अमेरिकामा निर्वाचनअघि नै तीन करोडले गरे मतदान

लेखाजोखा न्युज
४ कार्तिक २०७७, मंगलवार ११:४४

वाशिङ्टन । संयुक्त राज्य अमेरिकामा नोभेम्बर ३ मा हुने निर्वाचनअघि नै करिब तीन करोडले मतदान गरिसकेका छन् । कोरोना महामारीका कारण निर्वाचन पूर्व मतदान गर्नेको संख्यामा यसपटक निकै वृद्धि भएको छ ।

सन् २०१६ को यही अवधिमा निर्वाचनअगावै ६० लाखले मतदान गरेका थिए । विज्ञहरुले कोरोना महामारीको त्रासका कारण नोभेम्बर ३ मा भिडभाड बढ्ने भएकोले मतदाताहरुले निर्वाचन अगावै मतदान गर्नेको संख्या वृद्धि भएको बताएका छन् ।

तर, निर्वाचनअगावै हुने मतदानका क्रममा पनि लामो लाइनहरु भने देख्‍न सकिन्छ । अमेरिकामा ३ नोभेम्बरमा हुने निर्वाचनका लागि रिपब्लिकनका तर्फबाट डोनाल्ड ट्रम्प र डेमोक्रेटका तर्फबाट जो बाइडेनले प्रतिस्पर्धा गरिरहेका छन् ।

प्रारम्भिक मत सर्वेक्षण अनुसार जो बाइडेन ट्रम्पभन्दा निकै अघि रहेका छन् । तर, केही निर्णायक राज्यहरुमा पनि बाइडेनको अग्रता भए पनि अग्रता कमजोर देखिएको छ ।