काठमाडौँ । अफगानिस्तानका लागि मानवीय सहायता सामग्री बोकेर नेपाली टोली काबुल प्रस्थान गरेको छ । परराष्ट्र मन्त्रालयको टोली हिमालयन एयरलाइन्सको जहाजबाट औषधि, लत्ताकपडा, भाँडाकुँडा लगायतका सामग्रीसहित काबुल प्रस्थान गरेको हो ।
काबुल प्रस्थान गर्नुअघि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आयोजित पत्रकार सम्मेलनमा परराष्ट्रमन्त्री डा. नारायण खड्काले सहायता सामग्री मन्त्रालयकी सहसचिव सेवा लम्सालले संयुक्त राष्ट्रसंघका प्रतिनिधिहरुलाई हस्तान्तरण गर्ने जानकारी दिए ।
संयुक्त राष्ट्रसंघको कार्यालयमा सामग्री हस्तान्तरण गरेर नेपाली टोली आजै स्वदेश फर्किने पनि मन्त्री खड्काले बताए । दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क)को सदस्य राष्ट्रको नाताले अप्ठ्यारोमा सहयोग गर्नुपर्ने नैतिक जिम्मेवारी भएको उनको भनाई छ ।
नेपालको इतिहासमा पहिलो पटक यसरी हवाईजहाजमार्फत मानवीय सामग्री लिएर अन्य राष्ट्रलाई सहयोग पठाउन लागेको मन्त्री खड्काले जानकारी दिए । उनले भने, ‘हामी ठूला प्राकृतिक तथा दैविक विपद्मा विभिन्न राष्ट्र तथा निकायबाट सहयोग त लिन्छौँ नै तर पनि यस कार्यले नेपाल सदैव सहयोग लिने मात्र होइन, आवश्यक पर्दा अन्य राष्ट्रलाई सहयोग गर्न पनि पछि पर्दैन भन्ने सन्देश जानेछ ।’