‘सभापतिज्यू, कर्तव्यच्यूत सरकारलाई निर्णय सच्याउन आव्हान गरेर मात्र हुँदैन’

लेखाजोखा न्युज
४ कार्तिक २०७७, मंगलवार ११:४३

काठमाडौं । नेपाली कांग्रेसका युवा नेता गगन थापाले सरकारलाई निर्णय सच्याउन आह्वान गरेरमात्रै प्रतिपक्षीको कर्तव्य पूरा नहुने बताएका छन् । उनले मंगलबार बिहान सामाजिक सञ्जालमा सरकारलाई निर्णय सच्याउन आह्वान गरेरमात्रै प्रतिपक्षीको कर्तव्य पूरा नहुने बताएका हुन् ।

नेता थापाले सामाजिक सञ्जाल फेसबुकमार्फत् सभापति शेरबहादुर देउवालाई संसदबाट भागेको सरकारलाई संसदमै फिर्ता ल्याएर कर्तव्य पूरा गर्न आग्रहसमेत गरेका छन् । कर्तव्य भुलेको सरकारलाई निर्णय सच्याउनका लागि आह्वानमात्रै गरेर कर्तव्य पूरा नहुने उनको भनाइ छ ।

“सभापतिज्यू, कर्तव्यच्यूत सरकारलाई निर्णय सच्याउन आव्हान गरेर मात्र हाम्रो कर्तव्य पूरा हुँदैन । संसदबाट भागेको सरकारलाई तानेर संसदमा फिर्ता नल्याई हुँदैन,” नेता थापाले लेखेका छन्, “संसदको बैठक राख्न बाध्य पारी, सदन र सडकको शक्ति एकीकृत गर्न सक्दामात्र पथभ्रष्ट र मतिभ्रष्ट सरकारलाई सच्चिनै पर्ने बनाउन सकिन्छ ।”