प्रधानमन्त्रीलाई कांग्रेसको चेतावनी– ‘नो ट्रिटमेन्ट, नो ट्याक्स’ को जनअभियान सामना गर्न तयार हुनुस् !

लेखाजोखा न्युज
४ कार्तिक २०७७, मंगलवार १३:४७

काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले प्रधानमन्त्री केपी शर्मा ओलीलाई कोरोना संक्रमित नागरिकको उपचार निःशुल्क नगरे जनअभियानको सामनाका लागि तयार भएर बस्न चेतावनी दिएको छ ।

कोरोना भाइरसको परीक्षण, उपचार र उपचारका क्रममा आफन्तको मृत्यु भए शवको व्यवस्थापन नागरिक आफैँले गर्नुपर्ने निर्णय नसच्याइए कर नतिर्ने जनअभियानको सामनाका लागि तयार भएर बस्न प्रधानमन्त्री ओलीलाई चेतावनी दिएको हो ।

कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले ट्विट गरेर प्रधानमन्त्री ओलीलाई उपचार निःशुल्क गर्ने घोषणा स्वीकार गर्न आग्रह गर्दै अन्यथा ‘नो ट्रिटमेन्ट’, ‘नो ट्याक्स’ को जनअभियान सामनाका लागि तयार भएर बस्न चेतावनी दिएका छन् ।

“उपचार गर्दिन सरकारले भन्दा जवाफमा जनताले ‘कर तिर्दिन’ भने कसरी धान्ने सम्माननीय @PM_Nepal ?,” प्रधानमन्त्रीले प्रयोग गर्ने ट्विटर ह्यान्डलमा मेन्सन गर्दै उनले लेखेका छन्, “उपचार निःशुल्क गर्ने घोषणा अविलम्ब गर्न विनम्र आग्रह स्वीकार गर्नोस् कि #NoTreatmentNoTax को बुलन्द जनअभियान सामना गर्न तयार बस्नोस् । जय नेपाल !”

सरकारले गत आइतबार आर्थिक रुपमा विपन्न, अशक्त, असहाय, एकल महिला, अति अपांगता भएका नागरिक, जेष्ठ नागरिक, अग्रपंक्तिमा खटिनेहरुमा लक्षण देखिएमात्रै परीक्षण र उपचार निःशुल्क गर्ने निर्णय गरेपछि सरकारको चौतर्फी आलोचना भइरहेको छ ।