपर्याे। फिल्म ‘दिलवाले’ मा असर नपरोस् भनेर उनले आप्mनो बयानप्रति माफी पनि माग्नुपर्याे।

-बीबीसीबाट