कोरोना संक्रमितको उपचार नगर्ने सरकारको निर्णयप्रति नेकपाकै नेताहरु आक्रोशित 'यस्तो महामारीका बेला सबै नागरिकलाई समान रुपमा उपचार गराउनुपर्ने दायित्वबाट सरकार विमुख हुन मिल्दैन'

लेखाजोखा न्युज
४ कार्तिक २०७७, मंगलवार १२:२६

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) कै नेताहरु सरकारले कोरोना भाइरसको उपचारका लागि गरेको पछिल्लो निर्णयप्रति आक्रोशित बन्दै असन्तुष्टि पोखिरहेका छन् ।

कोरोना भाइरसको परीक्षण, उपचार र उपचारका क्रममा आफन्तको मृत्यु भए शवको व्यवस्थापन नागरिक आफैँले गर्नुपर्ने सरकारको पछिल्लो निर्णयप्रति नेकपाभित्रै असन्तुष्टि देखिएको हो ।

सरकारले गत आइतबार आर्थिक रुपमा विपन्न, अशक्त, असहाय, एकल महिला, अति अपांगता भएका नागरिक, जेष्ठ नागरिक, अग्रपंतिmमा खटिनेहरुमा लक्षण देखिएमात्रै परीक्षण र उपचार निःशुल्क गर्ने निर्णय गरेपछि नेकपाका नेताहरु असन्तुष्टि पोखिरहेका छन् ।

नेकपाका वरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले सरकारको उक्त निर्णयलाई अनुचित भनेका छन् । उनले महामारीका बेला सरकार नागरिकको उपचार गराउनुपर्ने दायित्वबाट विमुख हुन नमिल्ने पनि स्मरण गराएका छन् ।

“संकटका बेला राज्य सबै नागरिकको अभिभावकका रुपमा साथमा रहनुपर्ने बेलामा भएको यस्तो निर्णय विल्कुल अनुचित छ,” नेता नेपालले मंगलबार प्रेस विज्ञप्ति जारी गरेर भनेका छन्, “यस्तो महामारीका बेला सबै नागरिकलाई समान रुपमा उपचार गराउनुपर्ने दायित्वबाट सरकार विमुख हुन मिल्दैन ।”

उनले संक्रामक रोगसम्बन्धी विद्यमान कानुनी प्रावधानहरुले सरकारलाई दायित्व सुम्पिएको स्मरण गराउँदै भनेका छन्, “सबै नागरिकको उपचार गर्नुपर्नेमा आम नागरिकमा थप आतंक सिर्जना हुने गरी गरिएको उक्त विभेदकारी, गैरजिम्मेवार र जनताप्रति अनुत्तरदायी निर्णय अविलम्ब फिर्ता लिन म सरकारसँग जोडदार माग गर्दछु ।”

यसअघि सोमबार नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले पनि कोरोना महामारी नियन्त्रण तथा व्यवस्थापनको जिम्मेवारी सरकारको भएको स्मरण गराउँदै निर्णय फिर्ता लिन आग्रह गरेका थिए । उनले महामारी नियन्त्रण र व्यवस्थापनका लागि नागरिकसँगै सरकारले पनि पन्छिन नमिल्ने बताएका थिए ।

“सरकारले आफ्नो दायित्व र सम्बन्धित ऐनलाई ध्यान दिदै अहिलेसम्मका नीति, योजना र निर्णयहरुलाई पुनरावलोकन गरी थप प्रभावकारी बनाउन तत्काल कदम चाल्नु पर्ने आवश्यकता छ,” प्रवक्ता श्रेष्ठले सामाजिक सञ्जाल फेसबुकमा लेखेका थिए ।

उनले महामारी नियन्त्रणका लागि सबै राजनीतिक पार्टीहरु र समाजका सबै पक्षले सहयोग गर्नुपर्नेमा जोड दिँदै सरकारले यथाशीघ्र प्रतिपक्षी पार्टी लगायतका राजनीतिक पार्टीहरु र विज्ञहरुको बैठक बोलाएर परामर्श गर्नु उचित हुने बताएका थिए ।