कैलाली प्रहरी हत्या प्रकरण : प्रहरी जवान साउद पनि चार दिनपछि मृत फेला

लेखाजोखा न्युज
४ कार्तिक २०७७, मंगलवार ११:१८

काठमाडौं । कैलालीको धनगढी उपमहानगरपालिका–१२ मा रहेको अस्थायी प्रहरी बिट जुगेडा प्रहरी जवान रामबहादुर साउद पनि मृत अवस्थामा फेला परेका छन् । प्रहरी सहायक निरीक्षक गोविन्द विकसँगै सीमा क्षेत्रमा गस्तीमा गएका प्रहरी जवान साउद मंगलबार बिहान मृत अवस्थामा फेला परेका हुन् ।

दुबै जना गत शनिबार बेलुकी ८ बजे मोटरसाइकलमा गस्ती गएका थिए । उनीहरुमध्ये प्रहरी सहायक निरीक्षक विक नेपाल भारत सीमा भएर बग्ने मोहना नदीमा आइतबार बिहान मृत अवस्थामा भेटिएका थिए । जिल्ला प्रहरी कार्यालय, कैलालीले प्रहरी जवान साउदको शव पनि मोहना नदीमै फेला परेको पुष्टि गरेको छ ।

प्रहरीले विकको हत्या अभियोगमा पक्राउ गरेका अभियुक्तहरुले प्रहरी जवान साउदको समेत हत्या गरी नदीमा फालेका बयान प्रहरी समक्ष दिएका थिए । उनीहरुले सुरुमा जवानकै हत्या गरी नदीमा फालेको र पछि असइको हत्या गरेको स्वीकार गरेको प्रहरी स्रोतको भनाइ छ ।

विकले चढ्ने बा.५८प ५२८४ नम्बरको मोटरसाइकल शव भेटिएको स्थानदेखि साढे २ किलोमिटर पश्चिमतर्फ भेटिएको थियो । प्रहरीले सीमा क्षेत्रमा तस्कर समूहका गतिविधि निगरानी र नियन्त्रण गर्न पुगेका उनीहरु तस्करकै सिकार बनेको दाबी गर्दै आएको थियो ।