देशभर ३०९३ कोरोना संक्रमित थप, सक्रिय संक्रमितको संख्या ४१ हजार ७७५

लेखाजोखा न्युज
४ कार्तिक २०७७, मंगलवार १६:४०

काठमाडौं । महामारीका रुपमा फैलिएको कोरोना भाइरसका तीन हजार ९३ संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मंगलबार देशका विभिन्न स्थानमा तीन हजार ९३ जनामा संक्रमण देखिएको जनाएको छ ।

योसँगै देशभर कोरोना संक्रमितको संख्या एक लाख ३९ हजार एक सय २९ पुगेको छ । पछिल्लो २४ घण्टामा देशभरका विभिन्न अस्पतालबाट दुई हजार एक सय आठ जना डिस्चार्ज भएका छन् ।

अहिलेसम्म देशभर ९६ हजार छ सय नौ जना संक्रमणमुक्त भइसकेका छन् । आज देशभर सक्रिय संक्रमितको संख्या ४१ हजार सात सय ७५ रहेको छ ।

पछिल्लो २४ घण्टामा देशभर १३ हजार आठ सय ३१ जनाको पीसीआर विधिबाट कोरोना परीक्षण भएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए ।

उनका अनुसार आजसम्म देशभर १३ लाख १४ हजार सात सय ७९ जनाको पीसीआर परीक्षण भइसकेको छ ।