दार्चुला। कानुन, न्याय तथा संसदीय मामिला मन्त्री दिलेन्द्र प्रसाद बडुले दार्चुलामा बन्न लागेको नेपाल-भारत जोड्ने मोटरेवल पुलको भौगोलिक स्थानको अनुगमन निरीक्षण गरेका छन् ।
सिमा नदि महाकाली नदीमाथि बन्न लागेको मोटरेवल पुलको नेपालतर्फबाट सुरकाडा–छारछुम ठाउँको शुक्रवार मन्त्री बडूले निरीक्षण गरेका हुन् ।
महाकाली नगरपालिका-८ सुरकाँडास्थित निर्माण हुने मोटरवेल पुलको केहीदिन अघि दुबै देशले सहमति स्वीकृत गरिसकेका छन्। दुवै देशले एकैदिन निर्णय लिदै नेपालको दार्चुला र भारतको पिथौरागढ, धार्चुला जोड्ने पक्की पुल निर्माणका लागि सम्झौता गर्ने भएका छन् ।
नेपालसँग जोड्ने महाकाली नदीमाथि पक्की पुल बनाउने निर्णय भारतको केन्द्रीय मन्त्रिपरिषद्ले लिएको हो । केही वर्ष अघिदेखि महाकालीमा पुल बनाउने कुरा चलेपनि सुस्ताएको थियो ।
यसबारे विगतमा भारतीय राजदूतले समेत दार्चुलाको अनुगमन गरी फर्किएका थिए । अनुगमन निरीक्षण गर्दै मन्त्री बडूले मोटरेवल पुल बनेमा जिल्लाको व्यापार, पर्यटन फस्टाउने बताए ।
अनुगमन टोलीमा प्रमुख जिल्ला अधिकारी दिर्घराज उपाध्याय, महाकाली नगरपालिकाका प्रमुख हंसराज भट्ट, सुरक्षा निकायका प्रमुखहरु लगायतको सहभागिता रहेको थियो ।


