काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टीको लामो समयदेखि प्रभावित भएको स्थायी कमिटी बैठक आइतबार दिउँसो तीन बजेका लागि बोलाइएको छ ।
स्थायी कमिटी बैठकअघि साझा रणनीति बनाउन पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, वरिष्ठ नेताद्वय माधवकुमार नेपाल र झलनाथ खनाल खुमलटार भेला भएका हुन् । उनले नेपाल-खनाललाई शनिबारको सचिवालय बैठकपछि राष्ट्रपति निवास जानुको विषयबारेसमेत प्रष्टीकरण दिएका छन् ।
शनिबारको सचिवालय बैठकमा पार्टी अध्यक्षसमेत रहेका ओलीले अर्ली महाधिवेशन प्रस्ताव गरेका थिए । त्यसमा प्रचण्डको मौन समर्थन रहेको भन्दै नेता माधवकुमार नेपालले आपत्ति जनाएका थिए ।
शनिबारको बैठकमा एकाएक नेता नेपाल बिच्किएपछि प्रचण्डले आइतबार बिहानै खुमलटारमा बैठक राखेका हुन् । प्रचण्डले बोलाएको बैठकमा पार्टीका वरिष्ठ नेताद्वय झलनाथ खनाल, माधवकुमार नेपाल, प्रवक्ता नारायणकाजी श्रेष्ठ पुगेका उपस्थित थिए ।
उपाध्यक्ष वामदेव गौतम र गृहमन्त्री रामबहादुर थापा बादल भने उक्त भेलामा उपस्थित नभएको स्रोतले जनाएको छ । खुमलटार भेलामा भीम रावल, अष्टलक्ष्मी शाक्य, रघुजी पन्त, बेदुराम भुसाल, मुकुन्द न्यौपाने सहभागी थिए । केही प्रचण्डनिकट स्थायी कमिटी सदस्यसमेत उक्त भेलामा सहभागी भएका थिए ।
नेकपाको स्थायी कमिटी बैठक असार १० गतेदेखि सुरु भए पनि एजेन्डामाथि छलफल नै हुन सकेको छैन । ६ दिन सीमा समस्यामा केन्द्रित रहेर छलफल भएको थियो । असार १४ गते प्रधानमन्त्रीले पार्टीका नेताहरूलाई समेत साथ लिएर भारतले सरकार ढाल्न लागेको बताएपछि बैठक प्रभावित भएको हो ।
अध्यक्ष प्रचण्ड, वरिष्ठ नेताद्वय झलनाथ खनाल र माधवकुमार नेपाल, उपाध्यक्ष वामदेव गौतम, प्रवक्ता नारायणकाजी श्रेष्ठसहित ११ जना स्थायी कमिटी सदस्यले बैठकमै राजीनामाको माग गरेपछि असार १८ गतेदेखि बैठक अवरुद्ध हुँदै आएको छ ।
असार २६ मा तय गरिएको बैठक पनि स्थगित भएर साउन २ गतेका लागि बोलाइएको थियो । तर, साउन २ गतेको बैठक पनि अवरुद्ध भएर प्रधानमन्त्रीको राजीनामाको विषय साउन ३ गते सचिवालयमा फर्किएको थियो । सचिवालय बैठकमा पनि कुनै ठोस सहमति हुन नसकेपछि असार ४ गते दिउँसो ३ बजे स्थायी कमिटी बैठक बस्न लागेको हो ।