३ माघ २०७८, सोमबार

सीमासम्बन्धी विवाद वार्ता र संवादमार्फत् समाधान गर्नुपर्ने : भारतिय राजदुतावास

लेखाजोखा न्यूज

१ माघ २०७८, शनिबार ७:२२

काठमाडौं । नेपालस्थित भारतीय राजदूतावासले नेपाल-भारत सीमासम्बन्धी विवाद वार्ता र संवादमार्फत् समाधान गर्नुपर्ने बताएको छ।

राजदूतावासले शनिबार एक विज्ञप्ति जारी गरी सीमा विवादबारे पछिल्लो समय सञ्चारमाध्यममा आइरहेको समाचार तथा विज्ञप्तिहरुबारे धारणा सार्वजनिक गरेको हो।

राजदूतावासका प्रवक्ताले दिएको प्रतिक्रिया जनाउँदै जारी गरिएको विज्ञप्तिको पहिलो बुँदामा भारत-नेपाल सीमाका सम्बन्धमा भारत सरकारको धारणा सार्वजनिक रुपमा यथावत र स्पष्ट रहेको उल्लेख गरिएको छ।

यस्तै दोस्रो बुँदामा दुई मुलुकबीच स्थापित अन्तरसरकारी संयन्त्रहरु वार्ता तथा संवादका लागि सबैभन्दा उपयुक्त माध्यम हुने जनाएको छ। ‘दुई मुलुकबीच स्थापित अन्तरसरकारी संयन्त्रहरु वार्ता तथा संवादका लागि सबैभन्दा उपयुक्त माध्यम हुन् भन्ने हाम्रो धारणा रहेको छ। दुई पक्षबीच सुल्झाउन बाँकी रहेका सीमासम्बन्धी विषयहरुलाई सधै हाम्रो निकट तथा मैत्री द्विपक्षीय सम्बन्धको मर्मका आधारमा सम्बोधन गर्न सकिन्छ,’ विज्ञप्तिको दोस्रो बुँदामा उल्लेख छ।

नेपाली भूमि लिपुलेकमा भारतले सडक विस्तार गरेको विषय पछिल्लो समय नेपाली सञ्‍चारमाध्यमले उठाएका थिए। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले लिपुलेक कालापानी क्षेत्रमा थप सडक विस्तार गर्ने भन्दै सार्वजनिक अभिव्यक्ति दिएपछि नेपालमा यसको विरोध थप चर्किएको छ।

विभिन्न राजनीतिक दलहरुले समेत त्यसको विरोधमा विज्ञप्ति जारी गरेका छन्। यसरी भारतमाथि नेपाली भूमिमा हस्तक्षेप गरेको भन्दै प्रश्न उठेपछि भारतीय राजदूतावासले आफ्नो धारणा सार्वजनिक गरेको हो।

No description available.

प्रतिक्रिया
सम्बन्धित समाचार
© 2022 All Rights Reserved - Lekhajokha News Site By : SobizTrend